ढ्रोङ : फिरन्ते जीवन
एक बथान भेडाच्यांग्राको हुल सलहजस्तै क्षितिजको डाँडासम्म पुग्छ। घामछायाको लुकामारीमा आकाशमा उडिरहेका काग र तल कुदिरहेका भेडाच्यांग्रा सल्लाहमै यात्रामा छन् जस्तो भान हुन्छ। केही बेरमै त्यो बथान क्षितिजपारि पुग्छ अनि कागको बथान माथिमाथि बादलमा नाचिरहेको हुन्छ। अलि समयपछि पारि टाढाको डाँडाबाट झिबो (गोठालो) ढोण्डुप गुरुङले बजाएको सुसेलीको आवाजले बथान जताबाट गएको हो त्यही बाटो उही शैलीमा फर्कन्छ।
डोल्पा जिल्लाको धो तराप उपत्यकाको छेप्साङनजिक रहेको ढ्रोङ (याक खर्क)मा दैनिकी बिहानै उठेदेखि बेलुकीसम्मै याक चौंरी अनि भेडाच्यांग्रासँगै बित्छ। बिहानै उठेर दूध दुहेपछि तिनलाई खोले खुवाएर चरनमा छोडिन्छ। झिबो खाना खाइवारी याक चौंरी भेडाच्यांग्राको पछि लाग्छन् भने ढ्रोङ्मो ल्ह्यामै बसेर दहिमोही अनि छुर्पी बनाउने काममा तल्लीन हुन्छन्।
याक खर्कलाई फिरन्ते जीवन भन्न रुचाउँछन्। हरेक दुईदेखि तीन महिनामा खर्क सारिने गरिन्छ। चरन कत्तिको पर्याप्त छ, त्यसका आधारमा खर्क राख्ने गरिन्छ र कति लामो समय राख्ने भन्ने पनि निर्णय गरिन्छ। गर्मी बेलामा पाँच हजार मिटरसम्मको उचाइमा खर्क राख्ने गरिन्छ। जाडोयाममा चार हजार मिटरमा झार्ने गरिन्छ।
खर्क कहिले कता सार्ने भन्ने निर्णय गाउँमा सबैजना बसेर गर्छन्। याक खर्कमा बस्ने प्रायः बूढापाका हुन्छन्। युवापुस्ता पढ्न तथा रोजगारीका लागि गाउँबाट टाढा छन्। कहिलेकाहीँ गाउँ गएको बेलामा काम सघाउन आउने गरेको ढोण्डुन्प सुनाउँछन्। छिमेकमा मिलेर एकअर्काको याक चौंरी खर्क लाने गर्छन्। पालैपालो उनीहरू खर्कमा बस्छन्।
हरेक समय खर्क सार्दा झन्झट हुने गरेको प्रायःले गुनासो गर्छन्। सबै सामान बिहानै उठाऊ, याकलाई बोकाएर अर्को खर्कमा पुर्याऊ अनि बेलुकी सबै उस्तै बनाऊ। उचाइमा त्यसै त थाकिने झन् खर्क सार्दा कहिले कुनै याक रिसाएर सबै याक भाँडिने, तिनीहरूलाई फकाएर अर्को खर्क पुर्याउनु सजिलो काम पक्कै होइन।
यहाँका मानिसको मुख्य आयस्रोत पशुपालन हो साथै सामान ओसारपसार गर्न पनि याक नै प्रमुख स्रोत हो।