पत्रकार सम्मेलन गर्दै बागी उम्मेदवार
बागलुङ : बागलुङ क्षेत्र नम्बर २ को प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि नेकपाका नेता शेरमान घर्तीले पत्रकार सम्मेलन गर्दैछन्।उनले पत्रकार सम्मेलनमा राष्ट्रिय जन मोर्चाका उम्मेदवार खिम विक्रम शाहीलाई सघाउने घोषणा गर्ने जनाइएको छ।
नेता घर्तीले बागी उम्मेदवारी दिएपछि नेकपालाई टाउको दुखाइको विषय भएको छ। घर्तीको उम्मेदवारी फिर्ता गराउन मनोनयन दर्ता पछि नेकपाका केन्द्र र जिल्ला तहका नेताले निरन्तर प्रयास गरिरहेका छन्।
जिल्लाको पश्चिम बुर्तिबाङ बजारमा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीको पहलमा भएको लामो छलफल पछि शेरमानलाई सदरमुकाम ल्याइए पनि उनले उम्मेदवारी दिन मानेका छैनन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको अन्तिम समय निर्धारण गरिएको थियो । उक्त अवधिसम्ममा कुनै पनि उम्मेदवारले मनोनयन फिर्ता नगरेको मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानले जानकारी दिए ।
तर, बागी उम्मेदवार घर्तीलाई दिउसो १:२० मा मात्र हेलिकप्टरमार्फत सदरमुकाम ल्याइएको थियो । बागी उम्मेदवारी कायम रहे नेकपा राजमो बीचको बामगठबन्धन र नेपाली कांग्रेस बीचको प्रतिस्पर्धा कसिलो हुनेछ । घर्तीको प्रस्तावका नेकपाका रिमबहादुर विक र समर्थकमा दधिराम अर्याल छन् ।
सत्ता बागडोर सम्हालेको नेकपा र राष्ट्रिय जनमोर्चा बीच केन्द्रीय स्तरबाटै बाम गठबन्धन बनाएर जाने सहमति भएको थियो । बागलुङमा नेकपाले राजमो उम्मेदवारलाई सघाउने निर्णयअनुसार, राजमोका खिमबिक्रम शाहीको उम्मेदवारी दर्ता गरिएको थियो।
पश्चिमको राजनीतिमा सक्रिय नेकपाका घर्तीले पार्टीले सदैव उपेक्षा गरेकाले गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएको बताउँछन् । घर्ती २५ वर्ष राजमोमा सक्रिय भएर तत्कालिन बोबाङ गाविसको अध्यक्ष समेत भएका थिए ।
पछि पार्टी प्रति असन्तुष्टि जनाउँदै नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए । माओवादीका तर्फबाट स्थानीय तहको चुनावमा ढोरपाटन नगरपालिकाको मेयरमा समेत चुनाव लडेका थिए ।