चाडपर्वमा फोहोर उठेन
काठमाडौं : काठमाडौं महानगरपालिकाका सयौं ठाउँमा अहिले फोहोरको डंगुर थुप्रिएको छ। राजधानीका कालीमाटी, बसपार्कसहित विभिन्न भित्री ठाउँमा फोहोर धेरै जम्मा भएको हो।
महानगरको वातावरण विभागले चाडपर्वको समयमा फोहोर उठाउन नपठाउँदा धेरै फोहोर थुप्रिएको स्थानीय बताउँछन्। कालीमाटीमा तिहार सुरु हुनुभन्दा केही समय अघिदेखि नै फोहोर नउठाइको स्थानीय व्यापारी रमिला श्रेष्ठले बताइन्।
‘पहिलेभन्दा अहिले समयमा फोहोर उठाउन थालेको भए पनि’, उनले भने, ‘तर, चाडपर्वमा भने समयमा उठाउन आउँदैन। समयमा फोहोर नउठाउँदा दुर्गन्ध बढ्न थालेको छ।’
दसैंतिहार जस्ता चाडपर्वमा सामान्य दिनमा उत्पादन हुने फोहोरभन्दा दुई÷तीन गुणा बढी फोहोर उत्पादन हुन्छ। तर त्यो फोहोर व्यवस्थापन गर्न नसक्दा भने समस्या हुने गरेको छ। काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरीमान डंगोलले चाडपर्वमा पनि फोहोर उठाउने कर्मचारीको बिदा नभएको हुँदा फोहोर उठाउने काम भइरहेको बताए। ‘वातावरण विभागअन्तर्गतका फोहोर उठाउने कर्मचारी काम गरिरहेका छन,’ उनले भने, ‘सधैं उनीहरूले दुई ‘सिफ्ट’ काम गर्थे। अहिले एक सिफ्ट मात्र गरिरहेका छन्। जसले केही समस्या भएको होला। नत्र फोहोर उठाउने काम रोकिएको छैन।’
चाडपर्वमा कर्मचारीले एक समयमा मात्र काम गर्ने भएकाले धेरै ठाउँको फोहोर उठाउन नसकिएको प्रवक्ता डंगोलले बताए। अब चार्डपर्व सकिएकाले समयमा फोहोर नउठ्ने समस्या नहुने उनको दाबी छ। ‘अब चाडपर्व सकियो,’ उनले भने, ‘कर्मचारीले भोलिबाट दुई सिफ्टमा काम गर्छन्। फोहोर सबै ठाउँको उठ्छ।’
ट्रान्सफर्मर स्टेसनमा फोहोर जम्मा
काठमाडौं महानगरपालिकाले वातावरण विभागअन्तर्गत फोहोर ट्रान्सफर्मर स्टेसनबाट गएको दुई सबै फोहोर हटाएको थियो। फोहोर हटाएपछि अब स्टेसनमा धेरै फोहोर जम्मा हुन नदिने महानगरका प्रमुख प्रशासकिय अधिकृत केदार न्यौपानेले बताएका थिए। तर १० दिन नबित्दै स्टेसनमा फोहोरको डंगुर लागेको छ।
अहिले तिहारको बिदाको समयले गर्दा फोहोर ट्रान्सर्फमर स्टेसनमा जम्मा भएको प्रवक्ता ईश्वरीमान डंगोलले बताए। बिदा सकिएलगत्तै फोहोर ट्रान्सर्फमर केन्द्रबाट हटाइने उनको भनाइ छ। ‘स्टेसनमा फोहोर चाडले गर्दा केही दिन रहेको हो,’ उनले भने, ‘तर अब चाड सकिएको छ। अब स्टेसनबाट हटाइनेछ।’