कलाकारको अनौठो कला
काठमाडौं: खाली चौरमा एकापट्टि घण्टी झुण्डाइएको छ। नजिकै कालो ड्रेसमा सजिएकी युवती अगरबती सल्काउँदै पुजा गरिरहेकी छन्। ऊनीको रातो धागो प्रयोग गरेर युवतीले ग्यालरीको एक कोठामा मन्दिर आकारको दृष्य तयार गरिन्। परेवाका प्वाँखहरु जम्मा गरेर कलात्मक आकार बनाइन्। प्लाष्टिकको गिलासमा बालुवा भरेर अगरबत्ति सल्काउँदै मन्त्रमुग्ध बनिन्। बङ्लादेशी चित्रकार तथा भिजुअल आर्टिस्ट इफात रजोआना रियाले तारागाउँ म्युजियम परिसरमा ‘मानवीय स्वभाव’ शीर्षकमा पर्फममेन्स आर्ट प्रर्दशन गरिन्।
बौद्धस्थित हायात होटल परिसरमा रहेको तारागाउँ म्युजियममा देशी बिदेशी कलाकारहरुको जमघट छ। पर्फमेन्स आर्टमा काम गरिरहेका कलाकारहरू आफ्नो कला सिर्जना देखाउने तयारीमा छन्। मंगलबारको कार्यक्रममा दुई विदेशीसहित ४ जना नेपाली पर्फमर आर्टिस्टले प्रस्तुती दिए। 'विन्दु स्पेश फर आर्ट'ले आयोजना गरेको ‘काठमाडौँ इन्टरनेशनल पर्फमेन्स आर्ट फेस्टिभल’ राजधानीमा सञ्चालन भइरहेको छ।
बङ्गलादेशमा जन्मेर चिनमा फाइन आर्टमा एमफिल गर्दै गरेकी रिया दोस्रो पटक नेपाल आएकी हुन्। नेपाल प्राकृतिक रुपमा अत्यन्तै सुन्दर भए पनि यहाँका मान्छेले सुन्दरतालाई चिन्न नसकेको उनी बताउँछिन्। काठमाडौंमा पाइलैपिच्छे मन्दिर भए पनि यहाँ मानिसले भगवानलाई सम्मान नगरेको जस्तो लाग्छ उनलाई। उनलाई मन्दिरमा बालिने अगरबत्ति र धुपको बासनाले आकर्षित गर्छ।
बङलादेशमा मानिसको मृत्यु भएको समयमा मात्रै अगरबत्ति बालिने हुँदा उनी धुपको बास्नासंग खासै परिचित थिइनन्। नेपाल आएपछि धुपको शक्ति बुझ्ने मौका पाएको उनले बताइन् । त्यसैबाट आकर्षित भएर उनले मंगलबारको प्रस्तुतीमा मन्दिर वरपरका दृष्य र मानवीय स्वभावलाई प्रस्तुत गरिन्।
म्युजियमको बाहिरी परिसरमा केही स्याउका दाना, कालो धागो र मेटलको भर्याङ लिएर उपस्थित भए जापानिज चित्रकार तथा परफरमर दैसुके टाकेया। उनी स्याउको दाना टाउकोमा राख्थे र भर्याङ उक्लेर अग्लो स्थानतिर जान्थे। चुपचाप पर्फम गरिरहेका दैसुकैलाई हेर्दा यस्तो लाग्थ्यो कोहि मान्छे जादु देखाइरहेको छ। आर्टको न्यु मिडिया अन्तर्गत पर्ने परफरमेन्स आर्टमा यस्तै गर्नुपर्छ र यो नै हुनुपर्छ भन्ने कुनै नियम छैन। कलाकारको शरीर सहभागी भएको, अनुहारको भावभङ्गी र क्रियाकलापले नै दर्शकले आर्टको विषय बुझ्ने गर्छन्।
नेपाली भिजुअल आर्ट तथा पेन्टिङमा सक्रिय मुना भडेलले मानिसका सम्बन्धलाई धागोको प्रयोग गरेर देखाइन्। मुना आफ्नो कलाबारे बताउँदै भन्छिन्, 'सामाजिक सञ्जालको माध्यमले होस् या अन्य कुनै तरिकाले मानिसहरु एकअर्कामा छिट्टै नजिकिन्छन्। सम्बन्ध गाँसिरहन्छन् तर सम्बन्धलाई प्रभावकारी तरिकाले न्याय गरिरहेका छैनन्।' मुनालाई सम्बन्धको यर्थाथ देखाउन मन लाग्यो र सिर्जना गरिन् 'कनेक्सन विथ यु' शीर्षकको आर्ट। भन्छिन्, 'हामिले सम्बन्ध कत्तिको निभाएका छौँ त ? या निभाउने बाहानामै सम्बन्ध थाहा नपाइ गायव भैसक्यो ?'
अर्का कलाकार मनिसलाल क्षेष्ठले ‘लाइफ इज फिलोसफी ’ शीर्षकमा कलात्मक प्रस्तुती दिए। लाइट र साउण्डको प्रयोग गरेर उनले बन्द कोठाभित्र मानिसहरुको मनलाई प्रर्दशन गरे। जीवनको परिभाषा र अर्थ खोज्ने क्रममै उनले अनगिन्ती कला सिर्जना गरेका छन्। मनीसले जीन्दगीलाई कहिले धागोसँग तुलना गर्छन् त कहिले दर्शनको रुपमा बुझ्छन्। उनका अनुसार जसरी मन धड्किन्छ त्यसरी नै जीवनका सुख दुखको आरोह अवरोह पनि उतारचढाव भैरहन्छ।
‘डिसरेस्पेक्ट अफ आवर हङ्ग्री’ शीर्षकको प्रस्तुती लिएर ग्यालरी परिसरमा देखापरिन् सरिता डंगोल। धर्म सस्कृतिको नाममा मानिसहरुले खानाको रुपमा प्रयोग गर्ने अन्नलाई खेर फाल्ने प्रवृतिको अन्त्य हुनुपर्ने विचारलाई प्रस्तुती मार्फत व्यक्त गरिन्। मानिस जन्मेपछि दिनरात पेट पाल्नकै लागि मरिमेट्छ। धनी र गरिव बीचको विभेद पनि यहिँबाट सुरु हुने बताउँदै उनले खानाकै अभावमा हरेक वर्ष हजारौँ मानिसको स्वास्थ्य जोखिममा पर्ने गरेको यर्थाथ जोडिन्। भगवानलाई चढाउने निहुँमा अन्न जलाउने, फलफुल कुहाउने, तेल पोख्ने, चामल फालिदिने जस्ता गलत चलन रोकिनुपर्ने उनको तर्क थियो।
'तपाईँको मुटु प्वाल पर्यो, मेरा आँखा प्वाल परे, मुटु बढी धड्किराछ, उकुसमुकुस भैराछ' भन्ने कविताको अंश सुनाउँदै रितेस मर्हजन पस्थित भए। उनले थोत्रा र पुराना सामाग्री राखिएको झोला लतार्दै अग्लो स्थानमा चढे। फलफुल, तरकारी, भाँडाकुडा जस्ता निर्जीव सामग्री माथिबाट फाल्दै उनले हरेकबाट आवाज निकाल्ने प्रयत्न गरे।
१९७० को दशकमा सुरु भएको पर्फमेन्स आर्ट पछिल्लो समय नेपालमा पनि फैलिँदो क्रममा छ।