धौ धौ धो

धौ धौ धो

विकट हिमाली जिल्ला। मुलुकभित्र मानव बस्ती बसेको सबैभन्दा उच्च स्थान। सोही बस्तीमा महोत्सव हुने भन्ने कुरा निकै नौलो थियो। सुनेका थियौं, सदरमुकाम दुनैबाट हिँडेर जानु पर्‍यो भने तीन दिन पूरा लाग्छ। सडक सञ्जालले छोएको छैन। चिनियाँ नाकाबाट सामान ल्याउन न्यूनतम दुई दिन समय खर्चनुपर्छ। बिजुली छैन। टेलिफोनको नेटवर्क साइत हेरेर आएजस्तो हुन्छ। कस्तो भने, कसैको फोन उठाएर केही सेकेन्ड कुरा गरिसकेपछि अकस्मात् नेटवर्क जान्छ र मोबाइल सेटले देखाउँछ ‘मिस्ड कल।’

नेटवर्क आउने र जाने ठेगान छैन। इन्टरनेट पनि नाम मात्रैको। भौगोलिक विकटताको वर्णन गरिसाध्य छैन। तैपनि माथिल्लो डोल्पास्थित डोल्पोबुद्ध गाउँपालिकाको धो तरापमा यस्तो महोत्सव सफल पार्न आयोजकहरू कम्मर कसेर लागेका थिए। काठमाडौंमा पत्रकार सम्मेलन गरेदेखि नै महोत्सव संयोजक ग्याल्पो भोटेसहितको टोली खटिएको देख्दा मनमा हुटहुटी चलिरहेको थियो, ‘कसरी गर्छन् होला महोत्सव ? कस्तो होला त्यो ठाउँ ? ’

महोत्सव भइहाल्यो भने पनि यसलाई सफल र असफल भनेर छुट्ट्याउने कसरी ? किनकि विवादरहित तरिकाबाट सम्पन्न भएको सामाजिक कार्य भेट्टाउन निकै कठिन हुन्छ मुलुकको अहिलेको सन्दर्भमा। नकारात्मक सोचाइ राख्नेहरूले यस्ता काममा कुनै दोष देखेनन् भने राजनीतिक रङ नै दलेर भए पनि असन्तुष्टि पोखिहाल्छन्।

मनमा यस्तै अड्कलबाजी चलमलाइरहेका थिए। भदौ २४ बाट महोत्सव हुने बताइए पनि भदौ १८ गते नै काठमाडौंबाट नेपालगन्जतर्फ उडियो, आयोजक टिमका सदस्य र राजधानीमा कार्यरत आधा दर्जन सञ्चारकर्मीसँग। नेपालगन्जबाट दुनैका लागि दुई दिनसम्म हवाईजहाज कुरे पनि सफल भइएन। प्रतिकूल मौसमले उडान रोकिदियो। हवाईजहाजको भर पर्दा महोत्सव नै फुत्किने शंका बढेपछि नेपालगन्जबाट सडक मार्ग हुँदै डोल्पा सदरमुकाम दुनैतर्फ जाने योजना बनायौं। मुलुकको भौगोलिक अवस्थितिको अनुभव गर्न पाइने र जति धेरै यात्रा गर्‍यो उति धेरै समाचारका एंगल पनि बन्ने स्वार्थले हामीलाई हवाईजहाज नपाएको पीडा बिर्सेर सडक मार्गबाट हिँड्न प्रेरित गरिरहेको थियो।

भदौ २० मा नेपालगन्जबाट स्कोर्पियो लिएर हिँड्यो टोली दुनैतर्फ। गाडी सोही साँझ पश्चिम रुकुमको राडी बजारमा पुगेर रोकियो, झन्डै आठ घण्टाको निरन्तर यात्रापछि। जाजकोटको नलगाड र रुकुम पश्चिमको आठबीसकोट नगरपालिका हाम्रो यात्राका दुई पाटा थिए। यात्रालाई दायाँ र बायाँ मोड्ने काम आफ्नै वेगमा बगिरहेकी भेरी नदीले गरेकी थिइन्, हामीलाई कहिले वारि कहिले पारि पठाएर।

