रामग्राममा खोजिँदै बुद्धको अस्तु
परासी : बुद्ध सम्बन्धि थप पुरातात्विक प्रमाण संकलन गर्न रामग्राम स्तुप क्षेत्रमा अनुसन्धान सुरु भएको छ। यहाँ बुद्ध महापरिर्वाणपछिको अस्तुधातु राखिएको बताइन्छ। अस्तुधातु राखिएको स्थान भनिएकाले रामग्राम लुम्बिनीपछिको महत्वपूर्ण स्थान मानिएको छ।
बेलायत युनिभर्सिटी (दुराहम) पुरातात्विक विभाग र लुम्बिनी विकास कोषका विज्ञहरूबाट भू–भौतिक सर्भे (जियो फिजिक्स) प्रविधिमार्फत अनुसन्धान सुरु गरिएको हो। रामग्राम स्तुप पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–७ स्थित उजैनीमा छ। रामग्राम स्तुप क्षेत्रमा चुम्बिकीयसहित विभिन्न चारवटा प्रविधिबाट सर्भे सुरु गरिएको हो। पुरातात्विक सामग्री संकलन गर्न ‘अघर’(ड्रिलजस्तो प्रविधि), स्थलगत सर्भेक्षण, जियो फिजिक्स र नक्सांकनबाट काम सुरु गरिएको लुम्बिनी विकास कोष पुरातत्व शाखाका प्रमुख हिमालकुमार उप्रेतीले बताए।
नेपालीसहित तीन जना विदेशीहरूको विज्ञ टोलीले सर्भे सुरु गरेको छ। विश्वसम्पदा सूचीको प्रक्रियामा रहेको रामग्रामलाई आवश्यक पर्ने प्रमाण जुटाउन पनि यो सर्भे सुरु गरिएको उप्रेतीको भनाइ छ। १० लगाएर सर्भे गरेपछि रामग्राम क्षेत्रको उत्खननसमेत हुनेछ। प्रविधिअन्तर्गत जमिनको सतहदेखि २ मिटर तलसम्म एक्सरे गरिनेछ।
मेसिन प्रयोग गर्न नसके ‘अघर’को माध्यमबाट २०÷२० सेन्टिमिटरको माटो निकाल्दै परीक्षण गरिने बताइएको छ। अघरले मानव बस्तीको बसोबास कहिलेसम्मको थियो भन्ने पत्ता लाग्छ। यस्तै, स्थलगत सर्भे र नक्सामार्फत पुरातात्विक सामग्री संकलन गरिनेछ। सर्भेपछि रामग्राम स्तुप क्षेत्रमा प्राचीन बिहार, मानव बस्ती, अन्वेषण, बुद्धकालमा प्रयोग भएका अन्य सामग्रीको अवस्थाबारेमा पत्ता लाग्ने बेलायती युनिभर्सिटीका प्रोफेसर रविन कनिङघमले बताए।
यसअघि सन १९९७, १९९९ र गतवर्ष (सन २०१८) मा पनि सर्भे सुरु गरिएको थियो। १९९७ र १९९९ मा भएको सर्भेमा बुद्धकालीन अन्वेषणहरू फेला परेको थियो। त्यसैको आधारमा १९९९ देखि २००४ सम्म पुरातत्वविद् शुक्रसागर श्रेष्ठको नेतृत्वमा चार पटकसम्म उत्खनन गरिएको पुरातत्व विभागका वरिष्ठ पुरातत्वविद् रामबहादुर कुँवरले बताए। त्यसबेला मौर्य र गुप्तकालीन सामग्रीहरू फेला परेका थिए।
यस्तै, सन् २०१८ मा गरिएको सर्भेमा ठूलो बिहार, पोखरीलगायतका बुद्धकालीन सामग्रीहरू फेला परेपछि थप प्रमाण संकलन गर्न अहिलेको सर्भे सुरु गरिएको कुँवरको भनाइ छ। रामग्राम स्तुप क्षेत्र २४ बिघा क्षेत्रफलमा फैलिएको छ। अहिलेको सर्भेले पुरातात्विक दृष्टिकोणले स्तुपले ओगटेको वास्तविक क्षेत्रफल पनि निकाल्ने छ।
सर्भे सुरु भएपछि स्थानीयले यसको संरक्षण र विकास हुनेमा विश्वास लिएका छन्। स्थानीय शम्भु उपाध्यायले सरकारी उदासिनताका कारण पछि परेको रामग्राम स्तुपको सर्भेले यस क्षेत्रको विकास र संरक्षण हुने विश्वास व्यक्त गरे। पटक–पटक उत्खनन र संरक्षणका लागि सरकारसँग आग्रह गरे पनि वास्ता नगरेको उनले बताए। ‘ढिलै भएपनि काम सुरु भएको छ। यसले रामग्राममा रहेका थप बुद्धकालीन सामग्री संकलन हुने विश्वास छ’, उनले भने।
रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ताले स्तुपको विकासका लागि नगरपालिकाले सरकारसहित विभिन्न दातृ संस्थासँग आग्रह गर्दै आएको बताए। उनले विश्व सम्पदा सूचीमा सूचीकृत प्रक्रियामा रहेको रामग्राम स्तुपको पछिल्लो सर्भेले त्यसलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे।
बुद्धका ८ अस्तुधातुमध्ये सबै स्थानको निकालिए पनि यस क्षेत्रको निकाल्न नसकिएको बुद्ध किवंदत्तिमा उल्लेख छ। यहाँको अस्तु आठौं हो। अन्तिम अस्तु रहेको रामग्राममा विभिन्न देशबाट पर्यटकहरू आउने गरेका छन्। आवश्यक संरचना निर्माणसहित यसको संरक्षण हुन नसक्दा पर्यटकहरू केही समय बसेर जाने गरेका छन्।