'विप्लव इलाका' मा सेनाको शिविर
कालिकोट : विप्लव नेतृत्वको नेकपाले आफ्नो आधार इलाका दाबी गर्दै आएको नरहरीनाथ गाउँपालिकामा नेपाली सेनाले निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । जिल्लाकै अति विकट क्षेत्र विप्लव नेतृत्वको आधार इलाका भनेर दाबी गरिएको नरहरीनाथ गाउँपालिकाको कुमालगाउँमा नेपाली सेनाको रणसुर गुल्म कालिकोटको आयोजनामा एक दिने निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो।
जिल्लाकै कान्छो पलाँता भनेर चिनिने नरहरीनाथ गाउँपालिकामा यसअघि कुनै पनि निकायले विशषेज्ञ स्वास्थ्य सेवासहितको निशुल्क स्वास्थ्य शिविर संचालन गरेका थिएनन् । जिल्लाकै एक मात्र प्राथमिक स्वास्थ्य केन्द्र भएपनि सधैं डाक्टरको दरबन्दी रिक्त रहँदै आएको छ । वर्षौंदेखि ३ महिना डाक्टर बस्दा ३ वर्ष खाली हुने प्राथमिक स्वास्थ्य केन्द्र कुमालगाउँमा नरहरीनाथ गाउँपालिकावासी विशेषज्ञ स्वास्थ्य सेवाबाट बन्चित छन् ।
जिल्लाभरीको विकट र नागरिकको मागका आधारमा गाउँपालिका, जिल्ला प्रशासन कार्यालयको समन्वयमा एक दिने विशेषज्ञ स्वास्थ्य सेवासहितको निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको रणसुर गुल्म कालिकोटका गुल्मपती मेजर उत्तम कटुवालले बताए ।
उनले नेपाली सेनाका तीनजना डाक्टर सुलभ श्रेष्ठ, सुयस तिमिल्सेना र जितेन्द्र महत्वसहितको टोली नरहरीनाथ गाउँपालिकामा आएर स्थानीयको स्वास्थ्य जाँच र निशुल्क औषधि वितरण गरिएको बताए।
मेजर कटुवालका अनुसार शिविरमा ५ सय १२ जनाले सेवा लिएका छन् । गाउँमा डाक्टरले बिरामी जाँचसहित निशुल्क निशुल्क औषधि समेत वितरण गरेपछि स्थानीय निकै खुसी भए । नरहरीनाथ गाउँपालिका ३ निवासी ७७ वर्षीय वीरबहादुर बुढाले हाड जोर्नी दुख्ने, शरीर झमझम्याउने समस्या नेपाली सेनाका डाक्टरसँग राख्न पाउँदा खुसी लागेको बताए।
उनले भने, 'सेनाको कपडा देखे पनि डर लाग्थ्यो । तत्कालीन माओवादीले सुरुवात गरेको जनयुद्धका बेला राज्य र बिद्रोही दुवै पक्षबाट निकै सास्ती खेपियो । सेनाभित्र पनि डाक्टर हुँदा रहेछन् । आज आफ्नो समस्या सेनालाई भनेर चेकजाँचका साथै औषधि पनि पायौँ।'
यस्तै विप्लव नेतृत्वको नेकपाका पार्टी प्रवक्ता एवं पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा प्रकाण्डको गाउँ नरहरीनाथ गाउँपालिका ६ माल्कोट निवासी शुशिला बटालाले आँखाको उपचार गराएपछि आँखाको दुखाइमा ठूलो राहात भएको बताइन् ।
उनले आफ्ना छोरा नातीजस्ता सेनाका डाक्टरले गाउँमा आएर आँखाको उपचार गरिदिँदा भगवान फेला पारेजस्तो अनुभूति भएको बताइन् । शिविरमा नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयले नागरिक सुनुवाइ र कृषि, वन, आयुवेर्द, टेलिकम, जिल्ला आँखा उपचार केन्द्र लगायतका सरकारी निकायले सेवा दिएका थिए।
प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलको समेत उपस्थिति रहेको नागरिक सुनुवाई कार्यक्रममा स्थानीयले नेपाल प्रहरी र जिल्ला प्रशासनले दिने सेवा सुविधाको विषयमा जिज्ञासा राखेका थिए ।
जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामबाबु ओलीयाले जिल्लाका सरकारी सेवाबाट निकै टाढाको दूरीमा रहेको नरहरीनाथका स्थानीयका समस्या, गुनासा, प्रहरीको सेवालाई प्रभावकारी बनाउन नागरिकको सुझाव संकलन, विप्लव समुहका गतिविधिको निगरानी, गाउँमा लुकिरहेका अपराधको खोजी र समस्यामा परेका नागरिकलाई कानुनी उपचारका लागि प्रहरीकहाँ आउने उत्प्रेणा जोगाउन गाउँमा नागरिक सुनुवाई गरिएको बताए । उनका अनुसार प्रहरीले पछिल्लो समय जिल्लामा विप्लव समुहका गतिविधिको पनि उच्च निगरानी गरिरहेको छ ।