मानव साङ्लोले घेरियो टुँडिखेल
काठमाडौं : टुँडिखेल क्षेत्र अतिक्रमण हुँदै गएकाले संरक्षण गर्न सरकारलाई दबाब दिने उद्देश्यले टुँडिखेललाई मानव साङ्लोले घेरिएको छ। विश्व स्वतन्त्र दिवसको अवसर पारेर ‘अकुपाई टुँडिखेल’नाम दिइएको अभियानमा ३ हजार जनाको मानव साङ्लो बनाएर घेरिएको हो।
टुँडिखेल बचाउ अभियानअन्तर्गत नागरिक अभियान्ताले शनिबार बिहान आठ बजे टुँडिखेल घेराउ गरेका हुन्। साँस्कृतिक झाँकीसहित सुरु भएको अभियानमा स्वतस्र्फूत रुपमा नागरिक समाज, विद्यार्थी, कलाकार, राजनीतिक पार्टी र जनप्रतिनिधि उपस्थित थिए।
टुँडिखेलमा सरकार र सेनाबाट भइरहेको अतिक्रमणलाई रोक्न सचेतना अभियानको सुरुवात गरेको अभियानका संयोजक विजय श्रेष्ठले बताए। ‘प्राकृतिक र सांस्कृतिक महत्वका साथै राजनीतिक रुपमा इतिहास बोकेको टुँडिखेल सेना र सरकारको अतिक्रमणमा छ,’ संयोजक श्रेष्ठ भने,‘अनधिकृत पसल संचालन, पार्किङ, बसपार्क र त्यहाँ गरिएको ढलानले टुँडिखेलको वास्तविक क्षेत्रफलसमेत खुम्चिदै गएको छ।’
कुनै समय एसियाकै ठूलो परेड मैदान रहेको टुँडिखेल हाल भवन बनाउने सामान, कामदार बस्ने ठाउँको रुपमासमेत विकसित भएको छ। टुँडिखेल सार्वजनिक जग्गा भएकाले पनि यसलाई रोक्न अति आवश्वय भएको श्रेष्ठ बताए। उनी भन्छन्, ‘अभियानको पहिलो प्राथमिकता टुँडिखेलमा रहेको अस्थायी संरचना हटाउनु हो।’
अभियानमा नागरिकस्तरबाट समर्थन गर्दै वरिष्ठ कुटनीतिज्ञ तथा पूर्व नेपाली राजदूत हिरण्यलाल श्रेष्ठले टुँडिखेलमा भइरहेको अतिक्रमण रोक्नु पर्ने बताए। ‘टुँडिखेललाई कृतिम संरचनाले बार्ने/घेर्ने काम भएको छ, श्रेष्ठले भने,प्राकृतिक प्रकोप र आपत विपदमा नागरिकले आश्रय लिने ठाउँ अतिक्रमण गर्नु भनेको जघन्य अपराधहो।’
उनले टुडिखेललाई खुल्ला राखेर अब पार्क बनाउनु पर्ने धारणा समेत राखे। ‘यस्तो खुल्लापार्क प्रत्येक नगरमा हुनुपर्ने हो। तर त्यसो हुन सकेको छैन। खुल्ला ठाउँ जति सबै भूमाफियाले ओगटेका छन्।’ श्रेष्ठले भने,‘भूमाफियाको प्रभावमा स्थानीयपनि परेकाले अब जनदवाब सिर्जना गर्नुपर्छ।’
रत्नपार्कदेखि खुल्लामञ्चसम्मको घेरिएको टुँडिखेल पछिल्लो समय सबैभन्दा विकृत अवस्थामा छ। बसपार्कको भ्युटावर बन्ने समय लम्बिएसँगै खुल्लामञ्चमा सारिएको अस्थायी बसपार्कभित्र काठमाडौं महानगरले रातारात ढलान गरेको छ। सँगैको दुइमाजु मन्दिरमा रहेका अनधिकृत पसलपनि हटेका छैनन्।
