बाह्र दिन, बाह्र लीला
काठमाडौं : रात झमक्कै परिसक्यो। चिसो बतास चलिरहेछ। पाटन दरबार क्षेत्रमा मानिसको चहलपहल झन्झन् बाक्लिँदै छ। बच्चा, युवा, वृद्ध सबै उमेरसमूहको जमघट छ त्यहाँ। ललितपुरमा मनाइने प्रसिद्ध कार्तिक नाच सुरु भएपछि दरबार क्षेत्रमा हरेक रात प्रचलित लोकनृत्य हेर्नेको ठूलै भीड लाग्छ।
यो नृत्य ललितपुरको सबैभन्दा लामो समयावधिसम्म चल्ने नृत्य हो। कुनै समय यो नाच कात्तिक महिनाभर देखाइन्थ्यो। तर हाल १२ दिनसम्म मात्र सञ्चालन हुन्छ। कार्तिक नाच संरक्षण समितिले यो वर्ष कार्तिक नाचलाई ‘सुदामा प्याखँ’ देखाएर सुरु गर्ने र दधि लीला (धौ गोप तछ्यायुगु) देखाएर समाप्त गर्ने भएको छ। यसमा सामाजिक, आर्थिक, धार्मिक रूपमा महत्व राख्ने लोकनाटक तथा लोकनृत्य समावेश गरिन्छ।
कार्तिक नाचलाई नेवारी भाषामा ‘कातीप्याखँ’ भनिन्छ। यो नाचलाई ललितपुरका मध्यकालीन राजा सिद्धिनरसिंह मल्लले विसं १६९७ बाट सञ्चालनमा ल्याएका थिए। ललितपुरको पारम्परिक नृत्यमध्ये कार्तिक नाच बेग्लै छ। मध्यकालमा यो नृत्यलाई तीनपुस्ते मल्ल राजाले सञ्चालन गरेको पाइन्छ। सिद्धिनरसिंह मल्लले आठ दिन, उनका छोरा श्रीनिवास मल्लले १५ र नाति योगनरेन्द्र मल्लले २७ दिनसम्म सञ्चालनमा ल्याए। २०७० सालबाट यो नृत्यलाई आठ दिनबाट १२ दिनसम्म पुर्याइएको हो।
यो वर्ष नाचमा नरसिंह अवतार (हिरण्यकश्यपु वध), वराह अवतार (हिरण्याक्ष वध), देवी नाच, युद्ध कला, बाथः प्याखँ, भक्त सुरदास प्याखँ, जलशयण (मधुकैटव वध) सञ्चालन गरिने कार्तिक नाच संरक्षण समितिले जनाएको छ। यस वर्ष १२ दिनसम्म बाह्र लीला देखाइँदै छ जसमा नरसिंह अवतार मुख्य आकर्षणमध्ये एक हो।
यो नाचलाई कृष्ण मन्दिरमा पूजा गर्ने पुजारी ब्राह्मणले मात्र नाच्ने गर्छन्। राजा सिद्धिनरसिंह मल्लले सुरुआत गरेको यो नाच हिरण्यकश्यपुले मानिसलाई अन्याय, अत्याचार गर्दै दुःख दिएको कथा र राक्षसको वधका घटनासँग सम्बन्धित छ। भगवान् विष्णुका दस अवतारमध्ये चारौं अवतार नरसिंहको हो। नरसिंहले हिरण्यकश्यपुलाई बध गरेको विषय नृत्यमार्फत देखाइन्छ। नरसिंहको शरीर मान्छेको र अनुहार सिंहको हुन्छ।
सिंहको जस्तो मुकुट लगाएर यो नाच विभिन्न बाजागाजासहित नाचिन्छ। यो नाचमा खिं नामक बाजा बजाइन्छ। सुरुमा दैत्यहरू नाच्छन्। नृत्यसँगै चल्ने कथा निकै रोचक हुन्छ। हिरण्यकश्यपुकी बहिनी प्रह्लादलाई मार्न आफ्नो काखमा राखेर आगोमा बसेकी हुन्छिन् तर प्रह्लादलाई केही हुन्न। उल्टै हिरण्यकश्यपुकी बहिनी भष्म हुन्छिन्। दैत्यले प्रह्लादलाई तेरो विष्णु भगवान् कहाँ छन् भनी सोध्दा उनले जहाँ पनि छन्, उनी यो खम्बामा पनि छन् भन्ने उत्तर दिन्छन्। प्रह्लादलाई सोही खम्बामा बाँधेर राख्दा नरसिंह खम्बा फोडेर प्रकट हुन्छन् र दैत्यहरूको संहार गर्छन्।
कार्तिक नाच लोकसाहित्यसँग जोडिएको निकै रोचक नृत्य भए पनि यसको सञ्चालन गर्न त्यति नै गाह्रो छ। नाचका लागि कलाकारहरू महिनौंसम्म अभ्यासमा जुट्नुपर्ने हुन्छ। यसपालिको नाचका लागि भदौदेखि नै कलाकार अभ्यासमा जुटेको नाचका कलाकार प्रतापधर शर्मा बताउँछन्। प्रत्येक बेलुकी देखाइने फरक फरक नाचका लागि सोहीअनुसार कलाकार जुटाउनुपर्ने हुन्छ। ७ बजे सुरु हुने नृत्य नाटक १० बजेसम्म सञ्चालन हुन्छ।
यो नाच आफैंमा खर्चिलो छ। यसलाई महिनाभर सञ्चालनमा ल्याउन नसक्नुको कारण पनि आर्थिक अभाव नै हो। कार्तिक नाच समितिका सदस्य सञ्जय राजोपाध्यायका अनुसार १२ दिनका लागि मात्र १५ लाख रुपैयाँ खर्च हुन्छ। ‘महिना दिनसम्म चलाउन पचास लाखभन्दा बढी बजेट आवश्यक हुन्छ’, राजोपाध्यायले भने, ‘प्रत्येक दिन कम्तीमा ४५ कलाकर नृत्यमा सहभागी हुन्छन्।’
यो नाच कुनै समय कात्तिक महिनाभर सञ्चालन गरिने भए पनि हाल यसको समयावधि छोट्टिएको बताउँछन् कार्तिक नाच समितिका सदस्य सञ्जय शर्मा राजोपाध्याय। ‘बजेट र व्यवस्थापनको अभावका कारण नाचलाई महिनाभर सञ्चालनमा ल्याउन नसकिएको हो’, उनले भने। अर्को वर्षबाट प्रत्येक पाँच वर्षको एक पटक पूरै कात्तिक महिनाभर नृत्य सञ्चालनमा ल्याउने तयारी भइरहेको पनि उनले बताए।