बागी गुरुआमाको समर्पणमा

बागी गुरुआमाको समर्पणमा

१९४७ अगस्त १५ मा भारत स्वतन्त्र घोषणा हुनु केही दिन पहिलाको कुरा हो यो। उनी त्यस बखत पुनाको एउटा विद्यालयमा अन्तिम वर्षकी छात्रा थिइन्। विद्यालयले उक्त स्वतन्त्र घोषणा दिवस मनाउन गन्यमान्य व्यक्तिहरूलाई आमन्त्रणका लागि पत्राचार गरिसकेको थियो। विद्यालयका प्राचार्यले उनलाई आफ्नो कार्यकक्षमा बोलाएर तीनवटा कामको जिम्मेवारी सुम्पिए। पहिलो, बेलायती साम्राज्यको झन्डा ‘युनियन ज्याक’लाई तल झारी भारतको राष्ट्रिय झन्डा ‘तिरंगा’ फहराउने।

दोस्रो, स्वतन्त्रताको कल्पवृक्षलाई विद्यालयको प्रांगणमा रोप्ने। तेस्रो, उक्त स्वतन्त्रताको घोषणाका दिन एउटा छोटोमिठो मन्तव्य राख्ने। पहिलो र दोस्रो जिम्मेवारीले त उनलाई रोमाञ्चित र हर्षित नै तुल्यायो तर तेस्रो जिम्मेवारीले भने दुई-चार रात उनको निद्रा नै हरण गरिदियो। यो अनुभव र अनुभूति हो विश्वविख्यात इतिहासविद् एवं सार्वजनिक बौद्धिक गुरुआमा रोमिला थापरको।

सैनिक पृष्ठभूमिको परिवार, कडा अनुशासन र पिता डा. दयाराम थापरको ठाउँठाउँमा सरुवा, यस्तै पारिवारिक वातावरणमा रोमिला थापरको लालनपालन र बाल्यकालीन शिक्षादीक्षा बित्यो। उनको उच्च शिक्षा भने पन्जाब विश्वविद्यालयबाट अंग्रेजी साहित्य र इतिहासमा भयो। पछि उनले बेलायतको युनिभर्सिटी अफ लन्डनबाट प्रोफेसर एएल बासमको निर्देशनमा मौर्यकालीन सम्राट् अशोकमा विद्यावारिधि गरिन्। उनको विद्यावारिधिको शोधप्रस्तावका बारेमा पनि रमाइलो प्रसंग छ। उनलाई मौर्यकालीन सम्राट् अशोकका बारेमा शोध प्रस्ताव पेस गर्दा पहिला नै धेरै अध्ययन एवं अनुसन्धान गरिएको शीर्षक भनी उनले होच्याउने काम गरियो। जब उनले त्यसमाथिको शोध पूरा गरी ‘अशोका एन्ड डिक्लाइन अफ दी मौर्यज्’ शीर्षकमा पुस्तक प्रकाशित गरिन् तब उक्त पुस्तकले प्राज्ञिक जगत्मा गम्भीर हलचल सिर्जना गर्‍यो। यसले अध्येताहरूलाई इतिहासको शोधविधिमाथि नै पुनर्विचार गर्न बाध्य पार्‍यो।

पछि भारतमा फर्की कुरुक्षेत्र, दिल्ली हुँदै जवाहरलाल नेहरू विश्वविद्यालयमा प्राध्यापन गरिन्। जेएनयूमा त उनी इतिहास विभागकी संस्थापक प्राध्यापक नै हुन्। झन्डै सतासीको उमेर पार गरेकी थापर अहिले पनि जेएनयूमा प्रोफेसर एमिरेटाको रूपमा कार्यरत छिन्। तर जेएनयूको वर्तमान प्रशासनले प्राज्ञिक योग्यता र दक्षतामाथि प्रश्न उठाउँदै उनको व्यक्तिगत विवरण मागेका समाचारहरू प्रकाशित भइरहेका छन्। प्रशासनको यो रवैयालाई थापरले कसरी लिन्छिन् त्यो हेर्न भने बाँकी नै छ।

