पाँचपल्ट सूचना निकाल्दा पनि रकम लिन आएनन् अस्थायी शिक्षक

पाँचपल्ट सूचना निकाल्दा पनि रकम लिन आएनन् अस्थायी शिक्षक

काठमाडौं : आन्तरिक प्रतिस्पर्धामा अनुत्तीर्ण भएपछि 'गोल्डेन ह्याण्डसेक' लिएर सेवाबाट अवकास भएका अस्थायी शिक्षक पटक-पटक अनुरोध गर्दा पनि रकम लिन आएका छैनन् । सामुदायिक विद्यालयमा शिक्षण पेशालाई निरन्तरता दिन नपाउने भएपछि उनीहरुलाई सेवा अवधि गणना गरेर रकम दिने व्यवस्था सरकारले गरेको छ । अस्थायी शिक्षकलाई व्यवस्थापन गर्न शिक्षक सेवा आयोगले गत वर्ष आन्तरिक प्रतिस्पर्धा गराएर परीक्षा लिएको थियो ।

प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका गरेर २२ हजार ७६ कोटामा २३ हजार ३ सय ८६ अस्थायी शिक्षकले प्रतिस्पर्धा गरेका थिए । तीमध्ये करिब ११ हजार शिक्षक मात्र परीक्षामा उत्तीर्ण भएका थिए । बाँकीलाई गोल्डेन ह्याण्डसेक दिएर घर पठाउने शिक्षा ऐनमा व्यवस्था छ ।

उनीहरुको सेवा अवधि अनुसार पाँच देखि दश वर्ष, दशदेखि पन्ध्र वर्ष र त्यो भन्दा माथिका समेत गरि तीन तहमा आर्थिक सहायत दिनुपर्ने कानुनी व्यवस्था छ । पहिलो तहका शिक्षकलाई प्रति वर्ष हिसाब गरेर आधा महिना बराबरको रकम दिइनेछ ।

दोस्रो र तेश्रो तहका शिक्षकले क्रमसः प्रति वर्षको हिसाब गरेर एक महिना र ४५ दिनको तलब बराबरको रकम पाउने विद्यालय शिक्षक किताब खानाका उपसचिव रविन्द्र बुढाप्रिथीले जानकारी दिए । उनका अनुसार २० वर्ष भन्दा माथि जति वर्ष काम गरेपनि उनीहरुले ४५ दिन बराबरकै तलब पाउनेछन् ।

तर अनुत्तीर्ण भएका शिक्षकलाई आवश्यक कागज पत्र पेश गरेर रकम दावि गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पाँच पटक सार्वजनिक सूचना जारी गरिसकेको छ । तरपनि रकम लिन योग्य थुप्रै शिक्षकले कागजपत्र नबुझाएको केन्द्रले बताएको छ । 

यस्ता शिक्षकलाई अन्तिम मौका भन्दै केन्द्रले कात्तिक ७ गते चौथो पटक सार्वजनिक अनुरोध गरेको छ । यसअघि गत चैत २५, वैशाख २०, जेठ ३ र असार २९ गते पनि केन्द्रले सूचना जारी गरेको थियो ।

पछिल्लो पटकको सूचना मार्फत केन्द्रले कात्तिक २० गतेभित्रमा दावि नगर्ने शिक्षकलाई आवश्यक सुविधा दिन केन्द्र वाध्य नहुने र सेवा सुविधाबाट बञ्चित भएमा सम्बन्धित व्यक्ति नै जिम्मेवार हुने चेतावनी दिएको छ। विवरण नपठाउनेमध्ये दुई नम्बर प्रदेशका जिल्लाका अस्थायी शिक्षक धेरै छन् ।

राजनितिक दलका नेताहरुले अनुत्तीर्ण स्थायी गराउने आश्वासन दिएकाले विवरण बुझाउन आनाकानी गरेको शिक्षाका एक अधिकारीले बताए । तर परीक्षामा अनुत्तीर्ण शिक्षकलाई स्थायी गराउन मिल्ने कुनै पनि कानुनी व्यवस्था छैन । शिक्षक सेवा आयोगले परीक्षा लिएर उत्तीर्ण भएका शिक्षकलाई पदस्थापनाका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सिफारिस गरिसकेको छ । उनीहरुले यसअघि नै पढाउन समेत सुरु गरिसकेका छन् ।

अनुत्तीर्ण भएका शिक्षकले जिल्लामा रहेको शिक्षा विकास तथा समन्वय इकाइमा आवश्यक कागजपत्र बुझाउनुपर्ने हुन्छ । ७७ वटै जिल्लामा यस्तो इकाइ छ । इकाइले शिक्षकका कागजपत्र प्रमाणित गरेपछि रकम निकासाका लागि केन्द्रमा रहेको विद्यालय शिक्षक किताव खानामा सिफारिस गर्छ।

किताव खानाले त्यही कागजको आधारमा फेरि इकाइमै रकम निकासा गर्छ । परीक्षामा अनुत्तीर्ण शिक्षकले इकाइबाट रकम लिन पाउँछन् । किताबखानाले पहिलो चरणमा गत आर्थिक वर्षमा छुट्टयाइएको ५ अर्ब २५ करोड रुपैयाँ रकम वितरण गरिरहेको छ । सबै अस्थायी शिक्षकलाई घर फिर्ता पठाउँदा ९ अर्बको हाराहारीमा रकम लाग्ने अनुमान छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.