बाथका बिरामीलाई पञ्चकर्म सेवा
बैतडी : दशरथचन्द नगरपालिका–१ की हरिप्रिया भट्ट मुस्याचोरस्थित आयुर्वेद औषधालयमा बाथरोगको उपचार गराइरहेकी छन्। औषधालयले चैतमा सुरु गरेको स्वदेन र स्नेहन (बिरामीको सेकाइमार्फत उपचार गर्ने विधि) सेवाले उनलाई बाथरोगको उपचारमा सजिलो भयो।
जिल्लाको पाटन नगरपालिका–५ का ६० वर्षीय बहादुर ठगुन्ना पनि औषधालयमा स्वदेन र स्नेहन सेवाबाट बाथरोगको उपचार गराइरहेका थिए। तर, एक्कासी सो सेवा बन्द भएपछि उपचारका लागि भारतको भर पर्नु परेको छ। उनले भने, ‘हामीले औषधिका लागि भारतको पिथौरागढ, धनगढी, कोहलपुरलगायत ठाउँमा धाउनुपथ्र्यो। घर नजिकै आयुर्वेदिक उपचार पद्धतिबाट बाथरोगको उपचार हुन थालेपछि सजिलो भएको छ।’
बन्द हुँदा समस्या
साउनदेखि औषधालयमा स्वदेन र स्नेहन सेवा बन्द भएपछि बिरामीलाई उपचारमा समस्या भएको हो। बाथरोगबाट ग्रसितको उपचार गर्ने उद्देश्यले आयुर्वेद औषधालय मुस्याचोरमा पञ्चकर्म उपचार पद्धतिअन्तर्गत स्वदेन र स्नेहन सेवा अर्थात् सेकाइबाट उपचार सेवा सुरु गरिएको थियो। तर, पछिल्लो समय बजेट र औषधि अभाव देखाउँदै सो सेवा बन्द गरिएको छ।
मुस्याचौरमा मात्रै सय जनाभन्दा बढीले यो सेवाबाट उपचार गराइरहेका थिए। समयमा कार्यक्रम र बजेट नआएकाले स्वदेन र स्नेहन सेवा बन्द भएको वरिष्ठ वैद्य नरेन्द्र कलौनीले बताए। उनले भने, ‘सुरुमा कार्यक्रम नआएकाले स्वदेन र स्नेहन सेवालाई निरन्तरता दिन सकेनौं। अब तिहारपछि यो सेवा पुनः सञ्चालन गर्छौं।’
स्वदेन र स्नेहनले बाथरोगका बिरामीलाई निकै सजिलो हुन्छ। जटिल खालको बाथरोगसमेत यसबाट निको हुन्छ। यो पञ्चकर्मभित्रकै उपचार पद्धति हो।
पञ्चकर्म सेवा अन्तर्गतको स्वदेन र स्नेहन सेवा बन्द भएपछि आयुर्वेद औषधालयमा पुग्ने बिरामी निरास भएर फर्किने गरेका छन्। ‘सुरुमा सेकाइ विधिबाट रोग निको हुँदै गरेकाहरू औषधालय पुग्छन्। तर, सेवा सुचारु नहुँदा निरास भई फर्किने गरेका छन्’, आयुर्वेद औषधालय मुस्याचोरका कर्मचारी रामदत्त भट्टले भने। आयुर्वेद औषधिको साइडइफेक्ट नहुने भएकाले पछिल्लो समय आयुर्वेदिक उपचार पद्धतिमा आकर्षण बढ्दै गएको उनी बताउँछन्।