विपक्षी आगामी सरकार हो : सभापति देउवा
दमौली : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रतिपक्षीसँग सहमति गरेर अघि बढे सरकारको विरोध नगर्ने बताएका छन्। तनहुँ कांग्रेसका संस्थापक नेता गोवद्र्धन शर्मा पोखरेलको आत्मवृतान्तको दमौलीमा आयोजित लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले राम्रो काम गरे भने आपत्ति नरहने बताए।
‘विपक्षी भनेको आगामी सरकार हो,’ उनले भने,‘विपक्षीसँग सहमति नगरिकन गरिने कामको विरोध हुन्छ।’ कम्युनिस्ट सरकारले मात्र बहुमत नपाएको भन्दै उनले मधेसवादी दलको साथमा बहुमत पाए पनि सरकारले विपक्षीलाई अवमूल्यन गर्न खोजेको उनले आरोप लगाए।
‘नेपाल कम्युनिस्ट गभर्मेन्ट हो तर कम्युनिस्ट स्टेट होइन’ उनले भने,‘कम्युनिस्ट स्टेट जसरी अधिनायकवाद र सर्वसत्तावाद लाद्न पाइन्न।’ उनले डर र त्रास देखाएर अभिव्यक्ति स्वतन्त्रता र नागरिकका हकमाथि सरकारले नियन्त्रण गर्न खोजेको भन्दै सधैं त्यसको विरोधमा रहने बताए।
कार्यक्रममा सभापति देउवासँगै सहभागी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले त्रास देखाएर प्रतिपक्षी आवाजलाई दबाउन खोजिएको भन्दै आपत्ति जनाए।
त्यसैगरी महामन्त्री डा. शशांक कोइरालाले पार्टी एक भएमा कसैले हराउन नसक्ने बताए। उनले पार्टीका कार्यकर्ता सक्षम र नेतृत्व लिन सक्ने भन्दै एकता भएका खण्डमा पार्टीले कहिल्यै नहार्ने बताए।‘हामी एक भएर फेरि कांग्रेसलाई सत्तामा पुर्याउनेछौं,’उनले भने।
स्वर्गीय पोखरेलका पुत्र संविधानसभाका सभासद रामचन्द्र पोखरेलले लामो इतिहास बोकेका पोखरेलको योगदान समेटेर गोवद्र्धन शर्मा पोखरेल स्मृति ट्रस्टमार्फत पुस्तक ल्याएर त्यतिबेलाको इतिहास सबैमाझ पुर्याउन खोजिएको बताए।