अवैध मासुसहित ट्रक जफत
काठमाडौं : मलंगवाको छोटी भन्सारमार्फत भारतीय नम्बर प्लेटका दुई ट्रक गत बिहीबार नेपाल प्रवेश गरे। रेफ्रिजेरेटर सुविधासहित एचआर ५५ आर ४८५० र यूपी ८३ एटी ९६४७ नम्बरका दुई ट्रकलाई रातारात छोटी भन्सारको सीमा कटाइएको थियो। १४ गते भन्सार जाँच पास भएका ती ट्रक १९ गते साँझ नागढुंगा आइपुगेका थिए। दिउँसो हुन सक्ने चेकजाँच छल्न ट्रकलाई रातिको समयमा नागढुंगा ल्याइएको थियो।
राजस्व अनुसन्धान विभागका अनुसार ती ट्रक काठमाडौं आउनुपर्नेमा रातारात सर्लाही लगिएको थियो। सर्लाहीमा फ्रोजन मटर, फ्रोजन कर्न, बटर र आलु चिप्सको अनुमति लिइएको जाँचपास गरिएको थियो। विभागका महानिर्देशक दीर्घराज मैनालीले भने, ‘त्यसपछि ती ट्रकलाई रातारात काठमाडौं ल्याइएको थियो। शंका लागेर हामीले ती ट्रकलाई निरन्तर निगरानी राखेका थियौं।’
विभागकाअनुसार नागढुंगामा आइपुगेका ती ट्रक विभागको अनुगमन टोलीले नियन्त्रणमा लिएको थियो। नेपाल दाना उद्योग तथा कुखुरा व्यवसायी संघको विशेष सूचनाको आधारमा अनुगमन टोलीले नागढुंगामा ती दुवै भारतीय ट्रकलाई नियन्त्रणमा लिएको थियो। रातारात आइपुगेका ती दुवै ट्रकमा चेकजाँच गर्दा अनुमति ‘लिएको’ भन्दा ‘फरक’ वस्तु ल्याएको फेला पारेको थियो।
‘प्रज्ञापन पत्रमा एउटा वस्तु ल्याउने भनेर अनुमति लिए पनि दुवै ट्रकमा अर्कै वस्तु फेला पर्यो’, मैनालीले भने, ‘हामीले सोच्दै नसोचेको वस्तु लुकाएर ल्याइएको रहेछ।’ उनकाअनुसार चेकजाँचको क्रममा राजस्व, भन्सार, अन्त शुल्क छलेर आयातकर्ताले एउटा ट्रकमा ठूलो परिमाणमा कुखुराको बोनलेस मासु (पूर्णरूपमा प्रसोधन गरिएको) ल्याएको भेटियो। यसका साथै अर्को जनावरको मासु पनि ल्याइएको फेला परेको छ।
स्रोतकाअनुसार अर्को बोनलेस मासु राँगा वा अन्य कुन जनावरको हो यकीन भएको छैन। मासु कुन जनावरको हो भनेर परीक्षण गर्ने जिम्मा पशु क्वारेन्टाइन कार्यालयलाई दिइएको छ। ‘पशु क्वारेन्टाइन कार्यालयले परीक्षणपश्चात उपलब्ध गराउने प्रतिवेदनको आधारमा मात्रै उक्त मासु के को हो भन्ने खुल्छ। अहिले यसै भन्न सकिन्नँ।’
कुखुराको मासु आयात गर्न सरकारले प्रतिबन्ध लगाएको छ। कुखुरा वा कुखुराजन्य मासु ल्याउन प्रतिबन्ध भए पनि पशुपन्छीजन्य वस्तु आयात गर्दा पशु क्वारेन्टाइनको अनुमति लिनुपर्छ। ‘तर, यो प्रकरणमा पशु क्वारेन्टाइन कार्यालयको अनुमति लिएको पाइएन’, मैनालीले अन्नपूर्ण पोस्ट्सँग भने। नियन्त्रणमा लिइएका ती दुवै ट्रक हरिहरभवनस्थित विभागको हातामा ल्याइएको थियो। शुक्रबार त्यसको अनुसन्धान गरिएको थियो।
विभागका निर्देशक रामप्रसाद रेग्मीका अनुसार अध्ययनका क्रममा यूपी ८३ एटी ९६४७ नम्बरको ट्रकमा भन्सार घोषणा नगरी, राजस्व र अन्त शुल्कसमेत छलेर कुखुराको बोेनलेस मासु १० हजार तीन सय ७८ किलो (१० टन), सालमोन माछा ६० किलो, चिकेन तयारी कबाब ५५ किलो, प्राउन चार सय ६८ किलो, डक मिट पाँच सय २८ किलो र क्वावी स्टिक ६० किलो फेला परेको छ। यसको साटो बटर, मटर, स्विट कर्न र आलु चिप्ससमेतको राजस्व घोषणा भएको फेला परेको रेग्मीले जानकारी दिए।
यस्तै एचआर ५५ आर ४८५० नम्बरको ट्रकमा राजस्व र अन्त शुल्कसमेत छलेर २० किलोका १२ वटा कार्टुन फेला परेको छ। उक्त कार्टुनमा बफ मिट भनेर उल्लेख भएको रेग्मीले बताए। रेग्मीले भने, ‘बफ भनेर उल्लेख भए पनि शंका लागेकाले मासुको नमुना परीक्षण गर्न पशु क्वारेन्टाइनलाई जिम्मा लगाएका छौं।’
विभागले अनुमति एउटा तर आयात अर्कै वस्तु गरेको अभियोगमा आयातकर्तामाथि कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ। अवैध रूपमा ल्याइएको यो मासु राजधानीको पाँचतारे होटेलदेखि ठूला बैंक्वेटमा उपभोग हुँदै आएको छ।
विभागकाअनुसार काठमाडौंको आलोकनगरस्थित सीआर ट्रेडिङले यूपी ८३ एटी ९६४७ नम्बरको ट्रकमा र दीपज्योति ग्रुप एन्ड फुड्स प्रालिले एचआर ५५ आर ४८५० नम्बरको ट्रकमा यस्ता वस्तु आयात गरेका हुन्। अनुसन्धानका क्रममा दीपज्योतिका सञ्चालक सम्पर्कमा आए पनि सीआर ट्रेडिङका सञ्चालक भने फरार रहेको विभागले जनाएको छ।
कुखुरा व्यवसायीकाअनुसार २५ हजार कुखुराको मासु प्रसोधन गर्दा १० टन बोनलेस मासु तयारी हुन्छ। अवैध रूपमा हुने तस्करीले कुखुरापालक किसान, दाना उद्योग, मासु व्यवसायीसहित कुखुरापालनको समग्र मूल्य शृंखला प्रणाली नै प्रभावित बनेको छ। तस्करी भएर भित्रिने कुखुराको मासुका कारण पछिल्लो समय नेपालमै उत्पादन हुने मासु र अण्डाले बजार पाउन सकेको छैन।
केन्द्रीय पशु क्वारेन्टाइन कार्यालयका प्रमुख डा. श्रीराम अधिकारीले भारतबाट अवैद्य रूपमा ल्याइएको मासु आवश्यक प्रक्रिया पूरा गरी राजस्व विभागको सहकार्यमा नष्ट गरिने जानकारी दिए।