‘उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा’
पोखरा : प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलीयाले उपनिर्वाचनकालागि सम्पूर्ण तयारी पूरा भएको बताएका छन् । पोखरामा आइतबार मूख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलीयाले निर्वाचन आचारसंहिता लगायत सम्पूर्ण तयारी भएको बताए ।
आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि कास्कीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो । स्वच्छ, भयरहित शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले गर्नु पर्ने सम्पूर्ण तयारी पूरा गरेको थपलीयाले जानकारी दिए । शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न स्थानीय, प्रदेश सरकारसंग समन्वय गरि अघि बढ्ने पनि उनले बताए ।
उपनिर्वाचन मिनि जनमत संग्रहको रुपमा हेरिएकोले भयरहित रुपमा निष्पक्ष निर्वाचन हुने उनले सुनाए । जनतालाई मतदान स्थलसम्म आएर ढुक्कसँग मतदान गर्ने गरि शान्तिसुरक्षा कायम हुने उनले बताए । यसका लागि निर्वाचन कार्यालयबाट हुने सम्पूर्ण तयारी पूरा भइसकेको उनले जानकारी दिए । कास्कीमा प्रतिनिधिसभाका निर्वाचन हुने भएकोले यहाँका निर्वाचन अझै विशेष रहेको उनले बताए ।
शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न एकीकृत कार्य तर्जुमा भएको कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए । निर्वाचन बहिस्कार गर्ने राजनीतिक समूहबाट हुन सक्ने खतरा, निर्वाचनका प्रमुख प्रतिस्पधी पार्टीबिच हुन सक्ने बिबादलाई समेत ध्यानमा राखेर सुरक्षा व्यवस्था मिलाइने गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्रालयका सचिव किरण राज शर्माले बताए ।
कास्कीमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरिसकेको छ । देश भरकै एक मात्र प्रतिनिधिसभा क्षेत्रको निर्वाचन अन्तर्गत कास्कीको क्षेत्र नम्बर २ मा यस अघि रविन्द्र अधिकारी विजयी भएका थिए । फागुन १५ गते हेलिकप्टर दुर्घट्नामा अधिकारीको निधन भएपछि रिक्त क्षेत्रमा मंसिर १४ गते उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा स्वर्गीय अधिकारीकी पत्नी विद्या भट्टराई नेकपाले उम्मेदवार बनाएको छ ।
यस क्षेत्रमा ७१ हजार ८ सय ७१ मतदाता संख्या रहेको छ । यस अघि यस क्षेत्रमा ७० हजार ६ सय ५१ म्तदाता थिए । जिल्ला निर्वाचन कार्यालय कास्कीले दिएको तथ्यांक अनुसार यस पटकको उपनिर्वाचनमा पनि साविककै केन्द्र ८२ र ३२ मतदान स्थल तोकिएको छ ।
उपनिर्वाचनका लागि मुलुकका ३७ जिल्लामा ४८ वटा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ । प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, उपमहानगरपालिका प्रमख एक, गाउँपालिका अध्यग तीन, उपाध्यक्ष एक र ४३ वडा अध्यक्ष पदका लागि निर्वाचन हुँदै छ ।