सुनकोसी दुर्घटना : सिंगै गाउँ स्तब्ध, रोकिएन आँशु

सुनकोसी दुर्घटना : सिंगै गाउँ स्तब्ध, रोकिएन आँशु

दोलखा : सिन्धुपाल्चोकको सुकुटेस्थित सुनकोसीमा आइतबार भएको बस दुर्घटनामा ज्यान गुमाएका १८ जनामध्ये १४ वर्षीय रिकेश खड्का ६४ वर्षीय हरिबहादुरको एक्लो सन्तान हुन्। दुई वटा विवाहबाट समेत सन्तानको जायजन्म नभएपछि तेस्रो बिहेपश्चात् जन्मिएका रिकेशको दुर्घटनामा मृत्यु भएपछि हरिबहादुर सन्तानको पीडामा छटपटाइरहेका छन्। छोरालाई इन्जिनियर बनाएर विकासमा लगाउने खड्काको लक्ष्य सपनामा सीमित भएको छ।

सोही दुर्घटनामा ज्यान गुमाएकी २० वर्षीय कविता राउतको सरकारी जागिर खाएर अधिकृत बन्ने लक्ष्य रहेको उनकी फुपू सरस्वतीले बताइन्। सदरमुकामको कालिञ्चोक माविबाट भर्खरै एजुकेसन साइन्सको प्लसटुमा ३ दशमलव ४१ जीपीएसहित क्याम्पस प्रथम भएकी राउत सरकारी जागिरको तयारी कक्षा र स्नातक तहको पढाइका लागि भर्ना हुने लक्ष्यसहित बिहान हाँसीखुसी बस चढेकी थिइन्। कविताको मृत्युको खबरले उनकी आमा अम्बिका राउत छिन–छिनमा मुर्छा पर्छिन्।

बस दुर्घटनामा छोराको मृत्युको खबर सुनेका खड्का र छोरीको मृत्युको खबर सुनेकी अम्बिका आँसु पनि झार्न नसक्ने अवस्थामा पुगेका छन्। सोमबार दिउँसो २ बजे शैलुङ गाउँपालिका–५, काटाकुटीको खड्का र राउत टोलमा पुग्दा कोही कसैसँग बोलिरहेका थिएनन्। काटाकुटीमा रहेको टिकट काउन्टरबाट आइतबार आफैँले टिकट काटेर पठाएको बस दुर्घटनामा ज्यान गुमाएकाहरूका आफन्त तथा छिमेकीमा सन्नाटा छाएको थियो। बस दुर्घटनामा करिब दुई सय घर रहेको काटाकुटीको हरेक टोलमा कोही न कोहीको मृत्यु भएको छ।

छिमेकीहरू कसको घरमा गएर के भन्नेबारे अन्योल परेका देखिन्छन्। मृतकका आफन्तको घरमा पुगेका छिमेकी पनि एकअर्काको अनुहार हेर्ने र आँसु झार्नेबाहेक कसैको गलाबाट केही शब्द निस्किएको थिएन।

आइतबार सिन्धुपाल्चोकको सुकुटेमा भएको यात्रुवाहक बस दुर्घटनामा परी काटाकुटीका मात्र ९ जनाको मृत्यु भएपछि शोकमग्न काटाकुटी गाउँ सुनसान बनेको छ। ‘गाउँका धेरै मानिस दुर्घटनास्थल सिन्धुपाल्चोक गएका छन्, त्यसैले शोकमग्न यो गाउँ सुनसान भएको’, मृतकका छिमेकी ६९ वर्षीय बिर्खबहादुर खत्रीले भने।

शैलुंगेश्वरी यातायातको बा.२ख ७२४५ नम्बरको बस दुर्घटनामा ५२ वर्षीय चेतकुमारी बस्नेत, उनको भदा १४ वर्षीय रिकेश खड्का, ४५ वर्षीय रत्नकुमारी राउत, उनको छोरा २९ वर्षीय किरण राउत, २० वर्षीय कविता राउत, ३८ वर्षीय सानु राउत आले, २४ वर्षीय रञ्जिता केसी बस्नेत, ३२ वर्षका निर्मला खड्का र १४ वर्षका निकेश खड्कासहित ९ जनाको मृत्यु भएका सबै शैलुङ गाउँपालिका–५, काटाकुटीको भएको गाउँपालिका अध्यक्ष भरतप्रसाद दुलालले जानकारी दिए।

दुर्घटनामा शैलुङ गाउँपालिका–४ को ६ वर्षकी सलिना तमाङ, १४ वर्षका दियुन लामा (दिल) र ५ वर्षका सजिना तामाङ गरी तीन जना, वडा नम्बर ३ बागखोर माइती भएकी २७ वर्षकी चमेली श्रेष्ठ (घर सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–४), उनकी छोरी ६ वर्षकी सायरानी श्रेष्ठ र वडा नम्बर ३ कै तीन महिनाको बालक सिसन तामाङसहित तीन जना, वडा नम्बर २ को ७० वर्षको उरमाया मोक्तान, चितवन जिल्लाको पटिहानीको ५६ वर्षीया पूजा बस्नेत र उदयपुर जिल्ला चौरण्डी नगरपालिका–६ का २३ वर्षीय विजय तामाङ गरी जम्मा १८ जनाको मृत्यु भएको सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले बताए।

मृतकमध्ये ७ जनाको मंगलबार भोटेकोसीमै सामूहिक दाहसंस्कारसमेत गरिसकिएको गाउँपालिका अध्यक्ष दुलालले जानकारी दिए। दुर्घटनामा शैलुङ गाउँपालिकाको मात्र १६ जनाको मृत्यु भएकाले शोक प्रकट गर्न सोमबार गाउँपालिकामा सार्वजनिक बिदा र प्रतिमृतक काजकिरियाका लागि २० हजार उपलब्ध गराइने अध्यक्ष दुलालले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.