मन्त्रिपरिषद् बैठक : राष्ट्रिपति समक्ष नयाँ प्रदेश प्रमुख सिफारिस गरिँदै
काठमाडौं : राष्ट्रिपति समक्ष नयाँ प्रदेश प्रमुख सिफारिस गर्न मन्त्रिपरिषद् बैठक बसेको छ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयले चयन गरेका प्रदेश प्रमुखको नाम राष्ट्रिपति समक्ष सिफारिस गर्न सोमबार दिउँसो मन्त्रिपरिषद् बैठक बसिरहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेनत अधिकारीले जानकारी दिए।
सोमबार बिहान बसेको नेकपा सचिवालय बैठकले गोविन्द कलौनी (डडेलधुरा), अमिक शेरचन (चितवन), सोमनाथ प्यासी (काश्की), तिलक परियार (बाँके), शर्मिला पाण्डे (काठमाडौं), विष्णु प्रसाईं (झापा) र धर्मनाथ यादव (सिरहा)लाई प्रदेश प्रमुखका लागि चयन गरेको छ।
आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी थिइन्। सरकारले आइतबार बेलुकी नै मन्त्रिपरिषद् बैठक डाकेर प्रदेश प्रमुख सिफारिस गर्ने भनिएपनि नेकपा सचिवालय बैठकमा प्रदेश प्रमुखका नाममा सहमति बन्न सकेको थिएन।