बयानका लागि आलमलाई अदालत लगियो
रौतहट : हत्या आरोपमा पक्राउ परेका निलम्वित सांसद मो. अफताव आलमलाई अदालतमा बयानका लागि लगिएको छ । जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासमा नेता आलमको बयान हुनेछ।
आलमलाई ३२ वर्ष कैद माग गर्दै सोमबार जिल्ला अदालतमा मुद्धा दर्ता भएको थियो । कर्तव्य ज्यान, ज्यान मार्ने उधोग, विस्फोटक पदार्थसम्बन्धी मुद्धा दर्ता गरिएको हो । मंगलबार पक्ष तथा विपक्षमा रहेका कानुन व्यवसायीलाई मिसिलको नक्कल वितरण तथा आलमसँग बयान लिइने जिल्ला न्यायधिवक्ता खडिन्द्रराज कटुवालले जानकारी दिए।
२०६४ साल चैत्र २७ गते चुनावमा धाधली गर्नका लागि ल्याइएको बम आलमका काका शेष इद्रिसको गोठमा विष्फोट हुँदा घाइते तथा मृत्यु भएकालाई इँटा भट्टामा जलाएको आरोपमा अनुसन्धानका लागि गत असोज २६ गते नेता आलम पक्राउ परेका थिए ।
सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले २०७५ चैत ८ गते पछिल्लो पटक जिल्ला प्रहरी कार्यालयलाई मुद्दाको अनुशन्धान गर्न पत्राचार गरेपछि घटनाका मुख्य आरोपी भनिएका नेता आलम पक्राउ परेको हुन्।
सरकारीपक्षबाट सह-न्यायधिवक्ता सूर्यराज दाहाल, उपन्यायधिवक्ता अर्जुन कोइराला र पर्सा जिल्लाका न्यायधिवक्ता रुद्रप्रसाद पन्थीले बहस गर्नेछन्। यस्तै पीडितको पक्षबाट एकदर्जन कानुन व्यवसायीले बहस गर्ने बताइएको छ । आलम पक्षले दुई दर्जन बढी कानुन व्यवसायी बहसका लागि तयारीमा छन्।
रौतहटको यमुनामाइ गाउँपालिका ४ का त्रिलोक प्रतापसिंहका बावु श्रीनारायण सिंह र ओसी अख्तरका आमा रोक्साना खातुनले सांसद आलम, उनका भाइ मो.महताब आलमविरुद्ध किटानी जाहेरी दिएका थिए।
साथै मोविन आलम, शेख भदई र शेख सवेज त्रिलोक र ओसिलाई बम बिस्फोटन पछि घाइतेलाई इँटाभट्टामा हालेर मारेको भन्दै कर्तव्य ज्यान मुद्धामा किटानी जाहेरी दिएका थिए।