सुन्दर कुरूपले ल्याए ‘पृथ्वीको आविष्कार’
काठमाडौं : कवि सुन्दर कुरूपले कविता संग्रह ‘पृथ्वीको आविष्कार’ बजारमा ल्याएका छन् । काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा कवि वैरागी काइँला, हाङयुग अज्ञात र नेतृ मानुषी यमी भट्टराईले कृति लोकार्पण गरेका हुन् ।
कुरूपका कविता बलशाली रहेको उनीहरूले टिप्पणी गरेका थिए । यो कृति सांग्रिला पुस्तक प्रालिले प्रकाशन गरेको हो । यसमा ‘बोजूको खोकी’, ‘नयाँ ईश्वर’, ‘जिग्री लुङा’, ‘खतरनाक मान्छे’, ‘लालमाया धिमालको मुस्कान’, ‘पृथ्वीको आविष्कार’, ‘बाहुन बाजेको सम्झना’, ‘रक्सी नपिएको साँझ’, ‘काँसे डबका’, ‘फूलकुमार चोक’सहित ३७ वटा कविता संग्रहित छन् ।
कवि सुन्दर अहिलेको पुस्ताका कविको भीडमा सशक्तमध्ये एक रहेको वक्ताहरुको टिप्पणी थियो । इलाम चुलाचुलीका कवि सुन्दर पूर्वी जिल्लातिर हुने साहित्यिक अभियानमा पनि सक्रिय छन् ।
कार्यक्रममा कवि वैरागी काइँलाले कविहरुले आफ्नो पहिचान झल्किने कविता लेख्नुपर्ने बिचार व्यक्त गरेका थिए । यस्तै कवि तथा लेखक हाङयुग अज्ञातले नयाँ पुस्ताका कविहरुलाई सचेतताका साथ कविता लेख्न सुझाव दिएका थिए ।