रेडियोबाट नेपाली साहित्यलाई उचाइ

रेडियोबाट नेपाली साहित्यलाई उचाइ

काठमाडौं : शुभसन्ध्या, शुभसमय, शुभपल, शुभक्षण, शुभरात्रि भन्दै अच्युत घिमिरे बुलबुल उज्यालोको रात्रि प्रस्तुतिमा एक दशकदेखि हाजिर भइरहेका छन्। २०५६ मंसिरदेखि रेडियो एचबीसीबाट सुरु भएको उनको रेडियो यात्राले २० वर्ष पार गरेको छ। यो लामो रेडियो यात्रामा उनको एउटै विशेषता जोडिएको छ, नेपाली साहित्यको विविध विधाको रचना वाचन। ७० भन्दा बढी एफएमबाट बज्ने बुलबुल, श्रुति संवेग, एकल कविता वाचन कार्यक्रमबाट उनले प्रशस्त साहित्यिक श्रोता कमाएका छन्। पुराण वाचनबाट लट्ठिएझैं उनको पुस्तक वाचनबाट लट्ठिनेको संख्या अनुमान गर्न गाह्रो छ।

उनले कति रचना वाचन गरे होलान्, आफैं अनुमान गर्न सक्तैनन्। उनको अनुमानमा उपन्यास मात्रै एक सय ५० पुगे होलान्। नयाँ, पुराना उपन्यास मिलाएर पढ्ने गरेका छन्। बीपीका प्रायः सबै उपन्यास उनको कार्यक्रममा प्रसारण भइसकेको छ। अच्युत भन्छन्, ‘कृष्ण धरावासीदेखि नीलम कार्की निहारिकासम्मको अनुभवले पुस्तक वाचनले पुस्तकको बजार प्रवद्र्धनमा सहयोग गर्छ। तर प्रकाशकहरू बिक्रीमा असर गर्ला भनेर नयाँ पुस्तक रेडियोमा सकेसम्म नपढियोस् भन्ने चाहना राख्छन्।’ त्यसैले, उनले लेखकका साथै प्रकाशकसँग पनि अनुमति नलिई रेडियोमा पुस्तक वाचन गर्दैनन्। साहित्यमा रेडियोको भूमिका कत्तिको छ ?

बीएन पुस्तक संसारका प्रबन्ध निर्देशक सूर्य बीसी आफ्नो प्रकाशनको ‘दरबारबाहिरकी महारानी’ उपन्यास अच्युतको कार्यक्रममा प्रसारण भएपछि नसोचेको बिक्री भएको बताउँछन्। कथासंग्रहका सबै कथा नभई छानेर वाचन गर्छन् उनी। अराजक खालको वाक्य ‘स्किप’ गर्छन्। उनको विचारमा संग्रहका सबै कथा पढिदिँदा कथाकारले आफ्ना सबै कथा राम्रो भएको अनुमान गर्न सक्छ। ईमेलमा प्राप्त गजल र कविताको स्तर हेरेर पहिले प्राप्त रचनालाई प्राथमिकता दिन्छन् उनी।

रेडियोमा साहित्य वाचनको कन्सेप्टबारे पुराना कुरा सम्झन्छन् उनी। कुरा २०५७ जेठतिरको हो, रेडियो एचबीसीमा इटालियन क्लाउडियो रक्की प्रोजेक्ट म्यानेजर थिए। उनी प्रस्तोताहरूलाई सधैं नयाँ कन्सेप्टको कार्यक्रम गर्न उक्साइरहन्थे। उनले रक्कीलाई धेरै फर्मेट दिए, तर उनले कुनै रुचाएनछन्। शास्त्रीय संगीतको पृष्ठभूमिमा आख्यान वाचन गर्ने कन्सेप्टसँगै नमुना कार्यक्रम सुनाएपछि रक्कीले धाप मार्दै ‘डन’ भने। यसरी अच्युतको श्रुती संवेग, बुलबुललगायत कार्यक्रमको दैलो खुल्यो। रेडियो एचबीसी हुँदै कार्यक्रम उज्यालोमा आइपुग्यो।

उनले सबैभन्दा सुरुमा गुरुप्रसाद मैनालीको कथा ‘चिताको ज्वाला’, दोस्रोमा भैरव अर्यालको ‘महापुरुषको संगत’ हास्य लेख वाचन गरे। पहिले पहिले कार्यक्रमको बीचबीचमा गीत पनि पस्किन्थ्यो, पछि गीतको संख्या कम गर्दै लगियो। अहिले भने गीत पूरै हटाएर वाचनको बीचबीचमा शास्त्रीय धुन मात्रै बजाइन्छ। शास्त्रीय धुन पनि हटाएर रचना वाचन मात्रै गर्दा हुन्न ? भन्ने प्रश्नमा अच्युत भन्छन्, ‘कदापि हुन्न। यही नै त मेरो कार्यक्रमको विशेषता हो।’

