राष्ट्रिय सद्भावको पर्व छठ
लहरै एकसाथ उठेका हातहरू, झलमल्ल बलेका पालासहित फिँजाइएका पूजा सामग्री। मन छुने लोकगीतको धूून, परालको बुझोबीच पानीमा पौडिरहेको दियो। यो दृश्य हो छठ पूजाको, सूर्य उपासनाको।
कात्तिक महिनामा मन्द जाडोसँगै नेपाली जनमानसमा छुट्टै उत्साह, आनन्द र धार्मिक निष्ठाको वातावरण सिर्जना हुन्छ। यो तिहारका साथै महान् पर्व छठ व्रतको महिना हो। पवित्रता, निष्ठा र आस्थाको पर्व छठ तराईको ठूलो पर्व हो। अहिले यसले राष्ट्रिय स्वरूप ग्रहण गर्दै आएको छ। राजधानीसहित देशका अधिकांश भागमा चार दिनसम्म छठ पर्वको रंगमा रमेको हुन्छ। घरबाहिरको सरसफाइदेखि सात्विक भोजनसम्म यो पर्वको विशेषता हो। उँच–नीच, धनी–गरिब, जातपात, छूवाछूतको केही स्थान रहँदैन यस पर्वमा। केही वर्षदेखि मारवाडी, बंगाली र पहाडी समुदायले समेत बडो श्रद्धापूर्वक यो पर्व मनाउन थालेका छन्। भाकल पूरा भएका मुस्लिम धर्मावलम्बीहरूले पनि छठ मनाउने गरेको पाइन्छ।
छठको पूजाका लागि पोखरी, तलाउ, नदी किनारमा सरसफाइ गरी घाट बनाएर सिँगारिन्छ। छठ मूल रूपमा कार्तिक शुक्ल षष्ठीको दिन मनाइने पर्व हो। षष्ठीको साँझ र सप्तमीको बिहान अघ्र्य दिने बेलामा घाटको दृश्य अति मनमोहक हुन्छ। रंगीन झिलिमिली बत्ती र छठको सुरिलो गीतको बीच भारी जनसमुदायको भीड छठ व्रतको महिमा र गरिमाको प्रभाव कस्तो छ आफैंले बखान गरिरहेको छ।
यो सूर्य उपासनको महान् पर्व हो। सूर्य पूजाको परम्परा प्राचीन र विश्वव्यापी छ। नेपाल, भारतका साथै बेबिलोन, युनान, मि श्र, जापानलगायत थुपै्र देशमा सूर्य उपासनाको परम्परा पाइन्छ। सूर्यको उपासना आरोग्य, आयुष्यका लागि पनि गरिन्छ। साथै, यस पर्वमा व्रत बसेमा चर्मरोग निदान हुन्छ भन्ने मान्यतासमेत पाइन्छ। धार्मिक, पौराणिक आख्यानहरूमा सूर्य उपासनाको उल्लेख छ। छठ मनाउने परम्पराको इतिहास लामो छ। भविष्य पुराण र पद्म पुराणका साथै सूर्य पुराणमा समेत यसको वर्णन पाइन्छ। भनिन्छ, अत्रिमुनिकी पत्नी अनुसुयाले सर्वप्रथम यो षष्ठीव्रत गरेकी थिइन्। महर्षि अत्रिकी पत्नी अनसुयाले आफ्ना पतिको दीर्घायु, गहिरो दाम्पत्य पे्रम र अटल शौभाग्यका लागि षष्ठीव्रत गरेकी थिइन्।
यसका साथै मिथिलामा वैदिककालदेखि नै सूर्यको उपासना भएको मानिन्छ। मिथिलाञ्चलको महान् पर्व छठ आर्यहरूको सूर्योपासना परम्पराको एक अंग हो। छठ मूलतः सूर्यको पूजा भएकाले प्रत्यक्ष देवताका रूपमा रहेको आदिशक्ति सूर्यलाई वर्षमा एकपटक कृतज्ञता प्रकट गर्ने गरिन्छ। महाभारतका उल्लिखित ऐतिहासिक वृत्तान्तअनुसार पाण्डवहरूको अज्ञातवास सफल होस् भन्ने कामनाका साथ दौपद्रीले सूर्यदेवको अराधना गर्दै षष्ठीव्रत गरेकी थिइन्। महाभारतकौ अर्को प्रसंगअनुसार एकपटक साम्बलाई असाध्य कुष्ठरोग लाग्यो। उनी यो रोगले गर्दा निकै पीडित भए। यस रोगबाट राहत पाउन उनले विभिन्न उपाय गरे, तर केही सीप लागेन। अन्ततः भगवान् सूर्यको आराधना गरेपछि उनी यस असाध्य रोगबाट मुक्त भएका थिए। यसरी पुत्र प्राप्ति, दाम्पत्य पे्रम, सन्ततिको दीर्घायु र आफ्नो अटल सौभाग्यका लागि प्राचीन समयदेखि अहिलेसम्म पनि छठ पर्वमा सूर्यको आराधना÷उपासना गरिँदै आएको पाइन्छ।
