३ वर्षसम्म कामै नगरी तलब भत्ता, अझै स-सम्मान बिदाई

३ वर्षसम्म कामै नगरी तलब भत्ता, अझै स-सम्मान बिदाई

धादिङ : नेपाल सरकार मातहत रहेका कर्मचारीहरुलाई सरकारले विशेष अवस्थामा तोकिएको क्षेत्र भन्दा फरक ठाउँमा काजमा खटाउने गरेको हुन्छ। स्वयं कर्मचारीले पनि विशेष अवस्था आइपरेको खण्डमा बढीमा एक महिनाको लागि काजमा जान पाउँछन्। राजनितिक सोर्सफोर्सको आडमा धादिङका केही स्वाथ्यकर्मीहरु वर्षौसम्म पनि तोकिएको कार्यक्षेत्रमा नगइ सेवा सुविधा लिइरहेको खुलेको छ।

गजुरी गाउँपालिकाको दुर्गम क्षेत्र किरान्चोक स्वास्थ्य चौकीमा दरबन्दी रहेकी अनमी शकुन्तला भट्टराईले किरान्चोक स्वास्थ्य चौकीमा रहेको हाजिरी पुस्तिकामा २०७३ साल बैशाख ११ गते हाजिरी गरेकी थिइन्। त्यसपछि वर्षभरि देखिएकी भट्टराईको २०७३ सालकै चैत्र ११ गते पनि हाजिरी गरेको देखिएको छ। चैत्र ११ गतेपछिको साढे २ वर्षमा एकदिन पनि उनको हाजिरी छैन। तर भट्टराईलाई गाउँपालिका कार्यलयले २०७६ असोज मसान्तसम्मको सबै तलवभत्ता भुक्तानी दिएको छ। उनले कर्मचारी समायोजनमा काठमाडौंको नागार्जुन नगरपालिकामा समायोजन रोजेपछि स-सम्मान विदाई गर्‍यो।  

हरेक आर्थिक वर्षको अन्त्यमा राजधानीकै एक स्वास्थ्य युनिटमा काजमा काम गरेको गरेको व्यहोराको पत्र स्वास्थ्य सेवा विभागबाट ल्याउने र धादिङको गजुरी गाउँपालिकामा तलवभत्ता भुक्तानी माग्ने गरेकी थिइन्। भट्टराइको तलवभत्ता भुक्तानी गरिदिन गाउँपालिका अध्यक्षलाई उच्च राजनितिक नेतृत्वको समेत दवाव आउने गरेको गाउँपालिका स्रोतले जनाएको छ।

किरान्चोक स्वास्थ्य चौकीमा काम नै नगरेकी भट्टराइको तलव भत्ता निकासा नगर्न किरान्चोक स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष एवं गजुरी गाउँपालिका-८ का अध्यक्ष राजकुमार ढुङगानाले गाउँकार्यपालिकालाई आग्रह गरेका थिए। तर माथिको दवाव भन्दै आर्थिक वर्ष २०७४/०७५ को तलब भत्ता गाउँपालिका कार्यलयले एकैपटक भुक्तानी दिएको थियो।

गत असार ३ गते किरान्चोक स्वास्थ्य चौकीको सामाजिक परीक्षणको क्रममा पनि भट्टराई विगत ३ वर्षदेखि स्वास्थ्य चौकी नआएको विषयमा स्थानीयहरुले विरोध जनाएका थिए। उक्त कार्यक्रममा स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष एवं वडा अध्यक्ष ढुङ्गानाले जसरी पनि भट्टराइलाई स्वास्थ्य चौकी ल्याउने, उनको तलवभत्ता रोकिदिने र उनी नआएको खण्डमा उनको ठाउँमा अर्को व्यक्ति ल्याउने बचन दिएका थिए।

व्यवस्थापन समितिको अध्यक्षले समेत पत्तो नपाइ गत असोज मसान्तसम्मको सबै तलब भत्ता समेत भुक्तानी लिई भट्टराइ स्वास्थ्यचौकीमै नपुगी विदा भएकी छिन्। किरान्चोक स्वास्थ्य चौकीमा उनले लिएको जिम्मेवारीको कसैलाई पनि बरबुझारथ गरेकी छैनन्। गाउँपालिका कार्यलयले भने उनले बरबुझारथ गरेको कागज बनाइदिएको छ।