पहिलो दिनको यात्रा सन्तोषजनक नै रहे पनि दोस्रो र तेस्रो दिनको यात्रा भने कष्टप्रद र स्मरण दुवैका लागि लायक बने। नेपाली सेनाले ट्र्याक खनेर सरकारलाई हस्तान्तरण गर्न नपाउँदै (गत वर्ष हस्तान्तरण भइसकेको) सवारी गुड्न थालिसकेको उक्त सडक कति जोखिमयुक्त छ भन्ने वर्णन गर्न चानचुने शब्दले पुग्दैन। जोखिमयुक्त सडक, जुँगाको रेखी पनि नबसेका र सवारी अनुमतिपत्र नभएको चालक, गाडीको क्षमताभन्दा तेब्बर यात्रु, उत्ताउलो पाराको चलाउने शैली, मनपरी भाडा र त्यसैमाथि खोजेको समयमा सवारी नपाउनु, राडीदेखि दुनैसम्म सडक यात्रा गर्नेहरूले बेहोर्नुपर्ने मुख्य मुख्य समस्याहरू हुन् यी। यी सबै समस्या र जोखिमसँग जुध्न हामी सबैका आआफ्नै बाध्यता थिए।

जोखिमयुक्त सडक, जुँगाको रेखी पनि नबसेका र सवारी अनुमतिपत्र नभएका चालक, गाडीको क्षमताभन्दा तेब्बर यात्रु, उत्ताउलो पाराको चलाउने शैली, मनपरी भाडा र त्यसैमाथि खोजेको समयमा सवारी नपाइनु, राडीदेखि दुनैसम्म सडक यात्रा गर्नेहरूले बेहोर्नुपर्ने मुख्य-मुख्य समस्या।

ठूलाठूला पहराको बीचमा खोपिएको छ बाटो। एकातिर ढुंगा झरेर किच्ला भन्ने डर, अर्कोतर्फ गाडीको चक्का एक इन्च मात्र दायाँबायाँ गयो भने पनि सीधै भेरी नदीमा डुबुल्की मार्न जाने जोखिम। निकै ठूलो बाध्यतामा परेका बाहेकका मानिसहरू यो बाटोबाट एक पटक हिँडेपछि दोहोर्‍याउने साहस गर्दैनन् होला सायद। हामीले यात्रा गरेको अघिल्लो दिन सधैं चल्ने बोलेरो गाडी नपाएपछि ट्रयाक्टरमा यात्रा गर्दा सोही बाटोमा दुइ जनाले ज्यान गुमाएका रहेछन्, यस घटनाले त झन् यात्रा अवधिभर आङ सिरिंग बनाइरह्यो।

जे होस्, नेपालगन्जबाट हिँडेको तेस्रो दिन बिहान पुगियो गन्तव्य। जेनतेन दुनै बजार त पुगियो तर तीन दिनको यात्रा गर्दा १० वटा गाडी परिवर्तन गर्नु परेको अर्को घटना नेपालगन्जबाट दुनैसम्मको यात्राका क्रममा याद गर्नलायक क्षणहरूको सूचीमा अग्रपंक्तिमा आइदियो। यी गाडीहरूलाई तिर्नु परेको चर्को भाडा त परैको कुरा।

गाडीमा यात्रा गर्दा थाकेर लखतरान भइसकेका हाम्रा लागि थप तीन दिनको पैदल यात्रा दोस्रो चुनौती थियो। किनकि काठमाडौंबाट हिँड्ने बेलैमा हामी दुनैबाट तीन दिन पैदल यात्रा गर्न मानसिक रूपमा तयार भइसकेका थियौं। नेपालगन्जदेखि दुनैसम्मको सडक यात्रा त भइपरी आएको समस्या मात्र थियो। सडक सास्तीको समस्या एकअर्कामा साटफेर गर्न नपाउँदै दुनैमा सामान्य नास्ता गरेर लागियो उपल्लो डोल्पाको धो तरापतर्फ, भदौ २२ को बिहान।

