सुनकोशी बस दुर्घटना : १७ को मृत्यु, सातको मात्र सनाखत
दोलखा : दोलखाबाट काठमाडौं जाँदै गरेको शैलुङ्गेश्वर यातायातको बस दुर्घटनामा हुँदा मृत्यु हुनेको संख्या १७ पुगेको छ। अहिलेसम्म मृतकमध्ये सातजनाको मात्र सनाखत भएको छ।
त्रिपुरासुन्दरी गाउँपालिका-४, सिन्धुपाल्चोक जलजलेकी २७ वर्षीया चमेली श्रेष्ठ र उनकी ६ वर्षीया छोरी साइरानी श्रेष्ठ, भीमेश्वर नगरपालिका दोलखाकी २४ वर्षीया रन्जिता केसी, शैलुङ गाउपालिका-३ कि ५१ वर्षीया रत्नकुमारी रावत र दोलखा घर भएका तीन महिनाको शिशु सिसान तामाङको सनाखत भएको सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता डीएसपी माधव काफ्लेले जानकारी दिए।
घाइते ५२ वर्षीय चेतकुमारी बस्नेत र ६ वर्षीय सलिना तामाङको उपचारको क्रममा शिर मेमोरियल अस्पताल बनेपामा मृत्यु भएको काभ्रे प्रहरीले जनाएको छ। मृतक सलिना तामाङ शैलुङ गाउँपालिकाकी हुन् भने बस्नेतको ठेगाना खुल्न सकेको छैन।
दुर्घटनाग्रस्त बसबाट उद्धार गरिएका ४६ जनालाई काभ्रेको धुलिखेल अस्पतालमा उपचारको लागि पुर्याइएको छ।
बसका चालक धनबहादुर तामाङको सिन्धुपाल्चोकको खाडीचौरमा रहेको सदाबहार अस्पतालमा उपचार हुन नसकेपछि धुलिखेल अस्पताल रिफर गरिएको अस्पतालले जनाएको छ।
बोल्न नसक्ने अवस्थामा रहेकोले चालक तामाङलाई थप उपचारका लागि धुलिखेल रिफर गरिएको हो। घाइतेमध्ये अन्य छ जना गम्भीर अवस्थामा रहेको प्रहरीले जनाएको छ।
आइतबार दिउँसो दोलखाको शैलुङ गाउँपालिकाको मागापौवाबाट शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस चौतारा सांगाचोकगढी नगरपालिका-९, सुकुटेस्थित अरनिको राजमार्गबाट सुनकोशी नदीमा खसेर दुर्घटना भएको थियो।