(अ)लोकतान्त्रिक कांग्रेस नेतृत्व

(अ)लोकतान्त्रिक कांग्रेस नेतृत्व

पुरानै पुस्ताले नेतृत्वका लागि आश देखाइरहने हो भने कांग्रेसप्रति नयाँ आकर्षण कसरी बढ्छ ?


नेपाली कांग्रेस जनतालाई स्वतन्त्र र अब्बल बनाउनुपर्छ भन्ने अहम् संघर्षबाट जन्मिएर हुर्किएको पुरानो दल हो। लोकतन्त्र र समाजवाद धारमा अडेर कांग्रेस अघि बढेको छ। हुन त विभिन्न कालखण्डमा कांग्रेसलाई कमजोर बनाउने काम स्वयं कांग्रेसकै माथिल्लाबाटै समेत नभएको होइन। ०१७ साल पुस १ मा राजा महेन्द्रले गरेको कूपछि नै हामीले कांग्रेस नियाल्ने हो भने त्यो देख्छौं। तर, त्यसलाई हाम्रा अग्रज नेतृत्वहरू बीपी कोइराला, सुवर्णशमशेर, गणेशमान, कृष्णप्रसाद भट्टराईलगायतले बचाएर यो पुस्तालाई बुझाएको वर्तमान नेतृत्वले भुल्न हुँदैन। उक्त समयमा महेन्द्रले पनि कांग्रेसका व्यक्तिलाई नतानेका होइनन्। केहीले उनलाई साथ पनि दिए।

अनि पञ्चायतको दबदबा बढ्यो तर कांग्रेस हराएन। पीपलको रूख झैं हाँगा फैलाउँदै जरा गाड्दै अटल रह्यो। टिकेर जनताको स्वतन्त्रताका लागि लड्दै अघि बढ्यो। यसरी अघि बढेको कांग्रेसमा नेतृत्व समूहको सुझबुझमा समस्या देखिएको छ। तेह्रौं महाधिवेशनले सभापति बनेका शेरबहादुर देउवा दलभित्र छलफल गर्ने, सहमति र सहकार्यमा खासै अग्रसर हुन सक्नुभएको छैन। उहाँ एउटा कोटरीमा हराइरहनुभएको छ। सोही कारण कांग्रेसजनमा समस्या देखिएको छ। उहाँजस्तो संघर्षबाट आएको व्यक्ति कोटरीमा नै हराउन सुहाउँदैन। फागुनको मसान्तसम्म हाम्रो कार्यकाल चार वर्ष पुग्छ। कार्यकाल सक्ने बेलामा विभाग थप्ने र संख्या बढाउने काममा उहाँलाई आफ्ना दौरा समाउनेहरूको भीडले निर्णय लिन बाध्य पार्नु आफैंमा अस्वाभाविक छ। त्यो असहज कार्य गर्न किन उहाँ बाध्य हुँदै हुनुहुन्छ ?

महाधिवेशन भएको दुई महिनामा गर्नुपर्ने काम कार्यकाल सकेर म्याद थप गरेर आफूलाई सभापति बनाइराख्न चाहेको समयमा विभाग थप गर्न लागिपर्नु आश्चर्यजनक छ। उहाँलाई समूहले अहिले २८ विभागलाई ४५ बनाएर आफ्ना पक्षधरलाई पद बाँड्न बाध्य पारेका छन् वा उहाँ आफैं त्यसमा लाग्नुभएको हो, सोचनीय छ। उहाँको कोटरीले यतिबेला हामी प्रतिपक्षमा छौं भन्ने नै भुलेर सत्तापक्षलाई सहज पार्ने काममा बढी नै सहयोगी भूमिका निर्वाह गरिरहेको छ। यस्ता कार्यले पार्टीको नेतृत्व कहाँ पुग्छ ?

हाम्रो विषयमा संगठन जति बलियो बनाउन सक्छौं, त्यति छिटो समस्या समाधान हुन्छ। नेपाली जनता अझ भनौं बौद्धिक वर्ग यो सरकारसँग आजित भइसकेका छन्। वर्तमान सरकारले कतै पनि सही काम गरेको भेटिँदैन, देखिँदैन। यस्ता समयमा हामीले जनताका पक्षमा थप सबल भएर उनीहरूका आवाज बोलिदिनुपर्ने त्यसमा मुन्टो निहुराएर सत्तापक्षसँग लुटुपुटु गर्नुको कारण के हो ?

