प्रदेश-२ नेपालमै छ भन्नेमा शंका लाग्यो : मुख्यमन्त्री राउत
जनकपुरधाम : प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले सरकारको दोहोरो चरित्रका कारण प्रदेश-२ नेपालमै छ कि छैन भन्नेमा शंका लागेको बताएका छन्। ‘संघीय सरकारको दाहोरो चरित्रका कारण प्रदेश-२ नेपालमा छ कि छैन ?’, उनले प्रश्न गरे, ‘शंका लाग्यो, एउटा प्रदेशलाई काखा र अर्को प्रदेशलाई पाखा लगाउने काम भयो।’
नेपाल साहित्य उत्सवमा ‘प्रदेश वा परदेश’ शीर्षकमा भएको छलफलमा मुख्यमन्त्री राउतले देश भौगोलिक रूपमा एकीकरण भए पनि भावनात्मक रूपमा एकीकरण हुन नसकेकाले द्वन्द्वको अवस्थाको निम्तिएको बताए।
देशको अन्य सबै प्रदेशमा एक पार्टीको सरकार र प्रदेश-२ मा मात्रै फरक पार्टीको सरकार रहेकाले संघ सरकारले यहाँको सरकारलाई समान व्यवहार गर्न नसकेको आरोप उनको छ। मुख्यमन्त्री राउतले बजेट उपलब्ध गराउनेदेखि अन्य सुविधाका विषयमा प्रदेश-२ सरकारसँग फरक व्यवहार भएको गुनासो गरे।
‘बजेट बाँड्ने बेलामा सबै प्रदेशलाई समान रकम दिइन्छ, पछि अन्य रकम भित्र-भित्रै उपलब्ध गराउँदा प्रदेश-२ छोडेर उपलब्ध गराइन्छ, के यो समान व्यवहार हो ?’, मुख्यमन्त्री राउतले भने, ‘म अमेरिका जानका लागि रहदानी बनाउने प्रकृया अगाडि बढाएको छु, मेरो बन्न सकेन तर शेरधन राईलगायतका अन्य मुख्यमन्त्री कयौं पटक विदेश भ्रमण गरेर आइसके, के यो असमान व्यवहार होइन र ?’
संघ सरकारले खुट्टा तान्ने प्रवृत्ति नछोडेसम्म संघीयता कार्यान्वयन र देशको विकास सम्भव हुन नसक्ने उनको भनाइ थियो। ‘बाँकी प्रदेशको पीडा पनि यही छ। तर, अन्य प्रदेशका मुख्यमन्त्री बन्द कोठाभित्र मात्रै बोल्छन्, म मञ्चमै बोल्छु।’
संघ सरकारप्रति आक्रामक रूपमा प्रस्तुत भएका मुख्यमन्त्री राउतले प्रदेशमा कर्मचारी अभावको देखाउँदै संघले प्रदेशलाई पठाएको कर्मचारीसमेत काम नलाग्ने वा रिटायर्ड हुन लागेका भएको आरोप लगाए। उनले संघीयता नरुचाउने कर्मचारीका कारण देश विकास हुन नसकेको दाबी गरे।
‘प्रदेश वा परदेश’ शीर्षकमा मुख्यमन्त्री राउतले पत्रकार सुधीर शर्मासँग बहस गरेका हुन्।