५० वर्षमा जन्मिएको छोरा सुनकोशीले खायो
काटाकुटी, दोलखा : आइतबार चौतारा साँगाचोकगढी नगरपालिका ९ को सुकुटेस्थित सुनकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका १४ वर्षीय रिकेश खड्का ६४ वर्षीय हरिबहादुर खड्काका एक्ला सन्तान हुन् ।
दुईवटा विवाहबाट सन्तान नजन्मिएपछि तेस्रो विवाह गरेका हरिबहादुरको ५० वर्षको उमेरमा जन्मिएको एक्लो छोराको समेत दुर्घटनामा मृत्यु भएपछि उनी गहिरो पीडामा छन् । छोरालाई इन्जिनियर बनाएर विकासमा लगाउने खड्काको इच्छा सुनकोशीमा क्षणभरमै विलिन भयो।
सोही दुर्घटनामा ज्यान गुमाएकी २० वर्षीय कविता राउतको सरकारी जागिर खाएर अधिकृत बन्ने लक्ष्य रहेको उनकी फुपू सरस्वती राउतले बताइन् । सदरमुकामको कालिञ्चोक माविबाट भर्खरै एजुकेशन साइन्समा प्लसटुमा ३ दशमलब ४१ जीपीएसहित क्याम्पस प्रथम भएकी थिइन। सरकारी जागिरको तयारी कक्षा र स्नातक तहको पढाइका लागि भर्ना हुने लक्ष्यसहित बिहान हाँसीखुशी बस चढेकी कविताको मृत्युको खबरले उनकी आमा अम्बिका राउत छिन छिनमा मुर्छा पर्छिन्।
बस दुर्घटनामा छोराको मृत्युको खबर सुनेका खड्का र छोरीको मृत्युको खबर सुनेकी अम्बिका बोल्न नसक्ने अवस्थामा छन्। सोमबार दिउँसो २ बजे शैलुङ गाउँपालिका ५, काटाकुटीको खड्का र राउतको टोल पुग्दा सुनसान थियो।
काटाकुटीमा रहेको टिकट काउण्टरबाट आइतबार आफैंले टिकट काटेर पठाएका आफन्त तथा छिमेकीमा सन्नाटा छाएको थियो। सान्त्वना दिन मृतकको घरमा पुगेका छिमेकी पनि एकअर्काको अनुहार हेर्दै टुलुटुलु हेरिरहेका थिए। आँशु झार्नु बाहेक विकल्प थिएन।
आइतबार सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा परी काटाकुटीमा मात्र ९ जनाको मृत्यु भएको छ।'गाउँका धेरै मानिस दुर्घटनास्थल सिन्धुपाल्चोक गएका छन्, गाउँ शोकमग्न छ,' एक मृतकका छिमेकी ६९ वर्षीय बिर्खबहादुर खत्रीले भने।
दुर्घटनामा ९ जनाको मृत्यु भएको शैलुङ गाउँपालिका ५ काटाकुटी गाउँ । तस्बिर : रवीन्द्र गौतम
शैलुङ्गेश्वरी यातायातको बा२ख ७२४५ नम्बरको बस दुर्घटनामा ५२ वर्षीय चेतकुमारी बस्नेत, उनको भदा १४ वर्षीय रिकेश खड्का, ४५ वर्षीय रत्नकुमारी राउत, उनको छोरा २९ वर्षीय किरण राउत, २० वर्षीय कविता राउत, ३८ वर्षीय सानु राउत आले, २४ वर्षीय रञ्जीता केसी बस्नेत, ३२ वर्षीय निर्मला खड्का र १४ वर्षीय निकेश खड्कासहित ९ जनाको मृत्यु भएको हो। मृतक सबै शैलुङ गाउँपालिका ५ काटाकुटीको भएको गाउँपालिका अध्यक्ष भरतप्रसाद दुलालले बताए ।
दुर्घटनामा शैलुङ गाउँपालिका ४ को ६ वर्षीया सलिना तमाङ, १४ वर्षीय दियुन लामा (दिल) र ५ वर्षीया सजिना तमाङ गरी तीनजनाको मृत्यु भएको छ। यस्तै वडा नम्बर ३ बागखोर माइती भएकी २७ वर्षीय चमेली श्रेष्ठ (घर सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका ४), उनकी छोरी ६ वर्षीय सायरानी श्रेष्ठको पनि सोही दुर्घटनामा परी मृत्यु भएको छ।
यस्तै वडा नम्बर ३ कै तीन महिनाको बालक सिसन तमाङसहित तीनजना, वडा नम्बर २ को ७० वर्षीय उरमाया मोक्तान, चितवन जिल्लाको पटीहानिको ५६ वर्षीय पूजा वस्नेत र उदयपुर जिल्ला चौरण्डी नगरपालिका ६ का २३ वर्षीय विजय तमाङ गरी जम्मा १८ जनाको मृत्यु भएको सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले बताए।
मृतकमध्ये ७ जनाको मंगलबार भोटेकोशीमा सामूहिक दाहसंस्कार गरिसकिएको गाउँपालिका अध्यक्ष दुलालले जानकारी दिए । दुर्घटनामा शैलुङ गाउँपालिकाको मात्र १६ जनाको मृत्यु भएकाले शोक प्रकट गर्न सोमबार गाउँपालिकामा सार्वजनिक विदा र प्रतिमृतक काजकिरियाका लागि २० हजार उपलब्ध गराइने अध्यक्ष दुलालले बताए ।