सन्दर्भ रोमिला थापरको सम्मानमा समर्पित पुस्तक ‘कोइस्चनिङ प्याराडाइम्स् कन्स्ट्रक्टिङ हिस्ट्रिज ए फेस्चरिफ्ट फर रोमिला थापर’को हो। समग्र दक्षिण एसियामै आफ्ना स्वदेशी प्रतिभाहरूलाई उचित सम्मान दिने प्रचलन छैन। अरुन्धती रोयलाई बेलायतको बुकरले चिनाइदिन्छ। अमत्र्य सेनलाई दिल्ली विश्वविद्यालयले होइन हार्वर्ड र नोबेल पुरस्कारले चिनाइदिन्छ। पंकज मि श्रलाई टाइम्स अफ इन्डियाले होइन लन्डन बुक अफ रिभ्यु र न्युयोर्करले पहिचान दिन्छ। अझ जिउँदो छँदा सास्ती प्रदान गर्ने एवं मरेपछि प्रशंसाका शब्दहरू छर्दै गोहीका आँसु चुहाउने प्रचलन पनि छ हामीमा।

तर कुमकुम रोय र नैना दयालले यो परम्परा तोडेर थापरका अहिलेसम्मका सम्पूर्ण प्राज्ञिक योगदानको समीक्षा गर्दै उनकै उपस्थितिमा इन्डिया इन्टरनेसनल सेन्टरमा २०१८ मार्च १५ देखि १७ सम्म गरेको सेमिनारको उपज हो यो पुस्तक। रोमिला थापर भन्छिन्, उनी आफैं ऐतिहासिक प्रक्रियाको एउटा भाग हुन्। यो प्राज्ञिक उचाइ हासिल गर्न उनले धेरै आरोह-अवरोहहरू पार गरेकी छन् एवम् अद्यापि संघर्षरत छिन्। भनिन्छ, उनका पिता डाक्टर दयाराम थापरले डाउरी (दाइजो) र डिग्रीमध्ये एक विकल्प रोज्न रोमिला थापरलाई सुझाएका थिए। उनले डाउरीको सट्टा डिग्री रोजिन्।

समग्र दक्षिण एसियामै आफ्ना स्वदेशी प्रतिभाहरूलाई उचित सम्मान दिने प्रचलन छैन। अरुन्धती रोयलाई बेलायतको बुकरले चिनाइदिन्छ। अमत्र्य सेनलाई दिल्ली विश्वविद्यालयले होइन हार्वर्ड र नोबेल पुरस्कारले चिनाइदिन्छ। पंकज मि श्रलाई टाइम्स अफ इन्डियाले होइन लन्डन बुक अफ रिभ्यु र न्युयोर्करले पहिचान दिन्छ।

इतिहासको अध्ययन र अनुसन्धान जटिल एवं चुनौतीपूर्ण कार्य हो। ऐतिहासिक तथ्य घटना एवं मिथकहरूले सामूहिक भावनाको निर्माण गर्छन्। यी पुराना तथ्य तथ्यांक तिथिमितिको आधिकारिकता पनि बारम्बार प्रश्नको घेराभित्र तानिन्छन्। तथापि यी परम्पराले सिर्जना गरेका मूल्य, मान्यता र विचारले समाजलाई निर्देशित गरिरहेका हुन्छन्। कहिलेकाहीँ यी मूल्य र मान्यताले समाजमा प्रतिस्पर्धात्मक एवं परस्पर विरोधी धारको निर्माण गर्छन्। इतिहासको अध्ययन समाजका यिनै धारहरूको चेपुवामा पर्छ। इतिहासविद्हरूलाई यिनै धारहरूको दबाब एवं प्रभावले सत्यको नजिक पुग्न अवरोध गर्छ। धर्म, जात र भाषाले दक्षिण एसियाको राजनीतिक भूगोलको नक्सा नै परिवर्तन गरिदिएको छ। रामको जन्मस्थानलाई लिएर इतिहासविद्हरूबीच नै मतान्तर छ। अतः इतिहासका अध्येताहरूलाई यी सामाजिक, धार्मिक एवं राजनीतिक प्रभावहरूको दबाबबाट इतिहासलाई कसरी मुक्त गर्ने भन्ने गम्भीर चुनौती छ। थापरको मान्यता छ यी दबाबहरूको चंगुलमा नफसी अध्येताहरूले प्रश्न गरिराख्नुपर्छ। प्रश्नले नै अध्येतालाई सत्यको नजिक पुग्न मद्दत गर्छ।

