जुवामा प्रहरी आक्रामक
काठमाडौं : दसैं र तिहारमा परिवारसँग बसेर जुवा खेल्नु यसका पारखीले सामान्य मान्छन्। तर संगठित रूपमा जुवा खेल्नुलाई अपराध मानिन्छ। मुलुकी अपराध संहिताको परिच्छेद-५ मा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा सुविधा र नैतिकता विरुद्धका कसुरले जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने स्पष्ट व्याख्या गरिएको छ।
विगतका तीन वर्षको आँकडा हेर्ने हो भने यो वर्ष जुवाको खालमा प्रहरी प्रवेश बढ्दो देखिन्छ। प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७३÷०७४ मा प्रहरीले दुई सय ६ वटा जुवा खालमा छापा मारेको देखिन्छ। जुवा खेल्ने एक हजार पाँच सय चार जना पक्राउ परेका थिए।
१५ जना अझैं फरार छन्। आर्थिक वर्ष २०७४÷०७५ मा तीन सय ५९ वटा जुवाको खालमा छापा मारिएको थियो। जुवा खेल्ने दुई हजार आठ सय २४ जना पक्राउ परेका थिए। तत्कालीन समयमा जुवा खेल्ने ३२ जना अझैं फरार रहेको प्रहरीले जनाएको छ।
त्यसैगरी आर्थिक वर्ष २०७५÷०७६ मा प्रहरीले तीन सय ९१ वटा जुवा खालमा छापा मारेको थियो। जुवा खेल्ने दुई हजार आठ सय ६९ जना पक्राउ परेका थिए। ६ जना अझैं फरार छन्। तिहारमा मात्रै लक्षित गरेर प्रहरीले देशभरका ४३ स्थानमा छापा मारेको थियो। तीन महिलासहित चार सय ६५ जना पक्राउ परेका छन्। कात्तिक तीन देखि १३ गतेसम्म प्रहरीले जुवा अप्रेसन चलाएको थियो।
प्रहरीले जुवा खालबाट तीन करोड ३० लाख रुपैयाँ बरामद गरेको जनाएको छ। एउटै जुवाको खालबाट सर्वाधिक रुपैयाँ बरामद भएको घटना भने कात्तिक १० गतेको हो।
लक्ष्मी पूजाको दिन राजधानीको महाराजगञ्जस्थित पिपलमार्गका विक्रम गौतमको घरमा जुवा खेलिरहेका २५ जनाबाट प्रहरीले दुई करोड ६७ लाख नगद, तीन लाखको चेक, ३२ थान कौडा र चार बुक तास बरामद गरेको थियो। जुवाको खालबाट क्यासिनो किङका रूपमा चिनिने मिटरब्याजी बलराम सापकोटासहित २५ जना पक्राउ परेका थिए।
जुवाको खालबाट बरामद भएको पैसा गन्न मात्रै प्रहरीलाई झण्डै तीन घण्टा लागेको थियो। प्रहरीले अहिले उनीहरूविरुद्ध जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गरेको छ। प्रहरी केन्द्रीय प्रवक्ता डिआइजी विश्वराज पोखरेलले जुवालाई निरूत्साहित गर्ने प्रहरी अभियान चलिरहेको बताए।
उनले भने, ‘जुवाले धेरैको घर उठीवास भएको छ। पति-पत्नीका सम्बन्ध बिग्रिएका छन्। बालबच्चाको बिजोक भएको छ। हामी जुवा निरूत्साहित गर्ने अभियानमा छौं।’ उनले मिनि क्यासिनोकै रूपमा जुवा घर बनाएर संगठीत रुपमा जुवा खेल्ने र खेलाउनेमाथि प्रहरी निगरानी बढाइएको बताए।