पहिलो दिनको यात्रामा ठिकठिकै हिँडेको हाम्रो टोलीका अधिकांश सदस्य दोस्रो दिनको यात्रा गर्दासम्म भने खलतरान भइसकेका थिए। तैपनि तोकिएकै दिन गन्तव्यमा पुग्नुपर्ने बाध्यता थियो हामीसँग। नेपालगन्जदेखि दुनैसम्मको गाडी यात्रामा भोग्नु परेको कष्ट बिर्साइदिने भीर, साँघुरो बाटो, त्यही बाटोमा खुइय्य गर्दै हिँडेका भरिया, उही भेरी नदी अनि अग्लाअग्ला चट्टान हाम्रो यात्राका सहयात्री थिए।

वर्णन गरिसाध्य नभएका यी मनोरम दृश्य, हतारको यात्रा, जोखिमपूर्ण पदयात्रा, दुनैदेखि धो तरापसम्म यात्रा गर्दाका क्षणहरू थिए। साथमा साथीभाइको ठट्यौली हाँसो, जोक्स, रातको समयमा टेन्टभित्रको बसाइ र सोही टेन्टभित्र बस्दा होटलवाला÷वालीहरूको मीठो आतिथ्यता यात्रामा बटुलेका कठिनाइ बिर्साउने सुखद पलहरू थिए। यस्तै तीतामीठा अनुभव बटुलेर २४ गते पुगियो उपल्लो डोल्पाको क्रिस्टल माउन्टेन स्कुल रजत जयन्ती तथा डोल्पो महोत्सवमा। हवाईमार्गबाट जान पाइएको भए २३ गते नै सम्बन्धित ठाउँमा पुग्न सक्ने हाम्रो टोली सडक यात्रा पक्रनु परेका कारण कार्यक्रम सुरु भएकै दिन दिउँसो मात्र पुग्यो। त्यही पनि कार्यक्रम आयोजकले मोटरसाइकल जोहो गरेर बीच बाटोमा लिन पठाएकाले मात्रै २४ गतेको कार्यक्रममा सहभागी हुने अवसर जुरेको थियो, अन्यथा पैदल हिँड्नु परेको भए त्यो दिन पनि कार्यक्रमस्थलमा साँझ मात्र पुग्न सकिने अवस्थामा थियौं हामी।

काठमाडौंबाट हिँडेको सातौं दिनमा पुगियो कार्यक्रमस्थल। पाँच दिनसम्म चलेको कार्यक्रमलाई नजिकैबाट नियाल्ने मौका मिल्यो। हिमाली भेगका बासिन्दाको बोलीचाली, रहनसहन, बसोबास, संस्कारदेखि लिएर त्यहाँका मानिसले भोग्नु परेको हरेक कठिनाइको राम्रैसँग साक्षात्कार गर्ने अवसरका रूपमा सदुपयोग गरियो यो बसाइलाई। राजधानीबाट सबैभन्दा टाढाको दूरी र लामो समयसम्मको यात्रामा हिँडेको यो क्षण अहिलेसम्म जीवनकै पहिलो थियो मेरो लागि। काठमाडौं बसाइका क्रममा विभिन्न माध्यमबाट पढेका÷सुनेका थियौं हिमाली क्षेत्रका बासिन्दाबारे। तर यो समय हामीले विगतका पढाइलाई प्रत्यक्ष रूपमा अनुभव गर्ने मौका बन्यो।

