कर्णालीका युवाको भारतलाई चेतावनी
सुर्खेत : नेपालको भू-भागलाई भारतले आफ्नो नक्साभित्र समावेश गरेपछि कर्णालीका युवा विरोधमा उत्रिएका छन् । कर्णाली प्रदेशको जुम्ला, मुगु र कालिकोटपछि शनिबार सुर्खेतका युवाले समेत विरोध र्याली गरे ।
जुम्ला, मुगु र कालिकोटमा अनेरास्ववियु, राष्ट्रिय युवा संगठन, नेबिसंघ, राप्रवि संघलगायतका विद्यार्थी संगठनले संयुक्त र्याली गरेका थिए । सुर्खेतमा कर्णाली युवा शक्ति समूहका युवाले नेपाली भू-भाग भारतीय नक्साबाट हटाउन माग गर्दै विरोध जनाएका हुन् ।
'दुध मागे खीर दिन्छौं, गाली मागे चीर दिन्छौं, गो ब्याक इण्डिया, लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रा हुन, भारतीय हष्तक्षेप बन्द गर ?' जस्ता नारा लगाउँदै सुर्खेतका युवाले प्रदेश राजधानीमा विरोध प्रर्दशन गरेका छन् ।
विरोध सभामा बोल्दै कर्णाली युवा शक्तिका संयोजक भीम थापाले कर्णालीका युवा बारम्बार भारतको ज्यादती र थिचोमिचो सहेर बस्न नसक्ने चेतावनी दिए । कुनै पनि सीमाका नेपालीलाई दु:ख पर्दा र नेपाली माटोमा कसैले हस्तक्षप गर्दा कर्णालीका युवा हेरेर बस्न नसक्ने उनको भनाइ छ ।
पश्चिम नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरालगायतको अतिक्रमित क्षेत्र फिर्ता गर्नसमेत कर्णालीका युवाको माग छ । भारतले नेपालको सिमाना मिच्ने कार्य वर्षौदेखि गरिरहेको भन्दै यसविरुद्ध डटेर सामना गर्न तयार रहेको कर्णाली युवा शक्ति समूहमा आबद्ध युवाले बताए।