भनिन्छ, कलिङ नरसंहारको आत्मग्लानिबाट मुक्त हुन मौर्य सम्राट् अशोक बुद्ध धर्मका अनुयायी बनेका हुन्। सम्राट् अशोकले बुद्ध धर्मका सन्देशहरू प्रचारप्रसारका लागि विभिन्न ठाउँमा स्तम्भहरू खडा गरेका छन्। इतिहास अध्येताका लागि तिनै स्तम्भ एवं तिनमा कुँदिएका लिपिहरू अध्ययन सामग्रीका विषयवस्तुहरू हुन्। थापरको विद्यावारिधिको शोध नै सम्राट् अशोक र मौर्य साम्राज्य रहेको थियो। प्याट्रिक ओलिबेलले थापरको उक्त शोधमाथि गम्भीर प्रश्न उठाएका छन्। अशोक स्तम्भमा कुँदिएका लिपिहरू सम्राट् अशोकका जीवनजगत्लाई हेर्ने बौद्ध दर्शनमा आधारित दृष्टिकोण थिए या राज्य सञ्चालनलाई सहजीकरण गर्ने एउटा सम्राट्का रणनीतिक सन्देशहरू ? अशोकको ‘धम्मा’ आर्य समाजले दुई जन्म नलिएको भन्दै तिरस्कृत ‘शूद्र’ एवं अन्य धार्मिक तथा वैचारिक आस्था भएका ‘पसन्द’माथि किन मौन बस्यो ? ‘पसन्द’माथि अशोकको ‘धम्मा’को मौनता एउटा सम्राट्को राजनीतिक बाध्यता थियो वा अज्ञानता ? कतै सम्राट् अशोकका बारेमा रचिएका यी संकथनहरू ब्राह्मणवादी संकुचित सोचका उपज त थिएनन् ? यी प्रश्नहरूमा थापरको स्पष्टोक्ति छ मौर्य साम्राज्य एवं सम्राट् अशोकको ‘धम्मा’लाई बुझ्न संस्कृत साहित्यका स्रोतमा मात्र भर नपरी पाली र प्राकृत भाषाका स्रोतहरू अध्ययन गरेर मात्र वास्तविकताको नजिक पुग्न सकिन्छ।

प्राचीन धर्मग्रन्थहरू इतिहास अध्ययनका शोध सामग्रीहरू हुन्। यिनलाई शोधविधिमा कसरी प्रयोग गर्ने भन्ने विषयमा इतिहासका अध्येताहरूका आआफ्नै राय छन्। उमा चक्रवर्तीले रामायणकी सीता र महाभारतकी शाकुन्तललाई विषयवस्तु बनाएर एउटा गम्भीर आलेख तयार पारेकी छन्। यस आलेखले प्राचीन धार्मिक ग्रन्थका पात्र र प्रवृत्तिलाई वर्तमानको चस्माले विभिन्न अवतारमा ग्रहण गर्न सक्ने राय व्यक्त गरेको छ। चक्रवर्तीले सीताको धर्तीमा विलीन हुनुलाई रामसँगको आत्मसम्मानका लागि गरिएको प्रतिरोध एवं अधिकारको लडाइँ मानेकी छन्। थापर भने यी प्राचीन ग्रन्थहरूलाई काव्य, कल्पना, मिथक एवं इतिहासको अन्तरघुलन मान्छिन्। उनी प्रश्न गर्छिन् रामायण र महाभारत मिथकमा उल्लेख गरेझैं एकै व्यक्ति वाल्मीकि र व्यासको मात्र दिमागी उपज हो वा यसको सिर्जनामा एकभन्दा बढी मानिसहरूको योगदान छ ? यी ग्रन्थहरूको लेखकीय परिवेश कस्तो थियो ? तत्कालीन गुफा, कुटी, आ श्रम, शिलालेख स्तम्भले र यी ग्रन्थको ऐतिहासिक आधिकारिताका बारेमा के संकेत गर्छन् ? यिनै पृष्ठभूमिको परिवेशमा यी धर्मशास्त्र एवं प्राचीन ग्रन्थहरूलाई ऐतिहासिक अध्ययनका सामग्रीको रूपमा प्रयोग गरिनुपर्ने उनको राय छ।