हामी तदर्थवादमा होइन, भातृ संगठनहरूको अधिवेशन गरेर अघि बढ्न सक्नुपर्छ। अनि मात्र ठीक ठाउँमा पुग्छौं। भातृ संगठनपछि कांग्रेसको अधिवेशन पनि गरेर अघि बढेमा कांग्रेस ठीक ठाउँमा पुग्नेछ। सभापतिजी आफैं ४९÷५० को उमेरमा प्रधानमन्त्री हुनुभयो। तर उहाँ त्यही उमेरका व्यक्तिलाई नेविसंघमा सभापति बनाउन खोज्दै हुनुहुन्छ। त्यो उमेरको व्यक्तिलाई पार्टीको केन्द्रमा ल्याएर काम गराउन आवश्यक छ। त्यहाँ त त्यही युवा भर्खर टिनएज पार गरेकाको कुरा र मनोभाव बुझ्ने उमेर समूहमा नै प्रतिस्पर्धा गराउनुपर्छ। तदर्थवादमा नेविसंघ अघि बढाउने काम पार्टी नेतृत्वले गर्नु हुँदैन। हुन त तरुण दलमा पनि त्यही हाबी भएको देखिन्छ। एकले अर्कालाई स्वीकार गरेका छैनन्। अझै हामीलाई नेविसंघ र तरुण दल आवश्यक छ। निश्चित समयपछि यस्ता संगठनको आवश्यकता नरहन सक्छ। विकसित मुलुकमा यस्तो देखिँदैन। तर, हामी अझै संघर्षमै छौं। जति राजनीतिक स्थायित्व भने पनि त्यो तय भएको देखिँदैन।

अस्वस्थ र जालझेलको प्रतिस्पर्धालाई लोकतन्त्र मानिँदैन। डाडुपन्यु राख्ने अनि त्यही खालको प्रतिस्पर्धाका लागि आफूअनुकूल बनाएर अघि बढ्ने कार्य निरंकुशताको अर्को अभ्यास हो।

भ्रातृसंस्था दलका पिल्लर हुन्। ती संगठन अझै आवश्यक छ। हुन त निश्चित उद्देश्य पूरा भएपछि सबै दलले भ्रातृ संस्थाहरू नराख्ने हो भने त्यसमा कांग्रेसले पनि बहस गर्नेछ। तर, पार्टीको संगठनको आधारका रूपमा भ्रातृ र शुभेच्छुक संस्था रहने गर्छन्। त्यो अझ आवश्यक छ। समस्याको विश्लेषणदेखि विरोधसम्म पनि त्यस्ता संगठनको भूमिका हुन्छ। त्यहींबाट खारिएर नेतृत्वमा आउने हुनाले यस्ता संगठनमा बस्नेहरू दुई बीस पार गरेकाहरूको पुस्ता होइनन्। एक बीस कटेकालाई गाइड गरेर नेतृत्व सम्हाल्न दिनुपर्छ। त्यहींबाट खारिएर नेतृत्वमा आउनेछ। अब वास्तविकतामा अडिएर परिवर्तनलाई स्विकार्दै आफ्नो क्षमता र विगतमा गरेका कामको मूल्यांकनमा आफैंप्रति समीक्षा गरेर अघि बढ्न आवश्यक छ। नेतृत्वले अन्यका कुरा मात्र सुन्ने होइन। फाइदाका लागि घेरा हाल्ने र त्यहाँबाट उम्किन नदिनेहरू सधैं सक्रिय नै हुन्छन्। तर, एकान्तमा नेतृत्वले सोच्न आवश्यक छ।

यतिबेला विभाग बनाउनेतर्फ लागेर जिम्मेवारी दिनुको अर्थ के ? पार्टीमा त्यही कार्यबाट कब्जा गरेर फेरि नेतृत्वमा पुग्छु भन्ने अभिलाषाबाहेक अन्य मनसाय देखिँदैन। तर्क पनि छैन। चार वर्षसम्म २८ विभाग परिपूर्ति गर्न नसकेकाले ४५ बनाएर जिम्मेवारी दिने तयारी गर्नु अस्वाभाविक हो। यो विशुद्ध सभापतिको कोटरीले पार्टी कब्जा गर्ने कार्यको एक उपाय मात्र हो। सभापति संघर्षबाट खारिएर आउनु भएको हाम्रा पुराना सम्मानित व्यक्ति हो। उहाँले त यतिकुरा बुझ्नु भएको हुनुपर्छ। तर, किन यही गर्न खोज्दै हुनुहुन्छ। पार्टीसामु छलफलमा ल्याइनुपर्ने विषयसँगै अहिले चुनौतीका चाङ छन्। त्यसलाई चिर्न महाधिवेशन उपयुक्त माध्यम हो। त्यसतर्फ ध्यान पुगेको छैन। बीपी, सुवर्णशमशेरहरूले जन्माएको यो दललाई गणेशमान र कृष्णप्रसादहरूको त्यागको बिम्बमा अडेर गिरिजाप्रसादको साहसका कारण हामी गणतन्त्रको यात्रामा पुगेको विषय भुल्नु हुँदैन। अन्यथा यो अवस्था त्यति सहज थिएन।

