उद्योगी ज्योति र छोरी सुरुचीलाई तीन दिन थुनामा राख्न अनुमति
काठमाडौं : हाउजिङ निर्माणमा ठगी गरेको आरोपमा पक्राउ परेका उद्योगी रुप ज्योति र उनकी छोरी सुरुची ज्योतिलाई थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।
बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका बाबु रुप र छोरी सुरुचीलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको अदालतका स्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए।
अदालतले थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान सुरु गरेको छ। प्रहरीले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति मागे पनि अदालतले तीन दिनको म्याद दिएको हो।
ज्योति उद्योगपति तथा पूर्वअर्थराज्यमन्त्री हुन्। बालुवाटारका वीरेन्द्रमान श्रेष्ठलगायतलाई ज्योतिले बाँसबारीस्थित हाउजिङको फ्ल्याट एक करोड २६ लाख रुपैयाँमा पास गरिदिन्छु भनेर पैसा बुझेका थिए। सोही ठगी काण्डमा संलग्न भएको आरोपमा छोरीलाई पनि पक्राउ गरिएको प्रहरीको भनाइ छ।
श्रेष्ठको उजुरीका आधारमा ज्योतिलाई पक्राउ गर्न प्रहरीले २०७५ मंसिरमा पक्राउ पूर्जी जारी गरेको थियो। तर, ज्योतिले सर्वोच्च अदालत गई निषेधाज्ञा जारी गराएका थिए। सर्वोच्चले आफ्नै अन्तरिम आदेशको विपक्षमा गत मंगलबार फैसला सुनाएपछि ज्योति पक्राउ परेका हुन्।