आर्य र गैरआर्यलाई लिएर इतिहासमा थुप्रै विवाद र बहस भएका छन्। भारतीय उपमहाद्वीपमा आर्यहरूको आगमन कसरी भयो भन्ने विषयमा इतिहासविद्बीच मतान्तर कायमै छ। यसै विषयवस्तुलाई लिएर माइकल विट्जेलले भाषा, धर्म मिथक, लिपि एवं अन्य पुरातात्िवक प्रमाणहरूलाई आधार बनाउँदै आर्यहरू कुन भूगोलमा कसरी बस्न पुगे भनी सचित्र वर्णन गरेका छन्।

विट्जेलको यो आलेख पढिरहँदा डाक्टर नटवर झा र एनएस राजारामसँगको हरप्पाको लिपि पठनलाई लिएर भएको, प्राज्ञिक विवादले सिर्जना गरेको तरंगलाई स्मरण गराउँछ। डा. नटवर झा र एनएस राजारामले सम्पूर्ण हरप्पाका लिपिहरूलाई अथ्र्याएका भन्दै उनीहरूले लेखेका पुस्तक ‘दी डिसाइफर्ड इन्डुस् स्क्रिप्ट’लाई इन्टरनेट र मिडियामा व्यापक चर्चा गराए। एउटा जीवाकृतिलाई कम्प्युटर सिम्युलेसन गरी हिन्दू धार्मिक ग्रन्थमा उल्लेख गरिएको अश्व रूप नै हो भनी दाबा गरे झा र राजारामले। कुनै लिपि पठनका स्तरीय मापदण्डबिना अथ्र्याइएका यी हरप्पाका संकेतहरूका बारेमा माइकल विट्जेल र स्टिभ फार्मरले उक्त पुस्तकको दाबीमाथि प्रश्न उठाए। झा र राजारामले आफ्ना पुस्तकमा अथ्र्याइएका भनिएका लिपिहरूका बारेमा चित्तबुझ्दो जवाफ दिन सकेनन्। झा र राजारामको उक्त पुस्तकलाई विट्जेल र फार्मरले हिन्दूत्वको आवरण गरिएको नक्कली एवं खोक्रो दाबा भनी ठाडै खारेज गरिदिए। नेपालजस्तो बौद्धिक चोरीको बिगबिगी भएका प्राज्ञिक क्षेत्रका अध्येताहरूलाई अन्तर्राष्ट्रिय जगत्मा प्राज्ञिक आधिकरिकता कसरी कायम गरिन्छ भन्ने दह्रो प्रमाण हो यो घटना।

