प्रदेश/प्रतिनिधिसभा उपनिर्वाचन : ४ पदमा ६५ उम्मेदवार
काठमाडौं : मंसिर १४ गते हुने उपनिर्वाचनका लागि प्रतिनिधिसभाका १ र प्रदेशसभाका तीन गरी रिक्त चार पदमा ६६ जनाको उम्मेदवारी परेको छ। प्रतिनिधिसभा सदस्यतर्फ कास्की क्षेत्र नम्बर २ मा २२, प्रदेशसभातर्फ भक्तपुर १ (१)मा १९, बागलुङ २ (२) मा १० र दाङ ३ (२)मा १४ जनाको मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार मनोनयनपत्र दर्ता शान्तिपूर्ण एवं उल्लासमय वातारणमा सम्पन्न भएको हो।
कास्कीमा २२
प्रतिनिधिसभा सदस्य पदका लागि कास्की २ मा २५ जनाको उम्मेदवारी परे पनि नाम दर्ता भने २२ जनाको मात्रै भएको छ। नवराज घले, जयवन्तविक्रम शाह, गजेन्द्र सुब्बाको नाम कम्प्युटरमा प्रविष्ट हुन नसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
नेकपाबाट विद्या भट्टराई, कांग्रेसबाट खेमराज पौडेल, साझाबाट रजनी केसी, समाजवादीबाट धर्मराज गुरुङ, राप्रपाबाट रोमबहादुर भण्डारी, राप्रपा (संयुक्त)बाट गंगा मल्ल, नेकपा (माले)बाट टेकनाथ भण्डारी, कांग्रेस (बीपी)बाट चन्द्रबहादुर रानाभाटसहित ११ जना दलका उम्मेदवार छन्। बाँकीले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। विवेकशीलकी जमुना शर्माले स्वतन्त्र हैसियतमा उम्मेदवारी दर्ता गराएकी छन्। संरक्षण क्षेत्रमा काम गरेर हालै अवकाश पाएका कमलजंग कुँवरले पनि उम्मेदवार बनेका छन्।
नेकपाकी भट्टराईले बिहान साढे १० बजे मनोनयन दर्ता गराएकी थिइन्। उनका प्रस्तावक गण्डकी प्रदेशसभा सदस्यसमेत रहेका नेकपा कास्की अध्यक्ष कृष्ण थापा र समर्थक प्रदेशसभा सदस्य प्रभा कोइराला छन्। कांग्रेसका पौडेलका प्रस्तावक र समर्थक सोभियतबहादुर अधिकारी र देवराज चालिसे छन्। अधिकारी र चालिसे यसअघिका निर्वाचनमा तत्कालीन एमाले उम्मेदवार रवीन्द्र अधिकारीसँग पराजित भएका थिए।
भट्टराईले आफू जित्नेमा ढुक्क रहेको प्रतिक्रिया दिइन्। अमेरिकामा डोनाल्ड ट्रम्पजस्तै नसोचेको नतिजा निकाल्ने दाबी पौडेलले गरे।
तत्कालीन सांसद एवं पर्यटनमन्त्री रवीन्द्र अधिकारीको २०७५ फागुन १५ गते निधन भएको थियो। उनकै पत्नी भट्टराईलाई नेकपाले उपनिर्वाचनमा उम्मेदवार बनाएको हो। कांग्रेस नेता पौडेल पार्टी सभापति शेरबहादुर देउवाका विश्वासपात्र र समकालीन हुन्। आदर्शको राजनीतिक गर्दै आएका उनलाई पार्टीले यसअघि उम्मेदवार बन्ने मौका दिएको थिएन।
चुनाव प्रचारकै क्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल पोखरा आएका छन्। उनले शुक्रबार नेकपा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम छ। कांग्रेस उपसभापति विमलेन्द्र निधिले बिहीबार कोणसभालाई सम्बोधन गरे।
दाङमा १४
दाङ ३ (२) को प्रदेशसभा सदस्यका लागि १४ जनाको उम्मेदवारी परेको छ। दलका १२ र स्वतन्त्र दुई जनाले बिहीबार मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत ऋतेन्द्र थापाले बताए। नेकपाबाट विमलाकुमारी खत्री, कांग्रेसबाट केशवराज शर्मा आचार्य, राप्रपाबाट भूपाल रावत, राप्रपा (संयुक्त)बाट छोटीलाल चौधरी, समाजवादीबाट डिल्लीबहादुर डाँगी उम्मेदवार बनेका छन्। नेकपा (माले)का हरिप्रसाद डाँगी, नेपाल मजदुर किसान पार्टीका सुरेश परियार, राष्ट्रिय जनमुक्ति पार्टीका धनराज सुनार, मंगोल नेसनल अर्गनाजेसनका घनश्याम चौधरी, साझाका शिवकुमार चौधरी, कांग्रेस (बीपी)का दीपक धिताल, नेपाल लोकतान्त्रिक पार्टीका झरेन्द्ररबहादुर खत्री, स्वतन्त्रबाट टीकाराम आचार्य र गोविन्द केसीको उम्मेदवारी परेको थापाले बताए।
कांग्रेसका आचार्यले प्रजातन्त्र जोगाउन आफ्नो उम्मेदवारी रहेको बताए। कांग्रेस विकासको पर्याय भएकाले त्यो पूरा गर्न आफू अगाडि सरेको उनको भनाइ थियो। ‘यो ठाउँको विकास गर्न मेरो मुख्य भूमिका रहनेछ’, उनले भने, ‘मेरो मुख्य एजेन्डा भनेको दाङ पनि राजधानी हो।’
नेकपाकी खत्रीले पश्चिम दाङको विकासका लागि आफ्ना श्रीमान् उत्तर वलीले थालेका अधुरा काम पूरा गर्न उम्मेदवारी दिएको बताइन्।
बागलुङमा १०
