बलात्कार गरेपछि धम्क्याएर पैसा मागेको आरोपमा एक पक्राउ
रुकुम : पटक पटक बलात्कार गरेर धम्क्याउँदै पैसा मागेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
रुकुम पश्चिम चौरजहारी नगरपालिका विजयश्वरीका ४० वर्षीय दलबहादुर चन्द पक्राउ परेका हुन् । चौरजहारी नगरपालिकाकी ४८ वर्षीया एक महिलालाई फरक फरक मितिमा दुई पटक बलात्कार गरेर उल्टै धम्क्याएर चार लाख रुपैयाँ मागेको उनीमाथि आरोप छ ।
बलात्कार आरोपित चन्दले पीडित महिलालाई गत असोज १९ गते र कात्तिक ८ गते बलात्कार गरेको पीडितको जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिए ।
उनका अनुसार चन्दले पहिलोपटक बलात्कारपछि कसैलाई भनेमा मार्ने धम्की दिएकाले सहेर बसेको र दोस्रो पटक पनि कोही नभएको मौका छोपी बलात्कार गरेर उल्टै पीडित महिलाबाट चार लाख रुपैयाँ मागेको पीडितले जाहेरीमा उल्लेख गरेकी छन् ।
‘रुपैयाँ नदिएमा समाजमा मेरो बेइज्जत गर्ने धम्की दिएपछि आफू मानसिक रुपले समेत पीडित भएकाले आत्महत्याका लागि भेरी नदीमा जाँदै गर्दा श्रीमानले भेटेर फर्काएका हुन्,’ उनले जाहेरीमा उल्लेख गरिकी छन् ।
बलात्कार आरोपमा पक्राउ परेका चन्द विरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरेर आवश्यक अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कविराज रोकायले जानकारी दिए ।