बैतडीमा उपचुनावको चहलपहल बढ्यो
बैतडी : जिल्लाको तीन वडामा उपनिर्वाचन हुने भएपछि चुनावी चहलपहल बढ्दै गएको छ । उपनिर्वाचनको परिणाम आफ्नो पक्षमा पार्नका लागि दलहरु आन्तरिक तयारीमा जुटेका छन्।
जिल्लाको सुर्नया गाउँपालिका १, दोगडाकेदार गाउँपालिका ४ र पुर्चौंडी नगरपालिका ४ मा उपनिर्वाचन हुँदैछ । सत्तारुढ नेकपाले तीनवटै वडामा आफ्ना उम्मेद्वार छनौट गरिसकेको छ भने नेपाली कांग्रेसले दोगडाकेदार ४ मा उम्मेद्वारको टुंगो लगाएको छ । अन्य साना दलले उम्मेद्वारीको तयारी गरिरहेका छन् ।
नेकपाले दोगडाकेदार ४ मा नरेन्द्रप्रसाद भट्ट, सुर्नया १ मा धनबहादुर चन्द र पुर्चौंडी ४ मा शैलेन्द्र धानुकलाई उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ । यस्तै नेपाली कांग्रेसले दोगडाकेदार ४ मा सुरेन्द्रप्रसाद भट्टलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । अन्य वडामा छिटै उम्मेद्वारको टुंगो लगाइने नेपाली कांग्रेसका सचिव प्रेमबहादुर चन्दले जानकारी दिए ।
उनले भने, 'वडा कार्यसमितिबाटै सर्वसम्मत उम्मेद्वारको छनौट गर्ने र त्यसैलाई जिल्ला कार्यसमितिले सदर गर्नेछ । बाँकी रहेका दुई वडामा पनि छिट्टै उम्मेद्वारी टुंग्याउछौं ।' उपनिर्वाचन हुने तीनवटै वडामा राप्रपाले पनि उम्मेद्वार छनौटको तयारी गरेको राप्रपाका जिल्ला अध्यक्ष प्रेमबहादुर चन्दले बताए । उपनिर्वाचनमा राप्रपा संयुक्तसँग सहकार्य गरेर अघि बढ्ने उनको भनाई छ ।
तर राप्रपा संयुक्तका जिल्ला अध्यक्ष इन्द्रदेवशरण भट्टले भने राप्रपासँगको सहकार्यका बारेमा अहिले छलफल नभएको तर राप्रपाले सहकार्य गरे आफूहरु तयार रहेको बताए ।
उपनिर्वाचन हुने वडामा दलहरुले प्रचारप्रसार समेत थालिसकेका छन् । गाउँमा कामको चटारो भएकाले उनीहरुले घरघरमै गएर प्रचारप्रसार गर्ने रणनीति समेत अपनाएका छन् ।
मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकिए
जिल्लामा उपनिर्वाचन सम्पन्न गर्नका लागि जिल्ला निर्वाचन कार्यालयले पनि आफ्नो तयारी सुरु गरिसकेको छ । निर्वाचन आयोगले बैतडीमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकिसकेको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले बताए ।
जिल्ला अदालत बैतडीका न्यायधीश ईश्वरीप्रसाद भण्डारीलाई मुख्य निर्वाचन अधिकृत र टेकबहादुर थापा तथा टेकराज जोशीलाई निर्वाचन अधिकृत नियुक्त गरिएको निर्वाचन अधिकारी माधव फुँयालले बताए।
उपनिर्वाचन हुने स्थानीय तहमा कार्तिक २० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर निर्वाचनका गतिविधि अघि बढाइने निर्वाचन अधिकारी फुँयालले जानकारी दिए।