बागलुङ क्षेत्र नम्बर २ (२) मा १० जनाको उम्मेदवारी परेको छ। यीमध्ये दलबाट आठ र स्वतन्त्र रूपमा दुई जना छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार नेकपासँग साझा उम्मेदवारका रूपमा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाहीले मनोनयन दर्ता गराए। त्यस क्रममा जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी, नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेललगायत नेता तथा कार्यकर्ता सहभागी थिए। शाहीको प्रस्तावकमा जनमोर्चा जिल्ला उपाध्यक्ष धर्म कुँवर र समर्थकमा गौरीश्वर पाण्डे छन्।
नेकपाका स्थानीय नेता तथा कार्यकर्ता भने एकल रूपमा चुनावी मैदानमा जाने तयारी थिए। केन्द्रीय तहबाट गठबन्धन बनाएर बागलुङमा जनमोर्चालाई सघाउने निर्णय भएको थियो।
कांग्रेसबाट जितबहादुर शेरचन उम्मेदवार छन्। उनको उम्मेदवारीमा सांसद ज्ञानकुमारी छन्त्याल प्रस्तावक र नरजंग घर्ती समर्थक छन्। उनी अघिल्लो निर्वाचनमा पनि उम्मेदवार थिए। वाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार जनमोर्चाका टेकबहादुर घर्तीसँग उनी पराजित भएका थिए। प्रदेश सांसद घर्तीको निधनपछि रिक्त पदमा हुन लागेको उपनिर्वाचनमा कांग्रेसले पुरानै उम्मेदवार अगाडि सारेको हो।
समाजवादीबाट अशोक विक, राप्रपा संयुक्तबाट नीमबहादुर भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशबहादुर कुँवर, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, मंगोल नेसनल अर्गनाइजेसनबाट मित्रबहादुर मगर र स्वतन्त्र रूपमा सन्तोष भण्डारी अनि शेरमान घर्तीले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले बताए।
यसअघि जनमोर्चा र तत्कालीन एमाले, माओवादी केन्द्रको गठबन्धन बनेको थियो। यो क्षेत्रमा ३६ हजार ९ सय मतदाता छन्।
दुई उम्मेदवारी खारेज
भक्तपुर क्षेत्र नम्बर १ (१) मा प्रदेशसभा सदस्य उपनिर्वाचनमा १९ जनाको उम्मेदवारी कायम भएको छ। बिहीबार नाम दर्ता गराएका दुई जनाको मनोनयन बदर भएको छ। राप्रपा (संयुक्त)का रामशरण लामिछाने र आमूल परिवर्तन पार्टीका डिल्लीप्रसाद चौलागाईंको उम्मेदवारी बदर गरिएको मुख्य निर्वाचन अधिकृत जगतनारायण श्रेष्ठले बताए।
उनका अनुसार लामिछाने र चौलागाईंको नाम अघिल्लो निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा देखिएकाले उम्मेदवारी बदर गरिएको हो। अघिल्लो निर्वाचनको समानुपातिकतर्फको बन्दसूचीमा नाम भएकाले उपनिर्वाचनमा उम्मेदवारी दिन नपाउने व्यवस्था छ। कार्यालयले नौ दलका नौ र स्वतन्त्र १० गरी १९ उम्मेदवारको नाम प्रकाशन गरेको छ।
नेकपाबाट देवीप्रसाद (डीपी) ढकाल, कांग्रेसबाट कृष्णलाल भँडेल, नेपाल मजदुर किसान पार्टीबाट नीरज लवजू, समाजवादीबाट सुदर्शनकुमार मुनंकर्मी, राप्रपाबाट श्यामप्रसाद नेपाललगायतको उम्मेदवारी परेको छ।
नेकपाबाट बागी
बागलुङ क्षेत्र नम्बर २ (२) मा हुने उपनिर्वाचनमा नेकपाका शेरमान घर्तीले बागी उम्मेदवारी दिएका छन्। यहाँ नेकपाले जनमोर्चाका उम्मेदवारलाई समर्थन गरेको छ। त्यहीअनुरुप जनमोर्चाका खिमविक्रम शाहीले उम्मेदवारी दर्ता गराएका छन्। पार्टीले सधैं उपेक्षा गरेकाले गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएको घर्तीको भनाइ छ।
उनी १२ वर्ष जनमोर्चामा सक्रिय भई साबिक बोबाङ गाविस अध्यक्ष निर्वाचित भएका थिए। पछि उनी माओवादी केन्द्रमा प्रवेश गरेका थिए। उनले माओवादीबाट स्थानीय तह निर्वाचनमा ढोरपाटन नगरपालिकाको मेयरमा चुनाव लडेका थिए।
‘पश्चिम क्षेत्रलाई केन्द्र र जिल्लाले जहिले पनि बार्गेनिङको विषय बनाएर भावनामाथि खेलबाड गरिरह्यो’, उनले भने, ‘हामी जुन पार्टीको विचार र कार्यदिशामा असहमति राखेर छोड्ने, त्यही पार्टीको उम्मेदवारलाई समर्थन गर्नुपर्ने र भोट हाल्नुपर्ने ? अब दास नबन्ने सोचका साथ पार्टीको न्यायोचित निर्णय नभएकाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएको हुँ।’ उनले आफ्नो उम्मेदवारी फिर्ता नहुने दाबी गरे।
- पोखराबाट केशवशरण लामिछाने,दाङबाट गोपाल शर्मा, बागलुङबाट दिल शिरीष, भक्तपुरबाट ईश्वरकाजी खाइजू