सुन्दा जटि विकट थियो, त्योभन्दा सुन्दर रहेछ समुद्री सतहबाट करिब चार हजार दुई सय मिटरको उचाइमा रहेको यो मानव बस्ती। चारैतिर पठारले घेरिएको सुन्दर उपत्यकाका रूपमा अवस्थित छ धो तराप। उवा (हिमाली क्षेत्रको खाद्यान्न) पाकेर पहेँलै देखिने यो उपत्यकामा उत्पादन हुने अर्को चिज आलु मात्रै रहेछ। हिउँदमा हिउँ परेर अधिकांश मानिसको बसोबास नै उठ्छ यो गाउँमा। गत वर्ष मात्रै जाडो महिनामा पाँच ६ फिटसम्म हिउँ परेको रहेछ। तैपनि हरेश नखाई जीविकोपार्जनमा जुटेको यहाँका मानिसको जीवनशैली वास्तवमै प्रेरणादायी छ। लाग्छ, धो उपत्यका नेपालभन्दा फरक मुलुक हो। जति हेर्‍यो, उति सुन्दर लाग्ने दृश्य। दिनहँजसो लर्को लागेर शे फोक्सुन्डो ताल अवलोकन गर्न जाने पर्यटकको लर्कोले यो गाउँको मुहार फेरिदिएको रहेछ।

क्रिस्टल माउन्टेन स्कुल यसको एक ज्वलन्त उदाहरण रहेछ। खासमा सरकारी भए पनि यो स्कुलको अधिकांश व्यवस्थापन तीन पर्यटकको लगानीमा टिकेको रहेछ। २५ वर्षअघि फ्रान्सेली नागरिक मेरिको अगुवाइमा स्थापना गरिएको यो विद्यालय उक्त क्षेत्रमै शिक्षाको ज्योति बाँड्ने उत्कृष्ट विद्यालय रहेछ। कतिसम्म भने यो विद्यालय त्यहाँ स्थापना नभइदिएको भए उक्त क्षेत्रका बासिन्दा विद्यालय शिक्षाबाटै वञ्चित हुनुपर्ने रहेछ। त्यही विद्यालयमा पढेर विद्यालयको रजत महोत्सवमा संयोजक बनेका ग्याल्पो थापादेखि सचिव लाक्पा गुरुङलाई मात्रै हेरे पनि यस विद्यालयले त्यहाँको शिक्षामा कस्तो भूमिका खेलेको रहेछ भन्ने स्पष्ट हुन्छ। विद्यालयका संस्थापक प्रधानाध्यापक केदारविनोद पाण्डेलाई ‘यो मेरो राजा हो’ भन्दै स्थानीयवासीले दिएको निरन्तरको मायालाई विद्यालयको महत्व बुझाउने अर्को माध्यमका रूपमा लिन सकिन्छ। स्वदेशीसहित विदेशीलाई समेत पाहुनाका रूपमा निम्त्याएर त्यस्तो विकट ठाउँमा पाँच दिनसम्म महोत्सव सञ्चालन गर्नु वास्तवमै चानचुने काम थिएन तर कुशलतापूर्व सम्पन्न गरे आयोजकले।

महोत्सव हेरिसकेपछि पर्यटकको प्रचुर सम्भावना भए पनि राज्यको दृष्टिमा नपर्दा यो ठाउँ ओझेलमा परेको आयोजकको गुनासो सत्य भएको निष्कर्ष निकाल्न कठिन भएन। महोत्सव संयोजक ग्याल्पोले भनेजस्तै सडक सञ्जालले मात्र छुने हो भने यो ठाउँलाई राज्यले अरू केही दिनु पर्दैन, बरु राज्यलाई यो ठाउँले धेरै उपहार दिनेछ। आउनै लागेको पर्यटक वर्ष २०२० लाई सफल बनाउने हो भने राज्यले ‘हेभन इज मिथ, नेपाल इज रियल’ भनेर मात्रै पुग्दैन, व्यवहारमा कार्यान्वयन गर्न सक्नुपर्छ।
@surya_panday


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.