घरमुली नै ढलेपछि...
झिमरुक (प्यूठान) : झिमरुक गाउँपालिका-४ बाँगेमरोठ प्यूठानका सर्वबहादुर विकलाई पाँच जनाको परिवार पाल्ने एक्लो जिम्मेवारी काँधमा थियो। दश वर्ष भारतमा मजदुरी गर्दै आएका उनले जसोतसो परिवार पाल्दै थिए। एक दशक भारतमा बिताउँदा पनि उनको जीवनशैली जस्ताको त्यस्तै छ।
घरपरिवार धान्नमै उनको आधा उमेर बित्यो। ५० वर्षीय विकलाई भारतमा मजदुरी गदा-गर्दै ब्रेन ट्युमर भयो। धन कमाउन गएका उनको उपचार सम्भव थियो। तर, आर्थिक अभावमा बिरामीकै अवस्थामा घर फर्किन बाध्य भए। परिवारलाई थप पीडा थपियो। परिवारलाई घर खर्च चलाउनै गाह्रो भयो।
श्रीमतीले जसोतसो छोराछोरीको पालनपोषण गर्दै आइन्। तर, श्रीमान्को उपचार गराउन सकिनन्।
उपचार हुन नसकेपछि विकको मानसिक असन्तुलन गुम्यो। घरमा परिवारसँगै सुतेका उनी गत जेठ ४ गते एक्कासी उठेर बाहिर निस्किए। मानसिक रूपमा समेत विक्षिप्त बने। घरमै सुतिरहेको बेला उनी रातको १० बजे घरदेखि पारिको हल्देबारी भीरबाट लडे। परिवारले विहान तीन बजेपछि मात्र उनलाई रुखको आडमा अड्किएको अवस्थामा फेला पारे। उनको दाइने खुट्टा भाँचियो।
‘उपचार गर्न भैरहवा लग्यौँ’, श्रीमती मीनाले भनिन्,‘अस्पतालले पाँच लाख खर्च लाग्छ भनेपछि उपचारै नगरी घर फर्काएर ल्याए।’ विक अहिले हिँडडुल गर्न सक्दैनन्। मान्छे राम्रोसँग चिन्दैनन्। दिसापिसाव ओछ्यानमै गर्छन्। घरमुली नै ओछ्यानमै ढलेपछि विक परिवार पीडामा बाँचिरहेको छ।
श्रीमानको उपचार गर्न नसकेपछि उनी पीडामा छिन्। घरमा भएका दुई छोरीले बुबाको दिसापिसाव सोर्हछन्। एक मात्र छोरा परिवार धान्नका लागि भारतमा छन्। पढ्दै गरेका छोरा बुबाको अवस्था बिग्रिएपछि मुग्लान छिरेका हुन्।
विकको दाइने खुट्टा पूर्णरूपमा चल्दैन। घरमा आएका मान्छेलाई उनी चिन्दैनन्। राम्रोसँग भित्रबाहिर गर्न सक्दैनन्। घर आउनेसँग उनी बेहोसमै कुरा गर्छन्।
भीरबाट लडेर पाँच महिनादेखि अशक्त भएका उनको अपांग परिचयपत्र बनेको छैन। पूर्णअपांगताको सूचिमा पर्ने उनको अवस्था भए पनि परिचयपत्र बनाउनतर्फ कसैले चासो देखाएका छैनन्। उपचार संभव भए पनि तत्कालै आर्थिक अभाव भएकाले घरमै थलिएका श्रीमानको अवस्था हेरेर मन भुलाउनुपरेको मिनाले दुःखेसो छ। ‘छोरा भर्खरै इण्डिया गएको छ’,उनले भनिन्,‘ऋण लागे छोराले बिस्तारै कमाएर तिर्ला। तर, अहिले श्रीमान्को उपचार गर्ने अवस्था भएन।’