भारतले भूमि मिचेको विरोधमा रोल्पामा प्रदर्शन
रोल्पा : नेपाली भूमिलाई भारतले आफ्नो देशको नक्सामा गाभेको भन्दै रोल्पामा प्रदर्शन गरिएको छ । सरकारले कुटनीतिक रुपमा मिचिएका भूमि फिर्ता गर्नुपर्ने प्रदर्शनकारीले माग गरे । बिहीबार बिहान यहाँ स्वस्फूर्त रुपमा विरोध प्रदर्शन गरिएको हो । रोल्पाली जागरुक समूहको व्यानरसहित पत्रकार, नागरिक समाज, विद्यार्थी, उद्योगी व्यवसायी, बुद्धिजीविले विरोध प्रदर्शन गरेका हुन् ।
नेपाली भूमिमाथिको हस्तक्षेप विरुद्धको प्रदर्शनमा 'गो व्याक इन्डिय' को नारा समेत लगाएका थिए । लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्रै हो भन्दै प्रदर्शनकारीले भारतबाट मिचिएका सबै सिमाना निर्धारण गरी काँडे तारबार लगाउन समेत माग गरे ।
सीमा हस्तक्षेप हुँदै आएपनि भारतले नक्सामै नेपालीभूमि समेट्नु सार्वभौम राष्ट्रमाथिको ठाडो हस्तक्षेप भएको नागरिक समाजका अगुवा घनश्याम आचार्यले बताए । जिल्लाको सदरमुकाम लिबाङ टुडिखेलबाट निस्किएको नागरिक अगुवाहरुको विरोध प्रदर्शन मुख्य बजार हुँदै बीच बजार पुगेको थियो । बालकल्याण उच्च माध्यमिक विद्यालयबाट स्वस्फूर्त आएको सयौं विद्यार्थीले सात्ताले खोलाबाट नाराजुलुश गर्दै बजार प्रवेश गरेका थिए ।
बीच बजारबाट दुवै प्रदर्शनकारीको विरोध र्याली टुडिखेलमा पुगेर कोण सभामा परिणत भयो । कोण सभालाई विद्यार्थी नेता शेरबहादुर थापा र आलोक पुन, नागरिक अगुवा घनश्याम आचार्य, पत्रकार महासंघको संस्थापक अध्यक्ष काशीराम डाँगी, पूर्वअध्यक्ष खेम बुढामगरले सम्बोधन गरेका थिए ।
वक्ताले नेपाल सरकारले कुटनीतिक पहल गरी भारतको हस्तक्षेपबाट नेपाली भूमि फिर्ता लिनुपर्ने माग गरे । तत्काल नेपाली नक्सा सार्वजनिक गनुपर्ने जिकिर गरे । सुगौली सन्धीयता सरकारको कमजोरीले नेपालका सीमा निरन्तर मिचिदै आएको भन्दै प्रदर्शनमा उत्रिएकाले आपत्ति जनाए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष महेश न्यौपानेले कोण सभा संचालन गर्दै सरकारले भारतको गलत कदमको कुटनीतिक पहलबाट समाधान खोज्नु माग गरे । भारतले जारी गरेको नक्सा नसच्चिए निरन्तर आन्दोलन हुने चेटावनी समेत दिइएको छ ।