सानातिना समस्या सबैमा हुन्छ। त्यो मानव जातिको स्वभाव हो। शतप्रतिशत कोही पनि हुँदैन। तर अधिक प्रतिशत राम्रो हुने प्रयास सबैले गर्नुपर्छ। आफ्नो बारेमा अरूले के भनिरहेका छन्। अहिले त सहज छ, सामाजिक सञ्जालमा आफ्नो अनि दलका बारेमा के कुरा उठेको छ, त्यो बुझ्न सक्नुपर्छ। ख्याल गर्नुपर्छ। घेरा हालेर फाइदा लिनेको मात्र कुरा सुनेर नेतृत्वमा सबल भइँदैन। आफूनिकट रहेकाले आफूलाई फाइदा हुने स्वार्थको कुरा र जे भन्दा नेतृत्व खुसी हुन्छ, त्यो गर्छन् नाम सुन्दा नै श्रद्धा जागेर आउने नेताले हुर्काएको यो दलप्रति जनताले आशा र भरोसा अधिक गरेका छन्। त्यसलाई हामीले मर्न दिनु हुँदैन। भ्रातृ एवं शुभेच्छुक संस्था गतिहीनता अन्त्य गरेर अघि बढ्नुपर्छ। मुलुकसामु देखा परेका चुनौतीसँग जुध्न कांग्रेसले समयमा महाधिवेशनको मिति तय गरेर युवा पुस्तालाई अघि बढाएर जानुको विकल्प छैन। दलको आधार बलियो बनाउनेभन्दा पनि पार्टी नेतृत्वका कोटरी स्वयं सत्तापक्षसँगै लुटुपुटु गरिरहेको अवस्थामा कर्याकर्ता पंक्तिबाट पनि त्यही माग भइरहेको हाम्रो दुई चरणको अभियानले देखाइसकेको छ।

मुलुकको मात्र होइन, जनताको भाग्य र भविष्यसमेत कांग्रेसमा जोडिएको छ। कांग्रेस सत्तामा पुग्न नसक्दा र प्रतिपक्ष आवाज मलिन हुँदा विश्व सम्बन्ध के भइरहेको छ। नेपालको परिस्थिति विश्व ‘एरेना’ मा के देखिएको छ, यो जनताले महसुस गरिरहेका छन्। कांग्रेसलाई निजी उद्देश्य बोकेका व्यक्ति÷समूहको चंगुलबाट बचाउन पनि नेतृत्व महाधिवेशनको गृहकार्यमा लाग्नुपर्छ। कांग्रेस बलियो नहुँदा नै लोकतन्त्र धरापमा पर्ने निश्चित छ।

भ्रष्टाचार चरम मात्र होइन, नीतिगत रूपमा अग्रसर भएर मौलाएको देखिन्छ, बिचौलियाहरू सक्रिय भएका छन्, हत्या, हिंसा बढेको छ, महँगी र कालोबजारीले जनता असहजमा परेका छन्। सरकार कर थोपरेर जनता निचोर्ने काम गरिएको छ। उत्पादनशीलतामा सरकार कतै अग्रसर छैन। बूढीगण्डकी प्रकरण, एनसेल करछली, वाइडबडी, अनेक ठेक्कापट्टा, बाटोघाटो आदिको दुरवस्था, प्रधानमन्त्रीको गफले जनता वाक्क–दिक्क भएका छन्। अधिक रूपमा नीतिगत भ्रष्टाचारको बाटोमा सरकार छ। तर, प्रतिपक्षले यो विषय उठाउन सकेको छैन। हामी मलिन बनेका छांै। हुन त होनाहार युवा खाडीमा जान बाध्य छन्। अध्ययन गरेकाहरू उच्च शिक्षा भन्दै अस्ट्रेलिया, क्यानडा, युरोप र अमेरिका पलायन हुने अवस्था आएको छ। कृषियोग्य जमिन बाँझो छ भने गाउँ सुनसान बन्दै गएको अवस्था छ।

