कास्की २ मा विद्याले गरिन् मनोनयन दर्ता
पोखरा :कास्की २ मा प्रतिनिधि सभा सदस्यका लागि १४ मंसिरमा हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की विद्या भट्टराईले १० :३५ बजे उम्मेदवारी दर्ता गराएकी छन् । उनको उम्मेदवारीमा गण्डकी प्रदेश सभा सदस्यसमेत रहेका नेकपा कास्की अध्यक्ष कृष्ण थापा प्रस्तावक र प्रदेश सभा सदस्य प्रभा कोइराला समर्थक छन् ।
पोखरा राष्ट्र बैंक चोकस्थित निर्वाचन अधिकृतको कार्यालयमा भट्टराईले समर्थकसहित पुगेर मनोनयन दर्ता गराएकी हुन् । कार्यकर्ताको साथसहित उनी उक्त कार्यालय पुगेकी थिइन् । ११ बजेपछि जिल्ला पार्टी कार्यालयमा भेला भएर जुलुससहित उम्मेदवारी दर्ताका लागि जाने कार्यक्रम तय थियो । तर निर्वाचन अधिकृतको कार्यालयले त्यसअघि नै नेकपालाई मनोनयका लागि पालो दिएपछि सानो संख्यामा नेकपा टोली गएको थियो । अब उनीहरुले आफ्नै पार्टी कार्यालयअघिल्तिर सभा आयोजना गर्दैछन् ।
नेकपाकी उम्मेदवार विद्या भट्टराईभन्दा अघि स्वतन्त्र उम्मेदवार कमलजंग कुँवरले मनोनयन दर्ता गराएका थिए । उनी संरक्षणकर्मी हुन् । उम्मेदवारी दर्तामा कुँवर पहिलो र विद्या दोस्रो भएकी छन् ।
भीडभाड व्यवस्थापनसहित सहजताका लागि निर्वाचन अधिकृतको कार्यालयले पार्टीहरुलाई उम्मेदवारको मनोनयनका लागि विभिन्न समय उपलब्ध गराएको छ । अध्यक्ष रवीन्द्र मिश्र नेतृत्वमा उक्त पार्टीकी नेतृ रजनी केसी उम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालय पुगिसकेकी छन् ।