नेपाल अध्ययनका लागि छानिएका सय पुस्तक

नेपाल अध्ययनका लागि छानिएका सय पुस्तक

नेपाली साहित्यिक पुस्तकबारे यदाकदा सर्वेक्षण भए पनि गैरसाहित्यिक पुस्तकबारे सर्वेक्षण गरी हेरौं न त भन्ने जिज्ञासाले यो सर्वेक्षण गर्ने प्रयास गरियो। नेपाल परिचय/नेपाल अध्ययनका लागि के-कस्ता किताब पढ्नुपर्ला त भन्ने धेरैको जिज्ञासा हुने गर्छ। अनि पुस्तकसम्बन्धी अखबारी वार्तामा ‘नेपालमा कस्ता पुस्तक लेखिए हुन्थ्यो ?’ भन्ने प्रश्नमा सबैजसोको जवाफ हुन्छ- नेपालको समाज, संस्कृति, प्रकृति, राजनीति, अर्थ बुझाउने अनुसन्धानात्मक पुस्तक लेखिन जरुरी छ। ‘लेखिन जरुरी छ’ भने केही पढिन पनि जरुरी छ कि ?

सर्वेक्षणलाई धेरै छरिन नदिन हामीले चारवटा मापदण्ड बनाऔँ-पुस्तक नेपालबारे हुनुपर्ने, पुस्तक गैरसाहित्यिक हुनुपर्ने, पुस्तक नेपाली वा विदेशी जसले लेखेको भए पनि हुने र पुस्तक नेपालभित्र वा बाहिरका जुनसुकै भाषामा लेखिएको भए पनि हुने।

यसअनुसार हामीले समाजविज्ञानका सबैजसो विधाका पुस्तक छानियून् भन्ने अभिप्रायले मोटामोटी दश विधा जति बनायौँ। ती विधा थिए- १) नेपालको इतिहास/पुरातत्व २) नेपालको राजनीति/कूटनीति ३) नेपालको समाजशास्त्र/मानवशास्त्र ४) नेपालको प्रशासन, व्यवस्थापन, योजना, अर्थ ५) नेपालको शिक्षा/सिकाइ/विद्या/ज्ञान ६) नेपालको भूगोल/प्रकृति, यात्रा पुस्तकसमेत ७) नेपालको कला, संस्कृति, दर्शन, लोकवार्ता, संगीत, चित्रकला, लोकसंस्कृति, भाषा, संस्कार, रीतिथिति आदि ८) नेपालका आत्मकथा/जीवनी/संस्मरण ९) नेपाल चिनाउने ऐतिहासिक दस्तावेज (अभिलेख, सन्धि-सम्झौता, कानुन, पत्राचार आदि) र १०) अन्तर्विधात्मक (इन्टरडिस्प्लिनरी) तथा माथि नपरेका समाजविज्ञानका सबै विधा : नेपालको जनसंख्या, बसाइसराइँ, खाद्य संस्कृति, समावेशीकरण, वैचारिक-वैकल्पिक अध्ययन, लैंगिक-जातीय-धार्मिक-वर्गीय अध्ययन आदि।

हामीले सकेसम्म सबैजसो हिसाबले समावेशी हुने गरी नेपालको समाजविज्ञानमा रुचि राख्ने, पढ्ने-लेख्ने जम्मा १०० जनालाई इमेल पठायौँ। भन्यौँ- यी १० विधामध्ये आफूलाई मन परेको, भन्न मन लागेको विधामा पुस्तकको नाम लेखिदिनुहोला। सबै विधामा अनिवार्य छैन।

हाम्रो छोटो समयको अनुरोध स्वीकारी ७२ जनाले ‘मतदान’ गर्नुभयो। कतिले भ्याउनुभएन, कति चाडबाडमा व्यस्त हुनुहुन्थ्यो, कति विदेशतिर हुनुहुन्थ्यो सम्पर्क हुनै सकेन, कतिले जुरी को-को छन् भनेर नाम माग्नुभयो भने कतिले रुचि छैन भन्नुभयो। (हामीले छनौटकर्ता को-को हुनुहुन्छ भनेर उहाँहरूलाई आपसमा थाहा दिएनौँ, जब सबै लिस्ट आइपुग्यो, अनि मात्र जुरी सार्वजनिक गर्‍यौं)। हामीले आफ्नै किताब पनि छान्न सक्नुहुन्छ भनेका थियौँ, तर छ जनाले मात्र आफ्ना पुस्तक छान्नुभयो।

७२ जना छनौटकर्तामध्ये २ जनाले एउटा मात्र किताबको नाम छान्नुभएको थियो भने ३४ जनाले १० विधाकै ५० पुस्तक छान्नुभएको थियो। हामीलाई सबै गरी ५ सय ९५ पुस्तकको नाम प्राप्त भयो। सुरुमा हामीले मतका आधारमा माथि आएका ५० पुस्तकको लिस्ट बनाउने निर्णय गरेका थियौँ। तर मतगणना सकिएपछि हामीले चार भोटसम्म पाएका सबै पुस्तकलाई यहाँ समावेश गर्‍यौँ।समान मत पाएका पुस्तकलाई अकारादिक्रममा राखिएको छ। कुन पुस्तकले कति भोट पाए भन्ने यहाँ पुस्तकको कभर छेउमा अंकमा खुलाइएको छ।

सर्वेक्षणको नजिता नै सबथोक होइन। यी किताब मात्र उत्कृष्ट र पठनीय अरु किताब कमजाेर भन्ने कदापि होइन। 

यहाँ कस्ता पुस्तक छानिए, कस्ता छानिएनन्, यी किन छानिए, ती किन छानिएनन् भन्ने बहस-लेखलाई स्वागत गर्न फुर्सदका पाना सधैँ तयार, तत्पर, इच्छुक अनि प्रतिबद्ध छन्।

एउटै किताबका धेरै भाषाका संस्करण भएकामा हामीले जुन भाषाको बढी मत आयो, तिनै भाषाका पुस्तकका कभर राखेका छौँ। यहाँ छानिएका कतिपय दुर्लभ पुस्तकको पढ्न दिने पुराविद् एवं संस्कृतज्ञ महेशराज पन्तप्रति आभारी छाैँ। यसैगरी हामीले मार्टिन चौतारी पुस्तकालयबाट पनि पुस्तक पढ्याैँ ।  सर्वेक्षण र लेखनमा सघाउने रवीन्द्र ढकाललाई धन्यवाद। अनि, यो सर्वेक्षणमा मतदान गरिदिनुहुने सबै जुरी सदस्यहरूप्रति हार्दिक कृतज्ञता। यो सर्वेक्षणबारे यहाँहरूका रचनात्मक प्रतिक्रिया तथा आलोचनात्मक लेख हामी सधैझैँ स्वागत गछौँ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.