आखिर कहाँ रहेछौं त हामी महिला ?
सत्ता र शक्ति पुरुषका हातमा सीमित हुनाले नै आम महिला व्यवहारमा आज पनि दोस्रो दर्जामा नै रहन बाध्य पारिएका छन्।
वर्षौंअधि कृष्ण धराबासीले नारी जीवनका रहस्यमयी पाटाहरू देखेर तथा उनीहरूका अदृश्य पीडाबोध गर्दै निबन्ध लेखेका थिए ‘नारीभित्र त्यस्तो के छ हजुर ? ’ उनको त्यो निबन्धले त्यसबेला मलाई यसरी छोएको थियो कि केही दिन त म विचलित भएकी थिएँ। त्यही मानसिक विचलनको सामना म यतिखेर पुनः गरिरहेकी छु। मेरो मनभरि प्रश्नहरू छरपस्टिएका छन्— महिला के हो ? मान्छे या त्योभन्दा भिन्न अरू केही ? ऊ मानिस नै हो भने सधैं किन मानिसबाटै लखेटिएकी छे ? उसका लागि यो मानव बस्ती किन सधैँ असुरक्षित छ ? मान्छेसरह उसले पनि बोल्न खोज्दा उसको मुख किन थुनिइन्छ ? केहीगरी बोलिहाले पनि उसलाई बहुलाही साबित गर्न खोजिन्छ किन ? उसले आफूविरुद्धको अन्यायबारे बोल्दा जिब्रो थुतिन्छ, अत्याचारसँग लड्दा हात काटिन्छ, सुन्दर संसार हेर्न खोज्दा आँखा फुटाइन्छ, आफ्नै उचाइमा स्थापित हुन खोज्दा खुट्टा काटिन्छ, प्रकृतिप्रदत्त सौन्दर्यमा फुलेको बेला उसमाथि तेजाब खन्याइन्छ, आखिर किन ?
के हो महिला ? केवल यौन अनि वस्तु हो ? अन्यथा किन सदैव महिला यौन हिंसा खेप्न बाध्य पारिन्छन् ? महिलालाई यौन तथा यौनिक आवश्यकता परिपूर्तिको साधनबाहेक अन्य नजरले हेर्नु पुरुषको धर्मविपरीत हुन्छ ? होइन भने किन दुधे बालिकादेखि दाँत फुक्लेकी हजुरआमासम्म यौन हिंसाका सिकार भइरहन्छन् ? माया, सहानुभूति, सहयोगदेखि डर, त्रास, धम्की र बलजफ्तीजस्ता सबै माध्यमबाट महिला किन लुटिइरहेका छन् ? किन महिलालाई यौनतृप्तिको साधन तथा प्रतिशोध लिने माध्यम बनाइन्छ ? महिलाको मातृत्व गुण अर्थात् उसको शरीर संरचना नै उसका लागि अभिशाप भइरहेको देख्दा मलाई धिक्कार्न मन लागिरहेको छ त्यो मातृत्व गुणलाई !