गजुरी गाउँपालिका अन्तरगतकै स्वास्थ्य चौकीमा कार्यरत एक स्वास्थ्य कर्मीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘यहाँ कोही पात्र भन्दा पनि प्रवित्तिदेखि नैराश्यता छ, एउटै कार्यलयमा कार्यरत कर्मचारीहरु कोही वर्षौसम्म सेवा क्षेत्रमा नआउदा पनि हुने, अनि उही ठाउँमा कार्यरत अर्को कर्मचारी गयल भएको कर्मचारीको डिउटी समेत खापेर काम गर्नुपर्दा काम गर्नेको मानसिकता कस्तो रहला ? अनि उक्त कर्मचारीबाट सेवाग्राहीले कस्तो सेवाको अपेक्षा गर्ने ?’

भट्टराईले तलवभत्ता लिनका लागि काठमाडौं महानगरपालिका-१४, कुलेश्वरमा रहेको शहरी स्वास्थ्य क्लिनिकमा काजमा काम गरिरहेको पत्र गजुरी गाउँपालिकामा बुझाउने गरेकी थिइन्।

अन्नपूर्णकर्मीको सम्पर्कमा आएका शहरी स्वास्थ्य क्लिनिक कुलेश्वरका एक कर्मचारीका अनुसार भट्टराईको त्यहाँ कुनै काम थिएन।  त्यस कार्यालयमा साता, १५ दिनमा एक पटक आएर सबै दिनको एक्कै पटक हाजिर गरी घर जाने गरेकी थिइन। २०७४ साल असारदेखि २०७६ साल असोजसम्म कहिलेकँही हाजिर गर्न  मात्रै उनी कार्यालय जाने गरेको शहरी स्वास्थ्य क्लिनिक कुलेश्वरका  एक कर्मचारीले जानकारी दिए ।  कहिल्यै कार्यक्षेत्र नगएकी भट्टराईले  सोर्सफोर्सकै बलमा दुर्गम भत्तासमेत लिएकी छिन् । समायोजनका क्रममा उनले नागार्जुन नगरपालिकास्थित आफ्नो घरनजिकै सरुवा मिलाएकी छिन् । 

मैदी स्वास्थ्य चौकीमा पनि समस्या उस्तै

ज्वालामुखी गाउँपालिका अन्तरगत मैदी स्वास्थ्य चौकीमा कार्यरत अनमी संगीता पोखरेल पनि २०७४ चैत २१ गतेदेखि स्वास्थ्य चौकीमा गयल छिन्। कार्यलयमा कुनै पनि जानकारी नगराइ र विदा समेत स्वीकृत नगराई सम्पर्कविहीन भएकी पोखरेलको विषयमा अन्यत्रै काम गरिरहेको ‘काज’को पत्र भने पटक-पटक आइरहेको स्वास्थ्य चौकी इन्चार्ज तारकेश्वर पटेलले बताए।

सेवाग्राहीको धेरै चाप रहने मैदी स्वास्थ्य चौकीमा काजमा रहेको भनिएकी अनमी झिकाउन स्थानीयहरुले जिल्ला स्वास्थ्य कार्यलय र पालिकामा धेरै प्रयत्न गरे। स्थानीय दम नारायण श्रेष्ठले भने, ‘हाम्रो स्वास्थ्य चौकीमा बिरामीको सधैँ चाप हुन्छ, कि पोखरेलको सरुवा नै पठाइदिनुस अरु मान्छे ल्याउछौं, कि उनलाई झिकाइदिनुस, कि हाम्रो मा पनि काजमा अर्को ब्यक्ति पठाइदिनुस भनेर हामीले धेरैचोटी भन्यौं। तर केही लागेन।’

संगीताले पनि अहिले अन्यत्रै समायोजन रोजीसकेकी छिन्। ज्वालामुखी गाउँपालिकाले संगीताको भने अहिलेसम्म तलवब भुक्तानी रोकिदिएको छ। गाउँपालिका स्वास्थ्य संयोजक सुजन श्रेष्ठले भने, ‘पटक-पटक तलब भत्ता माग गर्दै लिखित तथा मौखिक निवेदन आएको छ, तर पालिकाले हालसम्म उपलब्ध गराएको छैन। अन्यत्रै काजमा रहेको पत्र आएकाले ढिलोचाँडो पालिकाले तलब उपलब्ध गराउनुपर्ने हुनसक्छ।’


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.