सरकारले सुखी नेपाली र समृद्ध नेपालको सपना देखाएको छ। कुनै अवसरको तयारी नगर्ने र विदेश पलायनमा जोड दिने, सुखी र समृद्ध नेपाल देख्ने अनि प्रतिपक्षले यस्ता विषयलाई बाँड्न नसक्नु आफैंमा उदेकलाग्दो छ। नेतृत्वभन्दा तलकाले यसमा कुरा उठाउन खोज्दा नेतृत्व आफैं सत्तापक्षसँग लुटुपुटु भएपछि पार्टी नै खतरामा परेको छ। युवाले यसलाई आफ्नो व्यक्तिगत तवरबाट सबल बनाउन खोजिरहेका छन्। अब नेतृत्व नसच्चिए वा सबल नभए समस्या उस्तै रहनेछ। यसमा ध्यान दिएर कांग्रेस अघि बढ्नुपर्छ।

एउटा कुरामा हामी स्पष्ट हुनुपर्छ– राजनीति गर्नेहरूको एउटा कालखण्ड हुन्छ। त्यो समयमा शेरबहादरजी र अन्य साथीहरूले गरे। सधैं उही मानिसले गर्ने हो भने मानिसले पत्याउँदैन। आन्दोलन या विरोधसभा गर्ने हो भने केही न केहीमा सभापति जोडिएको देखिन्छ। विरोध सभामा कांग्रेसी मात्र आउँछन्। त्यसमा अट्याक्सन गर्न आवश्यक छ। अमेरिकामा दुईपटकभन्दा बढी राष्ट्रपति हुन पाइँदैन। सायद यही भएर होला। एकपटक सभापति भए पनि उहाँ पटकपटक सरकारमा नेतृत्व गरिसक्नुभएर टेस्टेड भएका व्यक्ति हो। तर, पनि महाधिवेशनबाट छानिएमा विरोध हुने कुरा छैन। तर, यसमा किन अल्झिरहने ? सभापति भएपछि सबैको हुनुपर्नेमा गुटका रूपमा अघि बढ्नुभएरै यो अवस्था आएको हो। उहाँ जत्तिको अनुभवीले त्यसमा सोच्नुपर्छ।

लोकतन्त्रमा हुने नै प्रतिस्पर्धा हो। तर अस्वस्थ र जालझेलको प्रतिस्पर्धालाई लोकतन्त्र मानिँदैन। डाडुपन्यु राख्ने अनि त्यही खालको प्रतिस्पर्धाका लागि आफूअनुकूल बनाएर अघि बढ्ने कार्य निरंकुशताको अर्को अभ्यास हो। कतिपयले नेतृत्व पंक्तिमा किन प्रेसर नगरेको भन्ने प्रश्न पनि उठेको देख्छु। भोलिको राजनीतिमा कांग्रेसको सभापति को भन्ने प्रश्न अहम् हो। जित्न र युवाको सोचलाई क्यास गर्न पनि युवा लिएर अघि बढ्न आवश्यक छ।

पुरानै पुस्ताले नेतृत्वका लागि आश देखाइरहने हो भने कांग्रेसमा आकर्षण केले बढ्छ ? कांग्रेसको स्थापनापश्चात् आजसम्म आइपुग्दा कांग्रेसले निकै आरोह–अवरोह पार गरेको पाइन्छ। सातसालको क्रान्तिको जगमा अघि बढेको कांग्रेसले पन्ध्रमा भएको निर्वाचनमा दुईतिहाइ मत प्राप्त ग‍र्‍यो। तर, राजा महेन्द्रलाई त्यो पचेन र ०१७ साल पुस १ मा बीपी कोइरालाको सरकारै अपदस्थ गरे। तर, कांगेस विचलित भएन। निरन्तर अघि बढ्दै गयो। संसदीय प्रणालीसहितको प्रजातन्त्रमा लागिपर्‍यो। २०४६ मा प्रजातन्त्र ल्याएको हो। सशस्त्र द्वन्द्वमा रहेका माओवादीलाई राजनीतिक मूलधारमा ल्याएकै हो। उनीहरूको साथ लिएर राजतन्त्र अन्त्य गरेकै हो। लोकतन्त्र संस्थागत गर्दै यहाँसम्म मुलुकलाई ल्याउन कांग्रेसले निर्वाह गरेको अतुलनीय भूमिका जनता र अन्तर्राष्ट्रिय समुदायले नियालेकै छन्। हामी यही साख बचाएर युवालाई कांग्रेसतर्फ आर्कषित गर्दै राष्ट्रहितमा लगातार लगिरहेका छौं। (कुराकानीमा आधारित)


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.