नेपालमा विश्वविद्यालयजस्ता ज्ञान निर्माणका संस्थाहरू राजनीतिले कमजोर तुल्याएको तथ्यसँग धेरैजसो सहमत छन्। विश्वविद्यालयमा राजनीतिक भागबन्डा र हस्तक्षेपलाई लिएर गम्भीर बहस नै सिर्जना भएको छ- नेपाली मिडियामा। ध्रुव रैना भने ज्ञान निर्माणका संस्थाहरूमा विज्ञान र प्रविधिको प्रयोगले नयाँ चुनौतीहरू उत्पन्न भएको रहस्योद्घाटन गर्छन्। उनका विचारमा विज्ञान र समाजविज्ञानमा शोधविधिको मतान्तर ज्यादै पुरानो हो। यिनै मतान्तरको उपज हो संकाय वा विषयवस्तुको सीमा निर्धारण। उच्च अध्ययनमा ‘डिसिप्लिन्’को अवधारणा विशिष्टीकरणको उद्देश्यले सिर्जना गरिएको हो। रैनाको मान्यता छ, बढ्दो विज्ञान र प्रविधिको प्रयोगले यी विशिष्टीकरणका सीमा एवं मान्यताको उल्लङ्घन भएको छ। बायोलोजी र केमेस्ट्री विज्ञानभित्रका दुई छुट्टाछुट्टै धार हुन्। अनुसन्धान र प्रविधिको विकासले यी दुवैको सम्मि श्रण गरी बायोकेमेस्ट्री भन्ने छुट्टै धारको सिर्जना भयो।

आणविक अध्ययन भौतिकशास्त्रको एउटा महत्वपूर्ण हाँगो हो। यसको ऊर्जा अणुबमको रूपमा आम नरसंहारको हतियार बन्यो। यही आणविक अस्त्रलाई अन्तर्राष्ट्रिय सम्बन्धको अध्ययनमा एउटा छुट्टै विषयका रूपमा अध्ययन गराइयो। ‘डिटरेन्सको डक्ट्रिन’ अन्तर्राष्ट्रिय सामरिक नीतिको अध्ययनमा एउटा गम्भीर विषयवस्तु हो। अतः यसले अणुशास्त्रको वैज्ञानिक अन्वेषणलाई मानवीय हितमा कसरी प्रभाव पार्छ भन्ने छुट्टै अध्ययनका विधाहरू सिर्जना गरेको छ। यसरी उच्च अध्ययन केन्द्रमा ‘डिसिप्लिन’का अवधारणालाई ‘इन्टरडिसिप्लिन’ र ‘ट्रान्सडिसिप्लिन’का नवीन मान्यताहरूले भत्काइदिएका छन्। उच्च अध्ययनमा संलग्न अध्येताहरूका लागि यस प्रकारका नवीन मान्यताहरूको स्थापना गम्भीर चुनौती र रचनात्मक अवसर दुवै हो। के हाम्रा विश्वविद्यालयमा प्राध्यापन गर्ने अनुसन्धानदाता र प्राध्यापकहरू ज्ञान निर्माणका क्षेत्रमा भइरहेका यी नवीन संरचनागत परिवर्तनका बारेमा जानकार छन् ?

राष्ट्र एवं सरकार मानवीय सामूहिक व्यवस्थापनका लागि सिर्जना गरिएका आधुनिक मानवनिर्मित संरचनाहरू हुन्। यिनले वैचारिक सांस्कृतिक एवं भावनात्मक जगको निर्माण गरी मान्छेका सामूहिक पहिचानलाई अभिव्यक्त गर्छन्। राष्ट्रियता र राष्ट्रवादको भावना मानवीय हित र स्वार्थ दुवैमा प्रयोग भएको छ। सामूहिक भावनाको सदुपयोग र दुरुपयोग दुवै हुन सक्छ। राष्ट्रवादको भावनाले राष्ट्रविकासमा जत्तिको सामूहिक ऊर्जा प्रदान गर्छ, उत्तिकै ठूलो नरसंहार गराउन पनि सक्छ। अचिन वनायकले माक्र्सवादी दृष्टिकोणले राष्ट्रवादको अवधारणालाई प्रस्ट्याउन खोजेका छन्। मूलभूत रूपले भारतमा बढ्दो हिन्दूत्वको बहुमतीय राष्ट्रवादका अवधारणालाई चुनौती दिएका छन् उनले। उनका विचारमा संकुचित राष्ट्रवादलाई लोकरिझ्याइँको खोल ओढाइएमा फासीवाद र नाजीवादको जन्म हुन सक्छ। थापर यसमा सहमत हुँदै भन्छिन्- राष्ट्रको अवधारणा बहुमत र अल्पमतका लागि नभई सबैका लागि समान हो। तर बहुमतवादी संकुचित राष्ट्रवादले अल्पमत एवं अन्य समुदायका मानिसहरूलाई सीमान्तकरणका लागि इतिहासको सहारा लिन्छ। यसैले त एरिक हौब्स्वाम भन्छन्- इतिहास राष्ट्रवादका लागि एक प्रकारको अफिम हो जसले मानिसमा अन्धताको कट्टर नशाको भूत सवार गराइदिन्छ।

