वियरिस ट्रेन्ड’ समाप्तिको संकेत
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार ६ अंक घटेर ११ सय ३१ अंकमा झर्यो। पछिल्ला दुई महिनायता नेप्सेको रेखाचित्र ‘साइटवेज मूभमेन्ट’ साँघुरो घेराभित्र देखिएको छ। बजार परिसूचकको यस्तो प्रवृत्तिले लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा रहेको जनाउँछ। बजारमा माग र आपूर्तिको सन्तुलन भएको अवस्थामा यस्तो प्रवृत्ति देखापर्ने हुन्छ।
खासगरी बैंक तथा वित्तीय संस्थाको सेयर मूल्य न्यूनतम् विन्दु नजिक झरिसकेको अवस्थामा पनि खरिद चाप बढ्न नसक्दा यस किसिमको प्रवृत्ति देखिएको सेयर दलाल बताउँछन्। यस्तो अवस्थामा बजारको प्रवृत्तिले दिशा बदल्ने सम्भावना हुन्छ। धेरै सेयर विश्लेषक अहिलेको घट्दो प्रवृत्ति ११०० अंकभन्दा तल जाने सम्भावना कम भएको बताउँछन्। ‘बैंकिङ प्रणालीमा लगानीयोग्य पैसाको अभाव देखिएकाले अहिले सेयर बजारमा माग बढ्न सकेको छैन’, सेयर बजारमा लगानी गर्ने कम्पनी हाथ्वे इन्भेस्टमेन्टका प्रमुख कार्यकारी अधिकृत अम्बिकाप्रसाद पौडेल भन्छन्, ‘तर बिमा र जलविद्युत् बाहेकका कम्पनीको सेयर मूल्य न्यूनतम् स्तरमा झरिसकेको छ।’
लगातार घट्दो प्रवृत्तिमा देखिएको नेप्से अब विस्तारै वृद्धिको बाटोमा फर्कनसक्ने प्राविधिक आधार भने प्रसस्त छन्। प्राविधिक रूपमा अहिलेको स्तरबाट परिसूचक केही घट्नसक्ने भए पनि नेप्सेले दीर्घकालीन रूपमा वृद्धिको बाटो समात्ने देखिन्छ। साढे तीन वर्षअघि १८८५ अंकबाट घटेको सेयर बजार सूचकांक अहिलेसम्म ३९.८७ प्रतिशत घटिसकेको छ। यसबीच नेप्सेले ११०० अंकमा पुगेर उकालो लाग्ने कोसिस गरेको थियो। नेप्सेको पछिल्लो डेढ दशकको रेखाचित्र विश्लेषणले सूचकांक ११ सय अंकबाट उकालो लाग्ने सम्भावना बलियो भएको देखाउँछ।
नेप्सेको रेखाचित्रमा यसअघि १०७० अंकको हाराहारीमा बलिया प्रतिरोध तयार भएका छन्। यस्ता प्रतिरोध विन्दुमा पनि नेप्सेले टेवा पाउनसक्ने सम्भावना हुन्छ। अर्कातिर पछिल्लो एक वर्षको नेप्सेको रेखाचित्रले दुईवटा न्यूनतम् विन्दु (डबल बटम) आकृति तयार पार्न थालेको देखिएको छ। यस्तो आकृतिका लागि नेप्से ११ सय अंकको स्तरबाट उकालो लाग्नुपर्ने हुन्छ।
परिसूचक १ सय अंक उक्लेको अवस्थामा नेप्सेले यस्तो प्रवृत्ति पूरा गर्छ। प्राविधिक विश्लेषणमा यस्तो आकृति बन्नुलाई बजार बढ्ने संकेतका रूपमा हेरिन्छ। नेप्सेको रेखाचित्रमा अर्को पनि आकृति तयार हुन लागेको छ। रेखाचित्रले तीनकुने झण्डा आकृति पूरा गर्न लागेको देखिन्छ। उक्त आकृति पूर्ण हुन अब नेप्से करिब ९० अंक घट्नुपर्छ। तर अहिलेकै अवस्थाबाट पनि बजारले बाटो बदल्न सक्छ। यसअघि सात वर्ष लगाएर नेप्सेको रेखाचित्रले पूरा गरेको ‘राउन्डेड टप’ आकृतिको उपल्लो विन्दु (१०८६ अंक) नजिकै नेप्से पुग्न थालेको छ। यसले पनि नेप्से आगामी दिनमा उकालो लाग्नसक्ने संकेत गर्छ। तर अहिलेको अवस्थाबाट अल्पकालीन रूपमा भने परिसूचक थप घट्नसक्ने सम्भावना कायमै छ।