राजमोलाई सघाउन सहमत भए नेकपा बागी उम्मेदवार घर्ती

राजमोलाई सघाउन सहमत भए नेकपा बागी उम्मेदवार घर्ती

बागलुङ : बागलुङ क्षेत्र नम्बर-२ का प्रदेशसभा सदस्य उपनिर्वाचनमा बागी उम्मेदवारी दिएका नेकपाका नेता शेरमान घर्ती राष्ट्रिय जनमोर्चा (राजमो)का उम्मेदवारलाई सघाउने भएका छन्। 

नेकपा र राजमोबीच गठबन्धन गर्ने सहमति विपरित उम्मेदवारी दिएर गाउँ पसेका घर्तीको उम्मेदवारी फिर्ता गराउन नेकपाले ठूलो कसरत गर्नु परेको छ। 

उम्मेदवारी फिर्ताको अन्तिम समयमा तिव्र दबावपछि मनोनयन फिर्ता लिन तयार भएका शेरमानलाई ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीको पहलमा हेलिकप्टरमार्फत सदरमुकाम ल्याइए पनि उम्मेदवारी फिर्ता गर्न समय सकिएका कारण प्रयास विफल भएको थियो। यद्यपि नेकपाले अन्तिम विकल्पको रुपमा घर्तीलाई पत्रकार सम्मेलन गरेर विज्ञप्तीमार्फत बागी उम्मेदवारी फिर्ता र राजमो उम्मेदवारलाई सघाउने उद्घोष गराउन सफल भएको जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले जानकारी दिए।

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट भने निर्धारित समयमा कुनै पनि उम्मेदवारले आधिकारीक रुपमा मनोनयन फिर्ता नगरेको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानले जानकारी दिए। 

आफूलाई उपेक्षा गरिएको गुनासो र विभिन्न एजेण्डासहित स्वतन्त्र रुपमा दर्ता गराएको उम्मेदवारी केन्द्र र जिल्ला तहका नेताहरुले पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेपछि फिर्ता लिएको घर्तिले बताए। 

‘स्वभाविक रुपमा मेरा पार्टीप्रति केही गुनासो र पश्चिम क्षेत्रलाई ‘फरक जिल्ला’को रुपमा स्थापित गर्ने लगायतका माग थियो,’ शेरमानले भने, ‘केन्द्रका नेताले मेरा मागलाई सक्दो पुरा गर्ने वचन दिनुभएको छ, त्यसैले उम्मेदवारी फिर्ता गरेको हुँ।’ 

२५ वर्ष राजमोको राजनीतिमा बिताएर तत्कालीन माओवादी प्रवेश गरेका घर्तीले अब राजमो उम्मेदवारलाई चुनाव जिताउन लाग्ने बताए। पश्चिमको राजनीतिमा सक्रिय घर्ती २५ वर्ष राजमोमा सक्रिय भएर तत्कालीन बोबाङ गाविसको अध्यक्षसमेत भएका थिए। 

पार्टीप्रति असन्तुष्टि जनाउदै उनी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए। उनी माओवादीका तर्फबाट स्थानीय तहको चुनावमा ढोरपाटन नगरपालिकाको मेयरमासमेत चुनाव लडेका हुन्। ‘वाम गठबन्धन तोड्नका लागि भित्र र बाहिरबाट अनेक षड्यन्त्र भइरहेका छन्, त्यसकै अशंको रुपमा यो घटना भएको हो’, नेकपा जिल्ला अध्यक्ष सापकोटाले भने,‘शेरमानजी लामो समयदेखि वाम आन्दोलन र अभियानमा क्रियाशिल हुनुहुन्छ, उहाँको पार्टीले ढिलोचाडो त्याग र योगदानको कदर गर्छ।’ 

बागी उम्मेदवारी फिर्ता लिएसँगै अब नेकपा राजमो बीचको वाम गठबन्धन र नेपाली कांग्रेसबीच मुख्य प्रतिस्पर्धा हुनेछ। यस क्षेत्रमा २०७४ को प्रदेश सभा निर्वाचनमा पनि साविकको नेकपा एमाले, राजमो र माओवादी केन्द्र वाम गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएका थिए। जसमा राजमोका उम्मेदवार टेकबहादुर घर्ती ११ हजार ८ सय ८४ मत प्राप्त गरेर विजय बनेका थिए। 

घर्तीका प्रत्यासी नेपाली कांग्रेसका जीत शेरचन जो अहिले पनि उम्मेदवार छन्। उनले ८ हजार ६ सय ६४ मत प्राप्त गरेका थिए। उक्त चुनावमा ३ हजार २ सय ६० मतको अन्तर थियो। २०७० सालको निर्वाचनमा भने जिल्लाका तिनै क्षेत्रमा कांग्रेसले जित हात पारेको थियो। 

उपनिर्वाचनमा अब आठ राजनीतिक दलसहित एक स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन्। कांग्रेसबाट शेरचन, राजमोबाट खिमविक्रम शाही, समाजवादी पार्टीबाट अशोकुमार बिक, राप्रपा संयुक्तबाट निमबहादुर भण्डारी, राप्रपाबाट गणेशबहादुर कुँवर, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई, मंगोल नेशनल अर्गनाइजेशनबाट मित्रबहादुर मगर र स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारी छन्। 
 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.