सन् २०१४ अक्टोबर २६ का दिन रोमिला थापरले ‘मेनस्ट्रिम’ साप्ताहिकका संस्थापक सम्पादक निखिल चक्रवर्तीको स्मृतिमा एउटा सम्भाषण दिइन्। बौद्धिकहरूले प्रश्न गर्ने कि नगर्ने ? महत्वपूर्ण प्रश्न नै त्यही हो भनेर भारतीय बुद्धिजीवीहरूलाई ललकार्दै दिइएको उक्त भाषण बौद्धिक जगत्मा ज्यादै लोकप्रिय बन्यो। पछि अन्य बौद्धिकहरूको टिप्पणीसहित ‘पब्लिक इन्टेलक्चुअल इन इन्डिया’ नामको पुस्तक नै प्रकाशित भयो। जानकी नायरले थापरको यही विषयवस्तुलाई खोतल्ने प्रयत्न गरेकी छन्। उनका विचारमा औपनिवेशिक शिक्षा प्रणाली कति त्रुटिपूर्ण छ भने यसले सार्वजनिक वृत्तमा हस्तक्षेपकारी बौद्धिक जमातको निर्माण नै गरेको छैन। वर्तमानका भारतीय बौद्धिक त आफ्नै लागि मात्र बोलिरहेका छन्। यो बौद्धिक जमातले सम्भ्रान्तको मात्र प्रतिनिधित्व गरिरहेका छ। नायरका विचारमा जबसम्म सबैका लागि स्वीकार्य समावेशी सार्वजनिक बौद्धिक वृत्तको सिर्जना हुँदैन तबसम्म बौद्धिक हस्तक्षेपले सार्थकता प्राप्त गर्दैन।

रोमिला थापर कक्षा छ र सातका विद्यार्थीलाई पाठ्यपुस्तक लेख्ने मुडमा नै थिइनन्। तर प्रोफेसर आरसी मजुमदारको आग्रहलाई उनले टार्नै सकिनन्। उक्त पाठ्यपुस्तक लेख्न उनलाई उनको विद्यावारिधिको शोध लेखेभन्दा पनि बढी गाह्रो भयो। किनभने एघार र बाह्र वर्ष उमेरका बालबालिकालाई के पढाउने ? के नपढाउने ? कस्तो भाषामा लेख्ने ? आदि। थापरसँग यसको दक्षता र अनुभव नै थिएन। धेरै विद्यालयमा उनको उक्त पुस्तक पाठ्यपुस्तकका रूपमा लागू गरियो। पछि सन् २००२ मा तत्कालीन भाजपाको सरकारले उक्त इतिहासको पाठ्यपुस्तकबाट केही अनुच्छेद हटाउन आग्रह गर्‍यो। तर उनले उक्त आग्रहलाई ठाडै अस्वीकार गरिन्। उक्त विवादको विषयलाई लिएर कुमकुम रोयको समूहले पुस्तकालयमा यसका बारेमा सोधखोज गर्‍यो। थापरको उक्त ‘बिफवाला’ पुस्तक पसलबाट गायब थियो।

