कास्की-२ उपनिर्वाचन : २२ उम्मेदवार, तीनको उम्मेदवारी दर्ता भएन
पोखरा : कास्की-२ मा प्रतिनिधिसभा सदस्यका लागि १४ मंसिरमा हुने उपनिर्वाचनका लागि २५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। तर २२ जनाको मात्रै दर्ता भएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले ३ जनाको उम्मेदवारी कम्प्युटरमा प्रविष्ट हुन नसकेको जनाएको छ। उम्मेदवारको अन्तिम नामावली निकाल्दामात्रै उनीहरुको मनोनयन दर्ता भए नभएको पक्का हुनेछ।
विवेकशील नेपाली दलकी जमुना शर्माले स्वतन्त्र हैसियतमा उम्मेदवारी दर्ता गराएकी छन्। संरक्षणको क्षेत्रमा काम गरेर हालै अवकास पाएका कमलजंग कुँवरलेसमेत स्वतन्त्र उम्मेदवारी दिएका छन्।
नेकपाकी विद्या भट्टराईले बिहान साढे १० बजे उम्मेदवारी दर्ता गराएकी थिइन्। उनको प्रस्तावक गण्डकी प्रदेश सभा सदस्यसमेत रहेका नेकपा कास्की अध्यक्ष कृष्ण थापा र समर्थक प्रदेश सभा सदस्य प्रभा कोइराला छिन्। कांग्रेसका खेमराज पौडेलका प्रस्तावक र समर्थक उम्मेदवारीकै आकांक्षीद्वय क्रमश सोभियतबहादुर अधिकारी र देवराज चालिसे छन्। अधिकारी र चालिसे यसअघिका चुनावमा तत्कालीन एमाले उम्मेदवार रवीन्द्र अधिकारीसँग पराजित भएका थिए।
मनोनयन दर्तापछि विद्या भट्टराईले चुनाव जित्नेमा ढुक्क रहेको प्रतिक्रिया दिइन्। कांग्रेसका खेमराज पौडेलले अमेरिकामा ट्रम्पले जस्तै नसोचेको नतिजा निकाल्ने दाबी गरे।
गएको निर्वाचनमा विजयी रवीन्द्र अधिकारीको २०७५ फागुन १५ गते निधन भएको थियो। उनकै पत्नी विद्यालाई सत्तारुढ नेकपाले उम्मेदवार बनाएको हो। कांग्रेस नेता खेमराज पौडेल पार्टी सभापति शेरबहादुर देउवाका विश्वासपात्र र समकालीन हुन्। तर आदर्शको राजनीतिक गर्दै आएका उनलाई पार्टीले यसअघि कुनै पनि चुनावमा उम्मेदवार बन्ने मौका दिएको थिएन।
चुनाव प्रचारकै क्रममा सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल पोखरा आइपुगेका छन्। कांग्रेस उपसभापति विमलेन्द्र निधिले बिहीबार कोणसभालाई सम्बोधन गरे। दाहालले शुक्रबार नेकपा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम छ।