अहिले यो पर्वले आफ्नो महिमा र गरिमाका कारण निकै विस्तार पाएको छ। पहिले तराईको भोजपुरी र मिथिला क्षेत्रको मात्र यो ठूलो चाड थियो। अहिले राजधानी काठमाडौंलगायत विराटनगर, धरान, बुटवल, पोखरा, नेपालगञ्जजस्ता ठूला सहरमा पनि यो पर्व धुमधाम र निष्ठापूर्वक मनाइन्छ। काठमाडौंमा छठ पर्व मनाउने परम्परा २०५० सालदेखि आरम्भ भयो। अधिवक्ता राजीव सिन्हा भन्छन्– अहिलेजस्तो सामूहिक छठ मनाउने चलन काठमाडौंमा थिएन। दुईचारजना घाटमा देखिन्थे। गुह्येश्वरी घाटमा आठदशजना परिवार छठ पूजाका लागि उपस्थित हुन्थे तर बाँदरहरूको उपद्रवले छठ व्रतीहरूको धेरै दिक्क हुनुपथ्र्यो किनकि बाँदरहरू प्रसादहरू उठाएर भाग्दथे। अधिवक्ता सिन्हा भन्छन्– हामीले संगठितरूपले छठ मनाउनका लागि युवा संघ गठन गरेका थियौं।
छठ पर्व पहिले तराईका भोजपुरी र मिथिला क्षेत्रको मात्र ठूलो चाड थियो। अहिले राजधानी काठमाडौंलगायत विराटनगर, धरान, बुटवल, पोखरा, नेपालगञ्जजस्ता ठूला सहरमा पनि यो पर्व धुमधाम र निष्ठापूर्वक मनाउने गरिन्छ।
छठ घाटमा ठूला राजनेताहरूलाई आमन्त्रित गर्दथ्यौं। मिडियाहरूलाई पनि आमन्त्रित गर्दथ्यौं। ठूला नेताको आगमन हुन्छ भन्ने थाहा पाएपछि मिडिया विशेषगरी टेलिभिजनले छठका दृश्यहरू समाचारमा देखाउन थाले। तत्पश्चात् काडमाडौंवासी विशेषगरी पहाडी समुदायमा छठ पूजाको महिमा र गरिमा थाहा हुँदै गयो। त्यतिबेला छठ मनाउने ठाउँहरूमा थापाथली, टंकेश्वेरी, गुह्येश्वरी र बागमती थिए। रानीपोखरीको छठ व्रतालुहरूका लागि खोल्नका लागि नगरपालिका तयार भएको थिएन। पोखरी खोल्नका लागि एउटा समिति बन्यो। पंक्तिकारसहित तराई सांस्कृतिक संस्थाका युवाहरूले धेरै प्रयास गर्यौं। राजनीतिक सिफारिसपछि अनुमति पायो। पछि रानीपोखरी छठ व्रतालुहरूको प्रमुख केन्द्र बन्दै गयो। अहिले २०७२ वैशाख १२ गतेको भूकम्पमा भत्केको रानीपोखरी निर्माणाधीन छ। यस्तै काठमाडौं उपत्यकाका नदी किनारामा २०–३० घाटहरू पूजाका लागि सजिएका छन्। यसका लागि तराई समुदाय मात्र नभएर पहाडी समुदायले पनि आस्थाअनुसार आर्थिक सहयोग प्रदान गर्छन्। देशका राष्ट्रपति र प्रधानमन्त्रीसहित ठूला–ठूला नेता छठ घाट पुग्छन् र पूजा–अर्चनामा सहभागी हुन्छन्।
छठमा व्रत बस्ने आफ्नै विधि–विधान छ। यो व्रतको विधान पवित्र र कठोर छ, जसको श्रद्धा, निष्ठा, विश्वास र आस्थापूर्वक पालना गरिनुपर्छ। छठको व्रत बस्ने (व्रती) ले कार्तिक महिनाको सुरुदेखि नै माछा, मासु, लसुन, प्याज, मदिरा, आदि तामसी भोजन त्याग्नुपर्छ। तिहारको चौथो (चौथी) को दिन ‘अरवा अरबाइन’ वा ‘नुहायखाय’ भनिन्छ। यही दिन नुहाइधोइ गरेर व्रतीले शुद्ध भाँडामा सफा र भान्साघरमा भोजन पकाएर खान्छन्। पञ्चमी तिथि अर्थात् खरनाको दिन व्रतीले दिनभरि उपवास बसी साँझपख माटोको नयाँ चुलो र चोखो भाँडोमा सक्खर हालेर खीर, रोटी पकाइन्छ, जसले चन्द्रोदय भएपछि छठी माताको पूजा–अर्चना गरेर नैवेद्य तथा प्रसाद चढाउँछन्। त्यही खीर प्रसादका रूपमा आपूmले लिने, आफन्त र अन्यलाई दिने गरिन्छ।
