झलनाथ खनालले भने : सीमा चलाउने अधिकार कसैलाई छैन !
काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनालले भारतले नेपाली भूमि अतिक्रमण गरेको भन्दै विरोध जनाएका छन् ।
खनालले विज्ञप्ति निकाल्दै नेपाल सरकारलाई यसबारे भारत सरकारसँग अविलम्व वार्ता गर्न पनि माग गरेका छन् । 'नेपालको पश्चिमोत्तर सिमाना सुगौली सन्धीले नै निर्धारण गरिसकेको छ । त्यो सिमानालाई चलाउने कसैलाई पनि अधिकार छैन,' नेता खनालले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
उनले अघि भनेका छन्, 'यसबारे ऐतिहासिक कालदेखिका तथ्यांक प्रस्तुत गर्न भारत सरकारसँग अविलम्व वार्ता गर्न र कुटनीतिक ढंगले समस्याको समाधान गर्दै नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डता रक्षा गर्न म नेपाल सरकारलाई जोडदार माग गर्दछु ।'
खनालले नेपालको सीमा पहिले नै कायम भएको तथ्यांक प्रस्तुत गर्दै भारतसँग वार्ता गर्नुपर्ने बताएका हुन् । भारत सरकारले हालै सार्वजनिक गरेको आफ्नो नक्सामा कालापानी भारतकै भूमिमा परेको देखिन्छ । यसपछि नेपालका विभिन्न क्षेत्रमा विभिन्न पार्टी र समूहले विरोध जनाइरहँदा नेता खनालले पनि विज्ञप्ति निकालेर विरोध जनाएका हुन् ।