थबाङमा चुनावी चहलपहल शून्य

थबाङमा चुनावी चहलपहल शून्य

रोल्पा : उप-निर्वाचन हुने मिति नजिकिँदै गएपनि रोल्पाको थबाङ गाउँपालिका १ मा चुनावी चहलपहल सुरु भएको छैन । सधैं चर्चामा रहिरहने थबाङमा चुनावी माहोल शून्यजस्तै छ । थबाङ गाउँपालिका १ का वडाध्यक्ष फर्कबहादुर बुढाको निधन भएकाले यहाँ उपनिर्वाचन हुन लागेको हो। मस्तिष्कघात कारण बुढाको असार ६ गते मृत्यु भएको थियो । 

बुढा नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका स्थानीय नेता भएपनि स्वतन्त्रबाट उम्मेदवार बनेर वडाध्यक्षमा विजयी भएका थिए । पार्टीले चुनाव बहिस्कारको नीति लिएको भएपनि २०७४ असार १४ गतेको स्थानीय तहको निर्वाचनमा थबाङमा विप्लव नेतृत्वको नेकपा सम्बद्ध नेता कार्यकर्ताले स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए ।

नेपाली कांग्रेससँग गठबन्धन गरी चुनावमा भाग लिएका उनीहरु वडा नम्बर २ मा अध्यक्षसहित चार सदस्य विजयी भएका थिए । पूर्व माओवादी केन्द्रको उम्मेदवार ग्रिस पुनमगरलाई स्वतन्त्र उम्मेदवार बुढाले १ सय ३ मत अन्तरले पराजित गरेका थिए । 

बुढाले ३ सय ५९ मत लिएका थिए भने प्रतिद्वन्द्वी पुनमगरले २ सय ५६ मत प्राप्त गरेका थिए।प्रतिबन्धित अवस्थामा विप्लव नेतृत्वको नेकपाका स्थानीय नेताले उपनिर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारी दिने हुन या नदिने भन्ने केही खुलेको छैन । 

चुनाव बहिस्कार नीति लिएकै बेला स्वतन्त्र उम्मेदवार रहेपनि उपनिर्वाचनमा प्रतिबन्धित अवस्थाले अन्यौलता देखिएको छ । 'थबाङमा चुनावमा को को उम्मेदवार होलान् भन्ने चासो लिन थालिएको छ । तर, चुनावी चहलपहल भने छैन, 'स्थानीय समेत रहेका नेपाल पत्रकार महासंघ ५ नम्बर प्रदेश अध्यक्ष मौसम रोकामगरले भने, 'स्वतन्त्र वा अन्य दल कसैले पनि अझैंसम्म उम्मेदवार खडा गरेका छैनन् । प्रचारको काम पनि भएको छैनन्।'

कम्युनिस्ट किल्लाको रुपमा चर्चित थबाङमा कहिले शून्य र कहिले शतप्रतिशत मतदान हुँदै आएको इतिहास छ । चुनाव बहिस्कारको नीति लिएपनि विप्लव नेतृत्वको नेकपाका थबाङी नेता कार्यकर्ताले 'थबाङको सापेक्षता' मा भन्दै स्वतन्त्रबाट स्थानीय चुनावमा भाग लिएपछि फेरि थबाङ चर्चामा आएको थियो । उपनिर्वाचनमा पुनः भाग लिन्छन् या लिदैनन् भन्ने चासो बढेको छ । 

प्रतिबन्धित नेकपाले प्रभाव क्षेत्र मानेको वडा नम्बर २ मा उपचुनाव होला या नहोला ? भए कस्तो होला ? को को चुनावमा उत्रिने हुन् भन्नेबारे गाउँमा चासो छ । प्रतिबन्धित नेकपाका स्थानीय व्यवस्थापनमा स्वतन्त्रबाट उम्मेदवार खडा गर्छन् या गर्दैनन् भनेर पर्ख र हेरको नीतिमा अन्य दलहरु देखिएका छन् । प्रतिबन्धित नेकपाकै कार्यकर्ताले स्वतन्त्रबाट अहिले वडाध्यक्ष पदमा उम्मेदवारी दिएमा अन्य उम्मेदवार नभइदिए हुने भन्ने मनोविज्ञान पनि देखिएको छ ।

नेकपा र कांग्रेसले उम्मेदवार उठाउने

चुनावको मिति नजिकिदै गर्दा सत्ताधारी नेकपा र नेपाली कांग्रेसले उम्मेदवार उठाउने अन्तिम टुंगोमा पुगेका छन् । नेकपा नेता थबाङ पुगेर उम्मेदवार चयनबारे स्थानीय नेता कार्यकर्तासँग परामर्श गरिसकेका छन् । 

केही दिनअघि नेकपा नेता समेत रहेका ५ नम्बर प्रदेश सांसद दिपेन्द्रकुमार पुन र नेकपाका जिल्ला अध्यक्ष सुरेन्द्र घर्ती (थापा) थबाङका पगेका हुन् । 'उम्मेदवार चयनबारे स्थानीय नेता कार्यकर्तासँग परामर्श गरियो, 'अध्यक्ष घर्तीले भने, 'अनौपचारिक रुपमा उम्मेदवार चयन गरिसक्यौं । औपचारिकमा सिफारिस गर्न बाँकी छ ।' स्थानीय चुनावमा प्रतिद्वन्द्वी बनेका ग्रिस पुनमगरलाई नै उम्मेदवार बनाउने नेकपाको रणनीति छ ।

नेपाली कांग्रेसले कमल रोकालाई उम्मेदवार बनाउने भएको छ ।  पूर्व राज्यमन्त्री समेत रहेका नेपाली कांग्रेसका जिल्ला सभापति अमरसिंह पुनले भने, 'स्वतन्त्रबाट कोही उम्मेदवार बने सघाउने भन्ने थियो । त्यो संभावना रहेन । अब कांग्रेसले उमेदवार खडा गर्छ ।'

स्थानीय तहको चुनावमा सहकार्य गरेका विप्लव नेतृत्वको नेकपाले नै पुनः स्वतन्त्र उमेदवार उठाएमा समर्थन गर्ने कांग्रेसको रणनीति थियो । पाँचवटा वडा रहेको थबाङ गाउँपालिकामा एकवटा वडामा स्वतन्त्रले जितेको भएपनि पाँच वडा र गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पूर्व माओवादी केन्द्रले जितेको थियो ।

पूर्व एमाले र माओवादी केन्द्र एकता भएकाले स्वतन्त्र उम्मेदवार बनेन् भने उपनिर्वाचनमा सत्ताधारी नेकपाको प्रभाव रहने देखिन्छ । उपनिर्वाचनबारे विप्लव नेतृत्वको नेकपाले कस्तो रणनीति लिन्छ भन्नेबारे यसै भन्न सकिने अवस्था छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.