भारतीय हस्तक्षेपविरुद्ध कालिकोटमा पनि प्रदर्शन
कालिकोट : नेपालका भू-भागलाई भारतले आफ्नो नक्साभित्र समावेश गरेको विरोधमा कालिकोटमा पनि विरोध प्रदर्शन भएको छ । अनेरास्वीयु, राष्टिय युवा संगठन, नेविसंघ, राप्रवी संघलगायतका विद्यार्थी संगठनले नेपाली भू-भाग भारतीय नक्सामा पारेको विरुद्धमा विरोध प्रदर्शन गरेका हुन्।
'गो ब्याक इण्डिया, लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो। भारतीय हष्तक्षेप बन्द गर, नेपालको सिमाना मिच्ने काम बन्द गरलगायतका नाराहरु लगाएर जिल्ला सदरमुकाम मान्म बजारमा विरोध प्रदर्शनका साथै कोणसभा आयोजना गरेर विरोध जनाएका छन्।
विरोध सभामा विद्यार्थी नेताले भारतको ज्यादति र थिचोमिचो सहेर बस्न नसक्ने चेतावनी दिएका छन् । विद्यार्थी नेता भिमप्रसाद आचार्य, धिरेन्द्र आचार्य, प्रमानन्द आचार्य, अमित शाही, राकेश शाही, हिक्मत मल्ललगायतका नेताहरुले पश्चिम नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरालगायतको अतिक्रमित क्षेत्र फिर्ता गर्न माग गरेका छन् ।
भारतले नेपालको सिमाना मिच्ने कार्य वर्षौंदेखि गरिरहेको भन्दै भारतीय विस्तारवादको डटेर सामना गर्नका लागि तयार रहन सबैलाई आग्रह समेत गरे ।सधैं पार्टीका झण्डा बोकेर सडकमा देखिने विद्यार्थी नेताहरु यस पटक नेपालको राष्ट्रिय झण्डा लिएर सडकमा देखिएका थिए ।