पितृसत्तात्मक सामाजिक संरचनाभित्र गाउँदेखि सहर, सम्पन्नदेखि विपन्न, शिक्षितलेखि अशिक्षित सबैखाले महिलाको निरीह अवस्थालाई नियाल्दै आइरहेकी म संसद् सचिवालयमा कार्यरत एक महिलाले आफूमाथि यौन हिंसाको खुलासा गर्नु र तत्कालै पटकपटक बयान फेरेको घटनाले स्तब्ध हुन्छु। मनमा पुनः प्रश्न उब्जन्छ आखिर कहाँ रहेछौं त हामी महिला ? एक्काइसौं शताब्दीका अनि शिक्षित र आत्मनिर्भर सहरी महिलाको त यस्तो दुरवस्था छ भने दुरदराजका अशिक्षित अनि सीमान्तीकृत महिलाको अवस्था कस्तो होला ? कथाकार माया ठकुरीको ‘गिद्ध’ कथाको सम्झना हुन्छ। रातको यात्रामा गुण्डाहरूले पतिकै अगाडि पत्नीको बलात्कार गरेर गएपछि पत्नीले प्रहरीमा उजुरी गर्न जाऊँ भन्दा पतिले त्यसो गर्दा समाजमा आफ्नो इज्जत जाने र आफू अर्काले अपवित्र पारेकी पत्नीसँग बस्न पनि नसक्ने भन्दै केही रकम दिएर सम्बन्ध–विच्छेदको प्रस्ताव अघि सार्छ।
पतिबाट माया, स्नेह र साथको अपेक्षा राखेकी पत्नीले उसको व्यवहार देखेर उसले गर्न खोजेको आर्थिक सहयोगलाई वर्ष दिनभरि आफ्नो शरीर भोगेको रकम चुक्ता गर्न खोजेको भन्दै उसका गालामा एक थप्पड लगाउँछे अनि मानसिक रूपमा ती बलात्कारी र उसमा कुनै भिन्नता नभएको भन्छे। ऊ त्यस्तो गिद्दजस्तो पतिलाई पलभरमै त्यागेर हिँडिदिन्छे। अहा ! हाम्रो समाजका महिला पनि यसरी नै बलात्कारी तथा दुराचारीविरुद्ध खुलेर बोल्न सके ? तर बोल्न सजिलो छैन किनभने महिलाको आफ्नो आवाज हँुदैन र उनीहरूले त्यही बोल्नुपर्छ, जे उनीहरूसँग सम्बन्धित पुरुषहरूले बोल्न लगाउँछन् भन्ने पितृसत्तात्मक सामन्ती सोचबाट समाज आजसम्म पनि मुक्त भएको छैन।
नारी उत्पीडनका अनेकौं घटनाका क्रममा हालै बाहिरिएको द्वन्द्वपीडित एक महिलाको भोगाइ सुन्दा पनि आङ सिरिंङ हुन्छ। सशस्त्र द्वन्द्व विराम भई शान्तिसम्झौताको एक दशकभन्दा बढी समयपछि ती महिलाले आफ्नो पीडा बोलिन् तर नेपथ्यबाटै। तत्कालीन विद्रोहीलाई साथ दिएको आरोपमा किशोरावस्थाकी उनलाई सेनाले कुकुरद्वारा बलात्कार गराएको उनको कटु भोगाइ यथार्थ हो भने यहाँभन्दा ठूलो अपराध के होला ? कसरी सहेर र लुकाएर बस्न सकिन् उनले त्यो शारीरिक तथा मानसिक हिंसा ? प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रसम्म आइपुगेको हाम्रो राजनीतिक परिवेशमा महिलामाथि यतिसम्म अत्याचारका घटना बाहिरिनु लज्जाको विषय त हो नै, यसबारेमा निष्पक्ष छानबिन गरेर, सो घटना भएकै हो भने दोषी पक्षलाई कानुनी दायरामा ल्याइएन भने महिलाले राज्य तथा कानुनको अनुभूति गर्ने अवस्था रहने छैन। हुन त द्वन्द्वकालका मुद्दा उठाउँदा शान्ति प्रक्रियामा असर पर्ने हुनाले तिनलाई थाँती राख्नुपर्ने भन्ने विचार पनि बेलाबेलामा सुनिँदै आएको छ। यसबाट तत्कालीन विद्रोही तथा सरकार दुवै पक्षलाई फाइदा होला, तर महिलाको सवालमा त्यस अवधिमा सर्वाधिक पीडा उनीहरूले नै खेपेका देखिन्छन्।
