स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्रीको ब्रिफिङ : ​अब नियमित डायलासिस

स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्रीको ब्रिफिङ : ​अब नियमित डायलासिस

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले आफ्नो मिर्गौलाले काम नगरेका कारण अब नियमित डायलासिस गर्नुपर्ने अवस्था आएको बताएका छन्। शनिबार बालुवाटारमा बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा आफ्नो स्वास्थ्य अवस्थाबारे ब्रिफिङ गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। 

ब्रिफिङका क्रममा ओलीले प्रचारमा आए जस्तो आफू सिकिस्त बिरामी भने नभएको जानकारी गराए। बुधबार ग्रान्डी अस्पतालमा भर्ना भएर बिहीबार साँझ बालुवाटार फर्किएका ओलीले शनिबार बिहानका लागि सचिवालय बैठक बोलाएका हुन्। 

ओलीले स्वाथ्यमा समस्या आइरहेकाले अब नियमित डायलासिस वा मिर्गौला प्रत्यारोपण मात्र विकल्प विकल्प रहेको जानकारी बैठकमा गराएको स्रोतको दाबी छ।   

सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूलाई मिर्गौलाले दुःख दिएको भन्दै सचिवालय सदस्यलाई ब्रिफिङ गरे। ओलीले ग्रान्डी अस्पतालमा दुई पटक डायलासिस भइसकेको र थप उपचारका लागि सबै रिपोर्ट आएपछि अगाडि बढ्ने बताए। 

नेकपा सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले केही रिपोर्ट आउन बाँकी भएकाले थप उपचारको बारेमा निर्णय नभएको जानकारी दिए। 

‘प्रधानमन्त्रीज्यूले नै उहाँको स्वास्थ्यस्थितिको बारेमा जानकारी गराउनु भएको छ’, प्रवक्ता श्रेष्ठले भने, ‘उहाँ स्वास्थ्यमा गम्भीर अवस्था सिर्जना भएर सिकिस्त भएको अवस्था होइन।’

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सिकिस्त नभए पनि केही गम्भीर समस्या देखिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। ‘उहाँ सिकिस्त नभए पनि स्वास्थ्यमा केही समस्या देखिरहेका कारण चिकित्सकले परीक्षण गरिरहेका छन्। त्यसका केही रिपोर्ट आइसकेका छन्। केही रिपोर्ट आउन बाँकी छन्। सबै रिपोर्ट प्राप्त भएपछि उपचारको बारे थप निर्णय हुनेछ’, प्रवक्ता श्रेष्ठले भने, ‘तपाईंहरुलाई थाहा भएकै हो। ग्रान्डीमा डायलासिस भइसकेको छ। थप उपचार सबै रिपोर्ट आएपछि मात्र हुन्छ।’ 

प्रधानमन्त्री ओली स्वास्थ्यमा समस्या देखिएपछि बुधबार बिहान ग्रान्डी अस्पतालमा भर्ना भएका थिए। दुई दिन अस्पताल बसेका ओलीको उपचारका क्रममा २४ घण्टामा दुई पटक डायलासिस गरिएको थियो। ग्रान्डी अस्पताल स्रोतले भने प्रधानमन्त्रीको पुनः डायलासिसको तयारी भइरहेको बताएको छ। मिर्गौला रोग विशेषज्ञका अनुसार रगतमा पोटासियमको मात्रा बढेमा र छातीमा पानी जम्मा भएमा डायलासिस चाँडोचाँडो गर्नुपर्छ ।

दुई दिन अस्पतालमा रहदा प्रधानमन्त्री ओलीको रगत, सुगर, रक्तचाप, क्रियटिनिनलगायतको परीक्षण गरिएको थियो। 

प्रधानमन्त्री ओलीको १२ वर्ष अगाडि २०६४ सालमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। मिर्गौला प्रत्यारोपणपछि उनले नियमित औषधि खाँदै आएका छन्। 

स्वास्थ्यमा समस्या हुँदा औषधिले राम्रो काम नगर्ने हुँदा बेलाबेलामा प्रधानमन्त्रीको स्वास्‍थ्यमा समस्या देखिने गरेको छ।  भदौको पहिलो हप्ता प्रधानमन्त्री ओलीको सिंगापुरमा प्लाज्माफेरेसिस गराइएको थियो। त्यही क्रममा दुई हप्ता ओली सिंगापुरमा रहेका थिए। 

रेनल बायोप्सीको रिपोर्टपछि ओली  थप परीक्षण र उपचारका लागि सिंगापुर गएका थिए। त्यसअघि छाउनीस्थित सैनिक अस्पताल  नियमित ल्याब परीक्षणसहित यूएसजी ग्याइडेड ‘रेलन बायोप्सी’गरिएको थियो।

उपनिर्वाचन उम्मेदवारको नाममाथि छलफल
त्यसैगरी शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकले मंसिर १४ गते हुने उपनिर्वाचनका उम्मेदवारको नाममाथि छलफल सुरु गरेको छ। 

प्रवक्ता  श्रेष्ठका अनुसार बैठकमा जिल्ला र प्रदेश कमिटिबाट सिफारिस भएर आएका नाममाथि छलफल सुरु भएको हो। उम्मेदवारको टुंगो लगाउन आइतबार पुनः सचिवालय बैठक बस्ने उनले बताए।

‘बैठकमा उपनिर्वाचनका लागि सिफारिस भएका नाममाथि छलफल सुरु भएको छ’, प्रवक्ता श्रेष्ठले भने, ‘नाम टुंगो लाग्न बाँकी छ। त्यसका लागि आइतबार पुनः बैठक बस्नेछ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.