धरानको मेयरमा साझा पार्टीको उम्मेदवार बने राजन श्रेष्ठ
काठमाडौं : साझा पार्टीले राजनकुमार श्रेष्ठलाई धरान उपमहानगरपालिकाको उम्मेदवार बनाउने निर्णय गरेको छ।
सामाजिक र राजनीतिक अभियन्ताको रुपमा सक्रिय श्रेष्ठ धरानका बासिन्दा हुन्। पार्टीले मेयरको उम्मेदवार बनाएपछि उनले आफू निर्वाचित भएको खण्डमा धरान उपमहानगरपालिका भित्र दीर्घकालीन खानेपानीको व्यवस्था गर्ने, बसपार्कको उचित व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएका छन्।
उनले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई व्यवस्थित तथा सुविधायुक्त बनाउन पहल गर्ने पनि बताएका छन्।
प्रवक्ता सूर्यराज आचार्यका अनुसार साझा पार्टीले यस अघि कास्कीको निर्वाचन क्षेत्र नम्बर २, भक्तपुर क्षेत्र नम्बर १ को प्रदेश (क) र दाङ क्षेत्र नम्बर ३ को प्रदेश (ख) मा उमेदवार घोषणा गरिसकेको छ।