बागलुङमा जनमोर्चाका शाही उम्मेदवार
बागलुङ : प्रदेश सभा सदस्यको उपनिर्वाचनमा बागलुङमा बामगठबन्धनबाट साझा उम्मेदवार चयन गरिएको छ । आगामी मंसिर १४ मा हुने बागलुङ क्षेत्र नम्बर २ को 'ख' का लागि गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका खिम बिक्रम शाही उम्मेदवार बनेका हुन् । राजमोको मंगलबारको बैठकले शाहीलाई उम्मेदवार बनाउने निर्णय गरेको राजमो जिल्ला अध्यक्ष अमर थापाले बताए ।
राजमोले उम्मेदवार चयनका लागि शाही सहित जिल्ला उपाध्यक्ष धर्म कुवर र गौरीश्वर पाण्डेको नाम सिफारिस गरेको थियो । नेपाल कम्युनिस्ट पार्टीले भने यसअघि नै बागलुङमा राजमोलाई सघाउने निर्णय गरिसकेको छ । कांग्रेसले भने अझै उम्मेदवार टुंगो लगाइसकेको छैन।
यस क्षेत्रबाट प्रदेश सभा सदस्य बनेका राजमोका टेकबहादुर घर्तीको उपचारका क्रममा निधन भएपछि उपचुनाव हुन लागेको हो । यसअघिको चुनावमा पनि राजमो र तत्कालिन नेकपा एमाले, माओवादी केन्द्रको गठबन्धन बनेको थियो । यस क्षेत्रमा ३६ हजार ९ सय मतदाता उपचुनावमा सहभागी हुँदैछन्।