टुँडिखेलको दक्षिण भागमा धरहरा पुनर्निर्माणका लागि ल्याइएका सामान थुपारिएको छ। वरिपरिका भगनावशेष घरको माटो त्यहीँ ल्याएर थन्काइन्छ। रंगशालासँगैको भागमा पुलिस क्लब, सेनाका लागि पुस्तकालय, भव्य पार्टिप्यालेस छन्। हाल बीचको एक भागमात्र सर्वसाधारणका लागि खुला छ।
अहिलेको सैनिक मञ्च कुनै समय सानो गौचरण थियो। त्यहाँ खरीको बोटा थियो। राष्ट्राध्यक्षले त्यहीँ गएर भाषण गर्थे। त्यस ठाउँलाई गुरु मापाको घर (छें) पनि भनिन्छ। त्यो राक्षसको घर भएको स्थानीयको विश्वास छ। यस ठाउँसँग किम्बदन्ती जोडिएको छ। टुँडिखेलसँग टुँडिल देवीको किम्बदन्ती पनि जोडिएर आउँछ। टुँडिल देवीकै नामबाट ‘टुँडी ख्य’ हुँदै कालन्तरमा टुँडिखेल नाम रहन गएको हो।
टुँडिखेलमा साँस्कृतिक आस्था पनि जोडिएको छ। नेवार समुदायले प्रत्येक वर्ष घोडाजात्रा (पाःचह्रे) मा गुरुमापामा खट साट्ने गर्छन्। कुनै समय यो क्षेत्र साँस्कृतिक र धार्मिक थलो रहेपनि पछि टुँडिखेलको रुपमा विकसित भएको हो।
राजनीतिक भाषणले गुञ्जने खुल्लामञ्चको चउर पार्किङस्थल बनिसकेको छ। रंगशालादेखि रानीपोखरीसम्मको टुँडिखेल सबै सार्वजनिक जग्गाभित्र पर्ने भएपनि सेना र सरकारको कब्जामा छ।
संविधानको धारा ४८ (घ) मा सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्न भनिएकोले नागरिक अभियान्ताहरुले सोहि कर्तव्यको पालना गरेको बताएका छन्।‘यो टुँडिखेल कस्को? जनताको। संरक्षण गर्ने दायित्व कस्को? हामी सबैको।’ नारादिएर सुरु भएको अभियान अबको तीन महिनासम्म संचालन हुने सम्पदा संरक्षक अभियान्ता आलोकसिद्धी तुलाधरले बताए।‘स्वच्छ, खुल्ला टुँडिखेल निर्माण गर्न यो अकुपाई टुँडिखेल अभियानले सरकार पक्षलाई दबाब दिने छ,’अभियान्ता तुलाधर भन्छन्।
टुँडिखेल काठमाडौंको फोक्सो, भूमिगत जल भण्डारको पुनभरणको स्रोत, महाकाल, दुई माजु, गुरुमापा जस्ता मूर्त सांस्कृतिक सम्पदा थलो हो। टुँडिखेलमा पाहँचर्हे, घोडा जात्रा, गुरुमापालाई भात खुवाउने जस्ता कयौं जात्रापर्वहरु मनाइन्छ।
ऐतिहासिक राजनैतिक परिवर्तनको साक्षी खुल्लामञ्चपनि यसै ठाउँमा अवस्थित छ। सर्वसाधारणले खेलकुद र व्यायम गर्ने थलो पनि हो टुँडिखेल। दैविक प्रकोपको बेला आश्रय केन्द्रको रुपमा रहेको टुँडिखेल सबैको साझा सरोकार भएको बताउँदै तुलाधर भन्छन्, ‘यो अभियान नागरिक सचेतना जगाउनसमेत फलदायि हुने छ।’अभियानले टुँडिखेलप्रति नागरिकमा अपनत्व जगाउने उनको विश्वास छ।