खरनाको भोलिपल्ट अर्थात् षष्ठीको दिनलाई यस व्रतको सबैभन्दा महŒवपूर्ण दिन मानिन्छ। यस दिन व्रतालु दिनरात निर्जला उपवास बस्छन्। षष्ठीको दिनलाई सझियाघाट भनिन्छ, व्रतालु र श्रद्धालु भक्तजन पूजा सामग्री लिएर नजिकको नदी, पोखरीका किनार पुगेर सूर्यलाई अर्घ प्रदान गर्छन्। अर्घमा भाकलअनुसार माटाको ढकनी, नाङ्लो, सूर्य बाँसको छैयटी आदिमा ठकुवा, खजुरी, पेरुकिया आदि छठका प्रमुख पकवान र केरा, नरिवल, उखु, अदुवा, पान, कागती, सुन्तला, बेसारको गाँठी, सुठुनी आदि मौसमी फलपूmल चढाएर धूपदीप गरी भगवान् सूर्य देवतालाई चढाउने परम्परा छ। व्रत बस्नेहरू नयाँ रातो वस्त्रधारण गरी कम्मरसम्मको पानीमा बसेर अस्ताउन लागेका सूर्यलाई हात जोडेर भक्ति र निष्ठाले पूजाअर्चना गर्ने गर्छन्। सूर्य अस्ताउन थालेपछि कतिपय व्रतालु र श्रद्धालु रातभरि घाटमा बसेर छठी मातालाई सम्बोधन गरी गीत गाउँछन। जस्तै–
रात छठी देवी गवने अइलीन भोर मइया बितइलिन कहँवा
भोर बितइलिन भइयाजी के अङना
दोहरी कोसिया भरन भइले तहँवा
भोर बितइलिन मइया मोरे अंगना, गइया
के घिउए हवन भइले तहँवा”।
छठको महँगो पूजा लिएर भाइ र बहिनीबीचको संवादरूपी छठी गीत गाउने प्रचलन छ। बहिनी भन्छिन्–
अपने त जाई छ भइया,
अयोध्या नगरिया,
हमरा लागी लइह हे भइया
गेहुवा सनेसवा।
भाइ महँगीले आफ्नो बाध्यता सुनाउँदै बहिनीसँग यसरी अनुरोध गर्छन्–
अयोध्या नगरिया गे
बहिनी बडा हइ महँगी
छोडी देहु गे बहिनी
छठ के वरतीया।
बहिनी भन्छिन्–
अइसन न बोलिह हे भइया,
कहियो न बोलिह
भिखी दुःखी मागी हो भइया,
करबई छठी के वरतीया।
यो कथन सत्य छ। छठ व्रत गर्ने इच्छा भएपछि आर्थिक अभाव व्रतालुहरूको हुँदैन। किनकि समाज र परिवारले आफ्नो इच्छाले सहयोग गर्छन्।
सप्तमी तिथिका दिन पुनः अघिल्लो दिनको जस्तै स्नानादि गरी नयाँ वस्त्र धारण गरेर पुनः घाटमा पुगी उदीयमान सूर्यलाई अर्घ दिएर पूजा–अर्चना गरी व्रत समाप्त गरिन्छ। छठको प्रसाद भक्तालु र श्रद्धालुले निकै श्रद्धाभावले ग्रहण गर्छन्। षष्ठीको साँझ र सप्तमीको बिहान अर्घ दिने बेलामा घाटको दृश्य अति रमणीय र मनमोहक हुन्छ। यस व्रतमा आर्थिक, सामाजिक, धार्मिक दृष्टिले भेदभावको कुनै स्थान रहँदैन। आर्थिक दृष्टिले कमजोर भएकाहरूलाई स्वतस्पूmर्त रूपमा व्रतका आवश्यक सामग्री उपलब्ध हुँदै जान्छन् भन्ने जनविश्वास छ तर त्यसका लागि पूर्ण विश्वास र श्रद्धाभाव आवश्यक पर्छ।यो समस्त जातजातिले मनाउने पर्व पनि हो। समानरूपमा एउटै पोखरी या जलाशयको किनारमा सूर्यको पूजा गर्ने चलन जातीय समन्वय र सद्भावको जलन्त उदाहरण हो। हिन्दु वर्ण व्यवस्थाअन्तर्गत जातीय छुवाछूत र भेदभाव आज पनि हाम्रो समाजमा एउटा कलंकका रूपमा यथावत् छ तर यस पर्वमा डोमबाट बनाएको डलिया, कुम्हारबाट बनाएको माटोका भाँडा–दियाको पनि पूजामा श्रद्धापूर्वक उपयोग हुन्छन्। जसले यस पर्वमा सबै समुदायको समान सहभागिताले सामाजिक सद्भाव र सामञ्जस्यको सन्देश दिन्छ। यस पर्वमा पुरोहित, पण्डित र पुजारीहरूको केही स्थान हँुदैन। यो पर्व महिमाले यस पर्वको राष्ट्रिय पर्वको स्वरूप दिएको छ। दसैं पर्वजस्तो छठ पर्व पनि विशेष धुमधामका साथ मनाइन्छ। पहाड, तराई र राजधानीमा समान रूपमा मनाइने छठ पर्वले सबैको जीवनमा समानता, एकता, सहआस्था र बन्धुत्वभावको विकास गरेको पाइन्छ।