वडाबाट सेवा पाउनै सकस
बैतडी : बैतडीको सुर्नया गाउँपालिका-८ ढोलेका प्रेमबहादुर बोहरा स्थानीय तहमा जनप्रतिनिधि आउँदा निकै खुसी थिए। हरेक कामका लागि टाढा जानुपर्ने बाध्यता अन्त्य हुने उनले आशा गरे। तर, स्थानीय तहमा जनप्रतिनिधि आएपछि पनि अवस्था फेरिएन। वडामा सचिव नहुँदा अधिकांश कामका लागि गाउँपालिकाको केन्द्र धाउनुपर्ने बाध्यता रहेको उनले सुनाए। उनले भने ‘पहिला गाविसबाट सेवा लिन सजिलो थियो। वडा कार्यालय स्थापना भएयता कर्मचारी नहुँदा सेवा लिन गाउँपालिकामै पुग्नुपर्ने बाध्यता छ।’
जिल्लाको मेलौली नगरपालिका-१ का लक्ष्मण पार्की पनि वडामै पाउने सेवाका लागि नगरपालिका धाउने गर्छन्। वडा कार्यालयमा सचिव नहुँदा वडाबाट पाउने सेवाका लागि नगरपालिकाका धाउनुपरेको उनले गुनासो गरे। उनले भने ‘गाउँमा सिंहदरबार आयो भन्थे। तर, गाउँमा कर्मचारी नै हुँदैनन्। बिनाकर्मचारी कसरी हामीले सेवा पाउनु ? ’
वडामा सचिव नहुँदा सास्ती पाएका यी उदाहरण मात्रै हुन्। जिल्लाका १० वटै स्थानीय तहका वडामा सचिव अभाव हँुदा वडाले प्रदान गर्ने सेवा प्रभावकारी हुन सकेको छैन। जिल्लाका ८४ वडामध्ये ७२ वडा सचिवविहीन रहेका स्थानीय तहले जनाएका छन्। वडामा सचिव नहुँदा सेवा प्रदान गर्न असहज भएको स्वयं जनप्रतिनिधि स्विकार्छन्। ‘हाम्रो गाउँपालिकाका ६ वटै वडामा सुरुदेखि सचिव छैनन्। प्राविधिक सहायकलाई सचिवको जिम्मेवारी दिएर काम गराइरहेका छौं। प्राविधिक सहायक पनि तीन जना मात्रै छन्।’ शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले भने, ‘सचिव नहुँदा सेवाग्राहीलाई समस्या भएको छ। वडामै हुने कामका लागि गाउँपालिका केन्द्र धाउनुपर्ने बाध्यता छ।’
मेलौली नगरपालिकाका ९ वटै वडा सचिवविहीन छन्। वडामा प्राविधिक सहायक, कार्यालय सहायक र सामाजिक परिचालक खटाएर काम भइरहेको नगरपालिकाका नायब सुब्बा प्रेमसिंह विष्टले बताए। उनले भने, ‘वडामा सचिव नहुँदा समस्या भएको छ। कर्मचारी समायोजनपछि झन् समस्या भएको छ। सबै वडा सचिवविहीन भएका छन्।’
दशरथचन्द नगरपालिकामा पनि सचिव अभाव छ। ११ वडा रहेको नगरपालिकामा ४ वटा वडा मात्रै सचिव छन्। जिल्लाको पाटन नगरपालिका १० वटा वडामध्ये ७ वडा सचिवविहीन रहेका नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले बताए। उनले भने, ‘वडामा सचिव नहुँदा सेवा प्रवाहमा निकै समस्या परेको छ।’
जिल्लाको दुर्गम सिगास गाउँपालिकाका ९ वटै वडा सचिवविहीन छन्। ‘प्राविधिक सहायक खटाएर काम गराइरहेका छौं। उनीहरूले अन्य काम पनि गर्नुपरेको छ। कर्मचारी अभावमा वडा कार्यालयका काम प्रभावित भएका छन्।’ गाउँपालिका अध्यक्ष हरिसिंह धामीले भने, ‘नागरिक गुनासो लिएर गाउँपालिका पुग्छन्। कर्मचारीको पदपूर्ति हुन सकेको छैन। सचिव नहुँदा हामीलाई धेरै समस्या भएको छ।’
सुर्नया गाउँपालिका पनि ८ वडा कार्यालयमध्ये सात वडा सचिवविहीन छन्। दोगाडाकेदार गाउँपालिकाका ८ वडामध्ये ६ वडा सचिवविहीन छन्। यस्तै, डिलाशैनी गाउँपालिकाका ७ वडामध्ये एक वडामा मात्रै सचिव रहेको गाउँपालिका प्रवक्ता अक्कल रानाले बताए।
जिल्लाको पुरचौंडी नगरपालिकाका १० वडामध्ये ९ वडा सचिवविहीन रहेको नगर उपप्रमुख जानकी बमले बताइन्। उनले भनिन्, ‘कर्मचारी अभावमा वडादेखि नगरपालिकासम्मको सेवा प्रवाह प्रभावकारी हुन सकेको छैन। कर्मचारी अभावमा नागरिकका गुनासो सम्बोधन हुन सकेको छैन।’
जिल्लाको मेलौली नगरपालिका-१ का वडाध्यक्ष सुरत नेगी वडा कार्यालयमा कर्मचारीको पनि काम गर्छन्। तर, कागजपत्रमा कर्मचारीकै हस्ताक्षर गर्नुपर्ने भएकाले उनलाई समस्या हुने गरेको छ। वडामा सचिव नहुँदा सचिव खोज्दै हिँड्नुपर्ने बाध्यता रही आएको उनले बताए। उनले भने, ‘हामी जनप्रतिनिधिको रूपमा आएको दुई वर्षभन्दा बढी बितिसकेको छ। तर, वडामा सचिवकै समस्या झेलिरहेका छौं। कर्मचारी नहुँदा हामीले गर्ने काम पनि प्रभावित भइरहेका छन्।’