समाजका चेतनशील वर्गले पितृसत्तात्मक मानसिकताबाट मुक्त भएर महिलालाई केवल वस्तुका रूपमा हेर्ने प्रवृत्तिलाई निरुत्साही गर्दै जानुपर्छ।
सामन्तवादी राज्यव्यवस्थाको अन्त्य गरी जनवादी राज्यव्यवस्था स्थापनाका लागि जनक्रान्ति गर्न भन्दै विद्रोही मोर्चामा सामेल गराउन विशेषगरी ग्रामीण क्षेत्र तथा विपन्न वर्गीय महिला तथा किशोरीहरूलाई केही मात्रामा स्वतस्पूmर्त रूपमा र धेरैजसो बाध्यात्मक परिवेशमा लगिनु, त्यहाँ पनि उनीहरू अनेकन शारीरिक तथा मानसिक उत्पीडन झेल्न बाध्य हुनु, आम नेपाली महिलामाथि कहिले राज्य पक्षको सहयोग गरेको भन्दै विद्रोही पक्षले यातना दिने त कहिले विद्रोहीलाई सहयोग गरेको भन्दै राज्यपक्षले यातना दिने गरेको यथार्थ बाहिरिइसकेको छ। जुनसुकै पक्षबाट भए पनि द्वन्द्वकालीन अवस्थामा महिलामाथि यौन हिंसा नै भएको पाइन्छ। हिंसापीडित महिलाप्रति समाजको नकारात्मक दृष्टिकोण तथा राज्यको उदासीनताका कारण उनीहरू खुलेर बोल्न सकेको भने देखिँदैन।
विश्व परिवेशमा नारीवादी आन्दोलनको एक शताब्दी बित्न लाग्दा अनि हाम्रै परिवेशमा पनि महिला हक–हित र अधिकारका लागि महिलाहरू संगठित भएको तीन दशक बितिसक्दा पनि महिलामाथि यस्ता जघन्य हिंसा भइरहनु, उनीहरूले त्यसविरुद्ध आवाज उठाउन नसक्नु, बोलिहाले पनि ती आवाजलाई पितृसत्तात्मक सामाजिक तथा राजनीतिक संस्कृतिले दबाइनुले मुलुकमा राजनीतिक रूपान्तरण भए पनि त्यो केवल पुरुषका लागि मात्र भएको यथार्थबोध गराइरहेको देखिन्छ। सिमोन दि बुभायरले आफ्नो कृति ‘द सेकेन्ड सेक्स’ (सन् १९४९) मा व्यक्त गरेको— समाज तथा राजनीतिक सत्ता सदा पुरुषकै हातमा रहेकाले पुरुषको अधीनता महिलाको नियति बनेको हो भन्ने विचार अहिले पनि उत्तिकै सान्दर्भिक देखिएको छ। सत्ता र शक्ति पुरुषका हातमा सीमित हुनाले नै आम महिला व्यवहारमा आज पनि दोस्रो दर्जामा नै रहन बाध्य पारिएका छन्। पीडित महिलामध्ये अधिकांशले त्यो पीडालाई आफ्नो नियति मानेर चुपचाप बस्छन्। जसले विद्रोह गर्छन्, उनीहरू या त समाजबाट तिरस्कृत हुन्छन् या परिवारबाट त्यागिन्छन्।
यौनजन्य हिंसापीडित महिलाले त्यसविरुद्ध आवाज उठाउन नसक्नुको मुख्य कारण नै सामाजिक बहिष्कार र पारिवारिक विखण्डनको त्रास हो। किनभने पितृसत्ताले यौनिकतालाई महिलाको अस्मिता र चरित्रसँग जोडेर उनीहरूको शोषण गर्दै आएको छ। त्यसैले पनि बलात्कार महिलालाई दिइने सबैभन्दा ठूलो र पीडादायी सजाय बनिरहेको छ। यो कटुयथार्थलाई आत्मसात गर्दै आम महिला आफ्नो पृथक् अस्तित्व र पहिचानतर्पm अग्रसर हुने हो भने मात्र यस्ता घटनाको न्यूनीकरण सम्भव देखिन्छ। यसका लागि महिला सशक्तीकरण, सामाजिक रूपान्तरण तथा महिलाप्रति उत्तरदायी तथा संवेदनशील राज्य व्यवस्थाको आवश्यकता पर्छ।