रेडियोमा कथा वाचन सुरुमै हिट भयो। अच्युतले वाचन गरेका रचना २०६५ सालपछिको पूरै भेटिन्छ। श्रुति संवेग सर्च गरेर आवश्यकताअनुसार सुन्न सकिन्छ। तर त्यसअघिका एक दशक वाचन गरेका रचना सुरक्षित छैनन्। उनलाई ती रचना सुरक्षित गर्न नसकेकोमा थकथक लाग्छ।

रेडियोमा वाचन गरेको पुस्तकमध्ये हालसम्म कुन पुस्तकले सबैभन्दा बढी सन्तुष्टि दियो भन्ने प्रश्नको उत्तर दिन उनलाई कठिन छ। भन्छन्, ‘एउटालाई मात्रै त कसरी छान्नु। पारिजातको परिभाषित आँखाहरू, डा. वानीरा गिरीको कारागार, नारायण वाग्लेको पल्पसा क्याफे, बुद्धिसागरको कर्णाली ब्लुज, नीलम कार्कीका कथालगायत पुस्तक उनले मन परेरै पढेका हुन्। भन्छन्, ‘पारिजातको परिभाषित आँखाहरूको टुंग्याउनीतिरको वाचनमा भावुक भएर रोक्नु परेको थियो। कृष्ण धराबासीको झोला उपन्यासमा पनि त्यस्तो भयो। धराबासीकै आधा बाटो पढ्दा भने एक ठाउँमा हाँसेरै कार्यक्रमको रेकर्ड आधा घण्टासम्म रोक्नु परेको थियो।’ श्रुति संवेगमा गएको शुक्रबारबाट उनले अमृता लम्सालको ‘हजुरआमाहरूको कथा’ वाचन गर्न थालेका छन्।

रेडियोकर्मी भएर होला, उनलाई रेडियो नै सञ्चारको प्रभावकारी माध्यम लाग्छ। टेलिभिजन हेर्न, पत्रिका पढ्न फुर्सद हुनुपर्छ। तर व्यक्ति जुनसुकै काममा व्यस्त भए पनि कुनामा बजिरहेको रेडियो सुन्न छुट्टै समय छुट्याइरहनु पर्दैन। उनको विचारमा रेडियोमा जति गुणस्तरीय साहित्यिक कार्यक्रमहरू तयार हुँदै जानेछ, साहित्यको विकासमा उति टेवा पुग्दै जान्छ।

निकै समयसम्म अच्युतलाई आफ्नो आवाज रेडियोमै सीमित होस् भन्ने लाग्थ्यो। त्यसैले बाहिरका कुनै कार्यक्रममा सितिमिति खुल्न रुचाउँदैनथे। फेसबुक आईडीमा समेत आफ्नो फोटो कहिल्यै अपलोड गर्दैनथे उनी। २०७३ भदौबाट बुलबुल प्रकाशन खोलेपछि भने उनको बाहिरी दुनियाँसँगको परिचय स्वतः फराकिलो हुँदै गयो। लुकाएको अनुहार सार्वजनिक भयो।

अरूका रचना वाचन गर्ने, बुलबुल प्रकाशन खोलेर अरूका पुस्तक प्रकाशन गर्ने अच्युत के आफैं कुनै पुस्तक सिर्जना गर्दैछन् ? उत्तरमा उनले निराश पारे। रेडियोकर्मको अनुभव सँगालेको किताब तयार गर्दैछन् तर उनी स्वयंलाई थाहा छैन, यसको पूर्ण लेखनपछि प्रकाशनको तिथिमिति कहिले पो जुर्ला ?

साउन अन्तिम साताबाट रेडियोमा एकल कविता वाचन कार्यक्रम स्थगित भएर युट्युबको कार्यक्रममा रूपान्तरण भएको छ। अच्युतले सुन्ने लघुकथा भनेर अर्को युट्युब कार्यक्रम पनि सञ्चालन गरेका छन्। भन्छन्, ‘रेडियो पनि अब पुरानो मिडिया हुन थालेको छ। जमना अब युट्युबजस्तो न्यु मिडियाको भएकाले आफ्नो कार्यक्रम यता पनि सारेको हुँ।’

आख्यान, कविता, गजल वाचन गरिरहेका अच्युत रेडियोमा आजीवन साहित्यिक कार्यक्रममा रमिरहन चाहन्छन्। भन्छन्, ‘रेडियोकर्मीको ऊर्जा नै बोलीले दिने हो। रेडियोमा बोल्न नपाएपछि दाहाल यज्ञनिधिको मुहारको चार्म नै हराएको थियो। म आफ्नो मुहारको चार्म जीवनको अन्तिम घडीसम्म नहराओस् भन्ने चाहन्छु।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.