पाँच खण्डमा विभाजित यो पुस्तकमा भारत तथा अन्य मुलुकका दिग्गज प्राज्ञ एवं शोधार्थीहरूका सत्ताइसवटा आलेखहरू समाविष्ट गरिएको छ। थापरका मूल आलेखहरू नपढेका पाठकका लागि भने यो बुझ्नलाई जटिल एवं कठिन छ। इतिहास र समाजशास्त्रका अध्येताहरूका लागि यस पुस्तकले लेखनस्तरमा एउटा उच्च मापदण्ड नै कायम गरिदिएको छ।

रोमिला थापर प्राचीन इतिहासकी एक आधिकारिक प्राज्ञ मात्र नभई एउटा सार्वजनिक बागी बौद्धिक पनि हुन्। उनका शोध र अनुसन्धानले परम्परागत मान्यताका धेरै आधारस्तम्भ भत्काइदिएका छन्। यसैले प्राज्ञिक जगत्मा जति उनका प्रशंसकहरू छन्, पारम्परिक वृत्तमा त्यत्तिकै संख्याका निन्दकहरू पनि छन्। थापर आफ्नो प्राज्ञिक कर्ममा प्रभाव पर्ने गरी कुनै सम्मान र पुरस्कार ग्रहण गर्दिनन्। सन् १९९२ तथा २००५ मा भारत सरकारले प्रदान गरेका उच्च तहको सम्मान पद्मभूषण अवार्डलाई दुवै पटक अस्वीकार गरेकी छन्। सन् २००४ मा थापरलाई अमेरिकाको लाइब्रेरी अफ कंग्रेसले ‘क्लुज चेयर’का लागि नियुक्त गर्‍यो। यस नियुक्तिले भारतीय आवासीय एवं गैरआवासीय दक्षिणपन्थी खेमामा ठूलो तहल्का मच्चायो। उक्त हिन्दूत्ववादी दक्षिणपन्थी समूहले उक्त नियुक्तिका विरुद्धमा हस्ताक्षर अभियान नै चलायो। उक्त हस्ताक्षर अभियानका क्रममा गरेको एउटा टिप्पणीलाई भारतका प्रसिद्ध पत्रकार प्रफूल बिदबाईले ‘फ्रन्टलाइन’ म्यागेजिनमा आफ्नो स्तम्भको शीर्षक नै बनाइदिए। ‘मिकार्थी ह्वेर यु आर’ शीर्षकको लेखले थापरको क्लुज चियर नियुक्तिको बचाउ गरेको थियो। सन् २००८ मा रोमिला थापरलाई पिटर ब्राउनसँगै इतिहासमा नोबेल पुरस्कारकै हाराहारीमा सम्मानित क्लुज पुरस्कारले सम्मानित गरियो।

समाज विज्ञानका क्षेत्रमा गम्भीरताका साथ पढिने ‘सेमिनार’ मासिकका संस्थापक सम्पादक एवं वामपन्थी वरिष्ठ पत्रकार रोमेश थापरकी बहिनी रोमिला थापर अहिले पनि प्राज्ञिक जगत्मा उत्तिकै सक्रिय छन्। ज्ञानको अनुभव र दक्षताले भरिएको थापरको आलोचनात्मक चेतले हिन्दूत्वको दक्षिणपन्थी खेमामा अहिले पनि बेजोड कम्पन र परकम्पन सिर्जना गरेको छ। दक्षिणपन्थी हिन्दूत्वको यही सन्त्रस्त मनोवृत्तिले गर्दा होला, आफ्नो विश्वविद्यालयको इतिहास विभागकी संस्थापक थापरसँग व्यक्तिगत विवरण माग्ने दुस्साहस जेएनयू प्रशासनले गरेको छ। सन् १९४७ अगस्त १५ का दिन भाषण दिँदा कम्पित थापरका कलिला ओठहरूले २०१९ को सेप्टेम्बरमा भोगेको यो प्राज्ञिक सास्तीबारे कस्तो प्रतिक्रिया देलान् ? आम बौद्धिक वृत्त भने प्रतीक्षारत छ।

@Krishna04134696
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.