क्यान्सर उपचारमा लक्ष्मी बैंक र तिलगंगाबीच सम्झौता
काठमाडौं : लक्ष्मी बैंक र तिलगंगा आँखा अस्पतालबीच बालबालिकामा हुने आँखाको क्यान्सरको पहिचान र उपचारका लागि सहयोग सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह तथा अस्पतालकी प्रमुख कार्यकारी अधिकृत रिता गुरुङले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे।
सो सम्झौता अनुसार बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आर्थिकरुपले विपन्न पृष्ठभुमिका बालबालिकाको आखाँको क्यान्सर (रटिनोब्लाष्टोमा)को पहिचान र उपचारका लागि ५ लाख बराबरको आर्थिक सहयोग प्रदान गर्नेछ।
रटिनोब्लाष्टोमा आँखाको पर्दा रेटिनामा हुने एक प्रकारको खतरनाक क्यान्सर हो जुन सामान्यतया नवजातशिशु र पाँच वर्षसम्मका बालबालिकामा देखा पर्दछ । विश्वभर १५००० नवजात शिशुमध्ये १ मा यो रोग देखा पर्ने गरेको तथ्यांक छ । यो रोग समयमा पत्ता लागेमा आँखा र दृष्टि पनि बचाउन सकिने प्रविधिको विकास भएको छ ।
नेपालमा तिलगंगा आँखा अस्पतालले केमोथेरापी, लेजर थेरापी, प्लेग ब्राकिथेरापी, शल्यक्रियालगायतका प्रविधिबाट यो रोगको उपचार सुरु गरेको छ। सुस्वास्थ्य सम्बन्धी दीगो विकास लक्ष्य प्राप्तिमा सहयोग पुर्याउने उद्देश्यसहित बैंकले बालबालिकाको आँखाको क्यान्सरको उपचारका लागि यो आर्थिक सहयोग उपलब्ध गराएको हो।
बैंक सन् २००२ मा स्थापना भएको क वर्गको वित्तीय संस्था हो। हाल बैंकका नेपाल अधिराज्यभर ४८ जिल्लामा ११६ शाखा, २ एक्सटेन्सन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४० एटिएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६४ शाखारहित बैंकिङ एजेन्ट पुगेको छ।