मठको विषयमा झडप, सात प्रहरी र ११ स्थानीय घाइते
कलैया : छठको मठ (सुसता) को विषयलाई लिएर बारामा प्रहरी र स्थानीयबीच बुधबार राति झडप भएको छ। कलैया उपमहानगरपालिका–१५ स्थित बकुलहरमा भएको झडपमा दुबै पक्षका १८ बढी घाइते भएका छन्।
घाइते हुनेमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक रुद्रबहादुर शाहीसमेत छन्। उनको टाउकोमा चोट लागेको छ। शाहीसहित घाइते भएका सात प्रहरी र ११ स्थानीय उपचारपछि बिहीबार घर फर्किएका छन्।
केही दिनअघि सकिएको छठ पर्वको समयमा छठिघाटमा बनाइएको मठको विषयलाई लिएर बकुलहरमा मुस्लिम र हिन्दु समुदायबीच विवाद भएको थियो।
छठ घाट बनाइएको उक्त जग्गा विवादित छ। विवादकाबीच पनि दुबै पक्षबीच जिल्ला प्रशासन कार्यालयमा भएको सहमतीअनुसार उक्त जग्गामा छठघाट बनाइएको थियो। सहमतिअनुसार छठ सकिएपछि कार्तिक १९ गते मठ हटाउनुपर्ने थियो।
छठ सकिएपछि पनि मठ नहटाएको भन्दै मुस्लिम समुदायले विरोध गर्दै आएका थिए। विरोधका कारण दुई समुदायबीच झडप हुने स्थिति देखेपछि प्रहरी राति बकुलहर पुगेको थियो। प्रहरीले छठघाटबाट मठ हटाउन थालेपछि छठ पर्व मनाएका स्थानीय प्रतिकारमा उत्रिएका हुन्।
स्थानीयले प्रतिकार गर्न थालेपछि दोहोरो झडप भएको हो। झडप नियन्त्रणमा लिन प्रहरीले सात राउन्ड अश्रुग्यास प्रहार गरेको थियो।
स्थानीयले विरोध जनाएपछि प्रहरीले मठ वडा कार्यलयमा राखेको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता रञ्जितसिंह राठौरले मठको विषयलाई लिएर दुई समुदायबीच झडप हुने स्थिती देखेपछि मठ हटाउन खोजिएको र सोही क्रममा झडप भएको बताए। झडपपछि बकुलहरमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ।