एक्लो यात्रा
‘आमा, फिल्म हेर्ने ? हजुरलाई मन पर्ने खालको छ’ एक दिन हातमा एउटा पेनड्राइभ देखाउँदै सानुले सोधी। एक त मन पर्ने खालको प्रस्ताव नाइँनास्तिको कुरै थिएन। अर्काेतर्पm ताइँ न तुइँका अंग्रेजी फिल्म अनि सकिने बेलासम्म पनि हिरो कुन, भिलेन कुन भन्ने पत्तो नपाइने डाङडुङ बढी भएको दक्षिण भारतीय खालका आपूलाई मन नपर्ने फिल्मसमेत छोरीहरूले हेर्न थाले भने समय मिलेका बेला म अधिकांश समय उनीहरूसँगै बसेर हेरिदिन्छु।
अनेक खाले व्यावहारिक सन्दर्भका कारण उनीहरूसँग बसेर बोल्ने, खाने मौका पाउन नै हम्मेहम्मे हुन्छ आजकल। त्यसैले कम से कम दुईअढाई घन्टा भए पनि उनीहरूसँगै बस्न पाउने अनि फिल्मका कथा एवं दृश्यकै टिप्पणी गर्ने निहुँमा उनीहरूसँग बोल्न पाउने अवसर नगुमाऊँ भन्ने लोभ लाग्छ मलाई। अर्काेतर्फ उनीहरूले खोजेका फिल्म मैले हेरिदिइनँ भने उनीहरू आआफ्ना कोठाको ढोका लगाएर ल्यापटपमा भए पनि नहेरी छोड्दैनन्। ल्यापटपमा भन्दा टीभीमा हेर्दा आँखालाई कम असर गर्छ कि भन्ने मभित्र रहेकी आमाको अनुभूति। यसैले उनीहरूसँग फिल्म हेर्न बस्दा मलाई धेरै फाइदा हुने हिसाबकिताब छ मेरो तर यी कुरा मैले उनीहरूलाई कहिल्यै भनेकी छैन, उनीहरूले हेर्ने बेलामा हेरिदिन्छु बस्।
कंगना रनावत अभिनीत ‘क्विन’ शीर्षकको हिन्दी फिल्म रहेछ, असाध्यै मन पर्यो। बिहेको कुरा छिनिसकेपछि केटी स्मार्ट नभएको निहुँमा केटाले बिहे गर्न इन्कार गरेको पीडाले एक्लै हनिमुन मनाउन युरोप हिँडेकी एउटी युवतीको यात्रामा आधारित उक्त फिल्मका सबै पक्ष निकै स्वाभाविक एवं सशक्त लाग्यो मलाई। युरोपका विभिन्न क्षेत्रमा गरिएको उसको एकल यात्राले मलाई निकै लोभ्यायो तर मैले पाएको संस्कार र परिवेशबाट निर्मित मानसिकताका कारण एकल यात्राको कल्पना गर्ने अनुमति थिएन मलाई सायद, त्यसैले एउटा राम्रो फिल्म हेरिएको अनुभूति गरियो बस्।
जीवनका रुटिन यथावतै चलिरहेका बेला पोलिना सागो नामकी एउटी युक्रेनी युवती सानुलाई खोज्दै घरमै आइपुगी। नेपाल र भारतको एकल यात्रामा हिँडेकी रहिछ ऊ। हाम्रो घरमा ऊ दुई दिन बसी र त्यसपछि पोखरा जान्छु भनेर हिँडी। युवती आई, बसी, गई तर त्यसले मभित्र आगो सल्काइदिएर हिँडिछ। कंगना रनावतको फिल्ममा देखेको एकल यात्राका दृश्यहरू मेरो अवचेतनमा भुतभुते भएर बसेका रहेछन्, तर मैले पाएको संस्कार, परिवेश, मानसिकता मिलेर दमन गरेका कारण त्यसले उठ्ने हिम्मत नगरेको रहेछ। युक्रेनी युवती घरबाट हिँडेपछि सुषुप्त अवस्थामा रहेको मेरो उक्त दमित इच्छा जुर्मुराएर मलाई सताउन पो थाल्यो। सुरक्षाको प्रत्याभूति पूर्ण रूपले नभएको हाम्रो र छिमेकीजस्तो देशमा विदेशी युवतीहरू एकल यात्रा गर्ने आँट गर्छन् भने शान्तिसुरक्षाको प्रत्याभूति भएका युरोपका विभिन्न मुलुकमा हामी एकल यात्रा गर्न किन सक्तैनौं भन्ने प्रश्नले मलाई बारबार चिमोट्न थाल्यो।
आफ्ना इच्छाआकांक्षाले जति पखेँटा हाले पनि, मनले जति रंगीन सपना देखे पनि त्यसलाई सहज रूपले अभिव्यक्त गर्ने हक नेपाली महिलालाई कहाँ छ र ? कसैले पनि पत्तो नपाउने गरी आफ्ना इच्छाआकांक्षा र रंगीन सपनाहरूलाई सहजतापूर्वक दमन गर्न अभ्यस्त हुनुपर्ने हाम्रा दिदीबहिनीको व्यावहारिक अभ्यासका बारेमा मलाई जानकारी नभएको पनि होइन। कहिले आमाबाका नाममा, कहिले बुढाका नाममा, कहिले सन्तानका नाममा अनि कहिले समाजका नाममा सहजै पूर्ति हुने खालका आफ्ना कतिपय इच्छाआकांक्षाहरूको घाँटी निमोठ्नु परेको बाध्यकारी अनुभूति मसँग पनि छ। यति हुँदाहुँदै पनि सम्बन्धितहरूले अहिलेसम्म पत्तो पाएका छैनन् वा पत्तो पाएर पनि बुझ पचाइरहेका छन्, योचाहिँ म यसै भन्न सक्तिनँ।
सुरक्षाको प्रत्याभूति पूर्ण रूपले नभएको हाम्रो र छिमेकीजस्तो देशमा विदेशी युवतीहरू एकल यात्रा गर्ने आँट गर्छन् भने शान्तिसुरक्षाको प्रत्याभूति भएका युरोपका विभिन्न मुलुकमा हामी एकल यात्रा गर्न किन सक्तैनौं भन्ने प्रश्नले मलाई बारबार चिमोट्न थाल्यो।
जीवनको यो अवस्थामा आइपुगेपछि जुर्मुराएको यस इच्छाले मलाई बारम्बार सताउन पो थाल्यो। यस इच्छाको पूर्ति लगभग असम्भव भएको स्थितिसँग राम्रैगरी परिचित भए पनि मनै त हो डुल्न थालेपछि कसको के लाग्दो रहेछ र ? ‘सराद्धेको कुरा गर्देऊ न जजमान खाएजस्तै लाग्छ’ भन्ने उखानले मलाई बारबार जिस्काउन थाल्यो। युरोपको एकल यात्रामा आफू जानसक्ने स्थिति लगभग नभएको अवस्थामा समेत म यसबारे छोरीहरूसँग छलफल गरिरहन्थेँ अनि छोरीहरू नभएका बेलामा अनेक वेबसाइट र युट्युबहरूबाट युरोपका विभिन्न सन्दर्भबारे जानकारी लिने गर्थेँ।
केही समययता उमेरका कारणले होला, शरीरले आफ्नो धर्म देखाउन थालिसकेको थियो। कहिले कता दुख्ने, कहिले कता। न सजिलो गरी हिँड्न मिल्छ, न त बल पर्ने केही काम गर्न नै, न राति राम्रोसँग निद्रा पर्छ। यस्ता अनेक खाले समस्यासँग जुध्न परे पनि युरोपको एकल यात्रामा जाने तृष्णाचाहिँ साउने घाँसझैं मौलाइरहेको थियो।श
उपचार चलिरहेका बेला एक दिन छोरीहरूले भने- आमा, पढाइ सकिएपछि हजुरलाई लिएर युरोप यात्रामा जाने इच्छा थियो हाम्रो तर त्यस बेलासम्म हजुरको स्वास्थ्यले साथ देला नदेला। दियो भने त झनै राम्रो त्यति बेला पनि घुमौंला। अहिले पढाइ पनि नभएकाले हामी घर चलाउन सक्छौं त्यसैले हजुरले अहिले नै यात्राको चाँजोपाँजो मिलाउनु है। मैले उनीहरूसँग यात्रा खर्चबारे जिज्ञासा राखेँ। ‘हामी दुईजनाले अलिअलि गरेर बचाएको पैसाले हजुरको युरोपयात्राका लागि पुग्छ, यो पैसाले हामी यसपालिको औंसीको उपहारस्वरूप युरोप टुरको व्यवस्था मिलाइदिन्छौं।’ केही बेर त दिमाग खाली भयो, बोली बन्द हुन पुग्यो। युरोप यात्रामा त गइएला नगइएला उनीहरूले यति भनिदिए मेरा लागि लाख नै त्यही भयो।
अवचेतनमा दमित आफ्नो इच्छामाथि छोरीहरूबाट स्वीकृति मिलेपछि मन त्यसै फुरफुर हुन थाल्यो। अब युरोप यात्रा भनेपछि कहाँकहाँ जाने होला भनेर मनमा खिचडी पाक्न थाल्यो। त्यसपछि गुगल र युट्युबबाट युरोपको भूगोल र अन्य सन्दर्भबारे जानकारी लिनु त मेरो दिनचर्या हुन थाल्यो। कुनै जमानाको अत्यन्त समृद्धशाली देशहरू पोर्चुगल र स्पेन हेर्ने इच्छा त अहिलेको नभएर ती देशका बारेमा जानकारी पाएदेखिकै हो, अनि रोम र भ्याटिकन सिटी पनि नपुग्ने हो भने युरोप किन जानु ? आइफेल टावर र पेरिसको बयान त छँदैछ, स्विजरल्यान्डको सुन्दरताको बयानले मन त्यता पनि रिँगिरहेको छ। उता आधा रातमा सूर्याेदय हुने देश भनेर बाल्यकालदेखि नै घोकेको नर्वेली भूमि हेर्ने रहर पनि छ, संसारका सबैभन्दा खुसी र सुखी मानिस बस्ने भनिएर कहलिएका लक्जेम्बर्ग, डेनमार्क, स्विडेन, फिनल्यान्ड पनि हेर्नैपर्ने हुटहुटीले सताउँदैछ। हे भगवान् ! म कहाँ जाऊँ, कहाँ नजाऊँ ? यसपछि एक देशबाट अर्काे देश र एक सहरबाट अर्काे सहर पुग्न लाग्ने दूरी, समय, उपलब्ध साधन अनि टिकटका रकम उल्लिखित साइटहरू चाहार्नु मेरो पेसा नै जस्तो पो भयो। यसरी मनमा खिचडी पकाउँदै निकै दिनको गुगलयात्रापछि मेरो युरोपयात्राको अवधि लगभग तीन महिना हुने अनुमान भयो। यस सन्दर्भमा छोरीहरूसँग सल्लाह गर्दा अहिले कलेज नभएकाले उनीहरूका तर्पmबाट कुनै अप्ठेरो नहुने भन्ने ग्रिन सिग्नल दिए।
‘बिँडमा ताते हात मात्तै पोल्छ, ताप्के ताते तरकारी’ भन्ने गीत मैले केटाकेटीमै सुनेकी थिएँ। छोरीहरूसँग सल्लाह मिले पनि ताप्केरूपी घरमुलीसँग त सल्लाह गरेकै थिएन। हामीले जति फुल पारे पनि निर्णायक भूमिका त घरमुलीको अनुमतिले नै खेल्ने यथार्थ पनि छँदैथियो। एक दिन डराइडराई सानो स्वरले बुढासँग सल्लाह गरेँ। डराउनुको कारण अन्य नभई छोरीहरूबाट अनुमोदित तीन महिनाको अवधि थियो। उमेर, स्वास्थ्य, परिवेश अनि अर्थका दृष्टिले तीन-तीन महिना बिनाप्रयोजन घर छोडेर विदेशका अपरिचित ठाउँको यात्रामा एक्लै हिँड्नु नेपाली घरबुढीका लागि सामान्यतया सहज नभएको स्थितिसँग म रामै्रगरी परिचित थिएँ। अर्काेतिर व्यक्तिका सन्दर्भबाट हेर्दा म एक्लो भए पनि आन्तरिक रूपमा घरपरिवारले अनेक व्यक्तित्वको अभाव झेल्नुपर्ने स्थिति प्रस्ट नै थियो। लामो समयका लागि नभई छोटो समयका लागि बुढाबाट अनुमति मिल्ने कुरामा त्यति सन्देह थिएन तर समय निकै लामो भएकाले र गर्नैपर्ने धेरै काम अलपत्रै पर्ने अवस्था पनि थिए। यात्राको अवधिबारे बुढासँग विवाद हुने मेरो अनुमान भए पनि छोरीहरूबाट खुसीसाथ पाएको अनुमतिले मलाई नैतिक बल प्रदान गरेको थियो। यसैले बुढासँग पर्नसक्ने सानातिना विवाद झेल्न म मानसिक रूपले तयार थिएँ।
छोरीहरूसँग भएका सम्पूर्ण कुराकानीको बेलिविस्तार लगाएर आफ्नो पनि प्रबल इच्छा भएको कुरा बिन्ती बिसाएपछि मेरो अनुमानका विपरीत बुढाबाट ‘हुन्छ नि त भिसाका लागि आवेदन दिनु भिसा मिले जानु’ भन्ने अनुमति सजिलै प्राप्त भो। यस अनुमतिले खडेरी परेर सुक्न आँटेका मकैका बोटले एक झर झरी पाएर हरियो हुन पुगेको अनुभूति भयो मलाई किनकि धेरै प्रतिशत असम्भव देखेको आफ्नो इच्छा सहज रूपमा सफल भएको यो पहिलो अनुभव थियो मेरो। बुढाले दिएको निर्बाध अनुमति मेरा लागि अमृततुल्य हुन गएछ फलस्वरूप दुखाइका कारण उपचारको क्रममै रहेका शरीरका विभिन्न भाग पनि दुख्न छोडेजस्तो भएर शरीर कपासजस्तै हलुंगो हुन पुग्यो अनि मन पुतलीजस्तै फुरफुर गर्न थाल्यो।
हाम्रो घरसल्लाह सुनाउन तुरुन्तै शशि, अनु, पदम र अम्बिकालाई फोन गरेँ। उनीहरू पनि असाध्यै खुसी भए, उनीहरूको पनि मलाई त्यता घुमाउने चाहना निकै अगि देखिकै हो। उता सरुलाई पनि जानकारी दिएको ऊ त खुसीले फोनमै उफ्रिन पो थाली।
सरु, मेरी प्रिय बहिनी। मेरो माइती र घरको परिवेशसँग राम्रैगरी परिचित थिई ऊ। मेरा जीवनका अधिकांश क्षण औपचारिकताको आवरणभित्र देख्दा मलाई जीवन बाँच्न नजान्ने दयाको पात्र ठान्थी सायद उसले र कहिलेकाहीँ सोधी पनि हाल्थी- दिदी सधैं यस्तो औपचारिकताको संकुचित घेरोभित्र बाँच्नुपर्दा उकुसमुकुस हुँदैन ? म फिस्स हाँसेर टारिदिन्थेँ। त्यसैले आफू बसेको ठाउँको भूगोल र त्यहाँको जीवनशैली मात्र देखाउने नभई औपचारिकताभित्रको कृत्रिमतालाई पन्छाएर मलाई नितान्त व्यक्तिगत एवं अनौपचारिक जीवनको आनन्दाभूति गराउने उसको उत्कट अभिलाषा। त्यसैले बडो उमंगका साथ उसले मेरो यात्राका क्रममा आफ्ना तर्पmबाट गरिने कार्यक्रमको लामो सूची पठाइदिई।
भिसाका लागि आवश्यक कागजपत्रको जिम्मा अनुले लिने सल्लाह भयो। केही समयपछि उनले आवश्यक पर्ने सम्पूर्ण कागजपत्र पठाइदिइन्। भिसाको प्रक्रिया एवं बिमाका लागि गर्नुपर्ने सम्पूर्ण काम अत्यन्त उत्साह एवं हर्षका साथ ऋभुले गरी। निवेदन दिएको दुई हप्ताभित्रै तीनमहिने भिसा प्राप्त भो। यसै बीचमा डाक्टरहरूसँग पनि सल्लाह गरेँ, डाक्टरहरूले यात्रामा अपनाउनुपर्ने सावधानी र उपाय बताउँदै अति आवश्यक औषधिहरू लेखिदिए र यात्राका लागि शुभकामना दिए।
हे भगवान् ! मान्छेको जात कति असन्तोकी ? नपाउन्जेल कस्तो पाएपछि सस्तो भनेजस्तै भिसा प्राप्त भएपछि मेरा मनमा शंकाका अनेक बादलहरू पो मडारिन थाले। जाने त भइयो, पहिलो कुरा शरीरले साथ त देला ? आफ्नै देश नेपालभित्र समेत एक्लै नहिँडेकी म युरोपको सफर एक्लै गर्न सकुँला ? अपरिचित परिवेश अनि भाषा नमिल्ने ठाउँमा बाटो अल्मलिएर अलपत्रै परिने त होइन ? शाकाहारी भएका कारण खानपानमा अलि अप्ठेरै म यति लामो यात्रा अवधिभर कसरी आफूलाई एड्जस्ट गरौंला ?
केही दिन अगिसम्म यात्राबारे उत्सुकता देखाइरहने म अब यस्ता कुरा झिकेर छोरीहरूलाई सताउन थालेँ। आफूले निकै साना ठानेका र कुनै सन्दर्भबाट पनि कहिल्यै व्यावहारिक नदेखेका छोरीहरूले निकै व्यावहारिक कुरा मलाई पो सिकाउन थाले। लामो यात्राका लागि आवश्यक पर्ने सामग्री पनि उनीहरूले नै जुटाइदिए, तीमध्ये कतिपय त मैले प्रयोग गर्नु त परै जाओस् अहिलेसम्म देखेकी पनि थिइनँ। ‘कतै कुनै ठाउँमा पुग्दा अलपत्र भएको अनुभूति भएर मन आत्तिन थाल्यो भने थुचुक्क त्यहीँ बस्नु र मलाई फोन गर्नु, १० मिनेटभित्रमा हजुरलाई लिन होटलबाट मान्छे आइपुग्छ, होटलको बिल म यतैबाट तिरिदिन्छु’ भनेर बाबुले ढाडस दिई। प्रविधिले छोरीहरूलाई यतिसम्म व्यावहारिक र स्मार्ट बनाइसकेको रहेछ, म भने उनीहरूलाई सधैं सानै र अव्यावहारिक देख्दो रहेछु। छोरीहरूको स्थितिबारे आफूमा रहेको अज्ञानताका कारण मैले आफूलाई कमजोर आमा अनुभूत गरेँ, तर अधिकांश नेपाली आमाका सन्दर्भबाट हेर्दा यो त्यति नाजायज पनि थिएन। अन्ततः छोरीहरूकै प्रयास, सल्लाह, आयोजन एवं प्रायोजनमा एकल यात्रा तय गर्न म युरोपतिर हिँडेँ।