हाम्रो समाजमा अहिले महिलाको उपस्थिति तीन वर्गमा देखा पर्छ। पहिलो सम्पन्न र सम्भ्रान्त वर्ग जसलाई सबै सुखसुविधा प्राप्त हुन्छ र विभिन्न अवसर प्राप्त गर्न योग्य पनि हुन्छन्। उनीहरूमध्ये अधिकांश अवसरको पर्खाइमा रहेका कारण कि मौन बस्छन् कि पितृसत्ताकै पक्षधर भएर वकालत गर्न पुग्छन्। सीमित संख्यामा रहेको यो वर्गले व्यक्तिगत तहभन्दा माथि उठेर केही गर्न चाहँदैन। दोस्रो मध्यमवर्गीय महिला जो व्यक्तिगत तथा सामाजिक दुवै पक्षमा संघर्षरत देखिन्छन्, यिनीहरू नै परिवर्तनका संवाहक पनि हुन्। महिलाको अर्को ठूलो जमात शिक्षा, राजनीति, चेतना तथा आर्थिक सबै पक्षबाट वञ्चित भएका हुन्छन्। यी निम्नवर्गीय महिलाको अवस्था आज पनि पारिजातको कथा ‘नैकापे सर्किनी’ की पात्र सर्किनीको जस्तै देखिन्छ। समाज, राजनीति, परिवर्तन आदिदेखि पृथक् केवल एक छाक जुटाउनका लागि दिनभर गिट्टी कुट्नमै व्यस्त ! यस्तै वर्गका किशोरीहरूलाई बलात्कृत हुनबाट जोगाउन नसकेपछि गर्भसम्म नरहोस् भनेर अभिभावकले गर्भनिरोधक सुई लगाइदिने गरेको मार्मिक प्रसंग पनि सञ्चारमाध्यममा आएको थियो। यस्तो विषम परिवेशमा राज्यका सम्बन्धित निकायहरू महिलाका समस्याप्रति गम्भीर भएर सर्वप्रथम उनीहरूको आर्थिक तथा चेतनास्तर उकास्नेतर्पm लाग्नुपर्छ। समाजका चेतनशील वर्गले पितृसत्तात्मक मानसिकताबाट मुक्त भएर महिलालाई केवल वस्तुका रूपमा हेर्ने प्रवृत्तिलाई निरुत्साही गर्दै जानुपर्छ।
अहिले हरेक दिन सञ्चारमाध्यममा महिला हिंसाका घटनाले स्थान लिइरहेको देख्दा छोरीका आमाहरूको दिनको भोक तथा रातको निद्रा हराउने अवस्था छ। घरपरिवार, विद्यालय–विश्वविद्यालय, कार्यक्षेत्र, राजनीतिक परिवेश कहींकतै सुरक्षित छैनन् महिला। त्यसैले अचेल मलाई एउटा प्रश्नले सताइरहने गर्दछ– आखिर कुन हो त महिलाको सुरक्षित गन्तव्य ? के अब महिलाले आमूल नारीवादीले भनेजस्तै पुरुषनिषेधित समाजको परिकल्पना गर्दै पुरुषसँगको सहकार्य नै तोड्नुपर्ने हो ? वा महिलाले आफ्नो छुट्टै राज्यसत्ता स्थापनाका लागि पुनः क्रान्ति नै गर्नुपर्ने हो ? अनि बालकृष्ण समको ‘स्वास्नीमान्छे’ नाटकमा झैं त्यो नारी राज्यमा पनि पुरुषहरूको शल्यक्रियाद्वारा भाव परिवर्तन गर्नुपर्ने हो ? आज हरेक महिला शारीरिक या मानसिक रूपमा कुनै न कुनै हिंसाले पीडित भएकै हुन्छन्। यसको कारण पुरुष तथा पुरुषप्रधान मान्यता नै हुने गर्छ। तर पनि उनीहरूका समस्या सुनुवाइ तथा निराकरणको उपयुक्त वातावरण भने कहींकतै देखिँदैन। आखिर के हो महिला जसले सधैं अनि सबैतिर उत्पीडन मात्र झेल्नुपर्ने ?